२१ जेठ २०८३, बिहीबार

एयरबससँगको प्रतिस्पर्धामा बोइङ अगाडि, टर्किएको पेगाससले गर्‍यो २ सय विमानको अर्डर

पुस ५, २०८१
काठमाडौं
एयरबससँगको प्रतिस्पर्धामा बोइङ अगाडि, टर्किएको पेगाससले गर्‍यो २ सय विमानको अर्डर

संसारकै सबैभन्दा ठूलो विमान निर्माता कम्पनी बोइङले टर्किएको लो-कस्टमानिने एयरलाइन्स कम्पनी पेगासससँग ऐतिहासिक सम्झौता गरेको छ । सम्झौता अन्तर्गत पेगाससले तत्काल १ सय र पछि थप १ सय विमान खरिद गर्नेछ ।

पेगासस एयरलाइन्सले बोइङसँग १ सय वटा ७३७ म्याक्स-१० विमान अर्डर गरेको छ । सम्झौतामा पछि थप १०० विमान खरिद गर्न सकिने विकल्प खुला राखेको छ ।

यो सम्झौता लगभग १८ अर्ब अमेरिकी डलर मूल्य बराबरको हो । बोइङको ३४ वर्षको इतिहासमा यो सबैभन्दा ठूलो डिल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यससँगै बोइङले आफ्नो प्रतिस्पर्धी एयरबसलाई पछाडि पारेको छ । 

यो सम्झौता बोइङका लागि ठूलो राहतको विषय बनेको छ । पछिल्लो समय बोइङ कम्पनी सुरक्षा समस्या, मजदुर आन्दोलन र व्यवस्थापन विवादले धराशायी हुँदै गएको अनुमान गरिएको थियो ।

गत जनवरी ५ मा अलास्का एयरलाइन्सको एक जहाज उडेको केही मिनेटमै ढोकाको प्लग खसेको थियो । यो घटनाले बोइङको ७३७ म्याक्स ९ को केही मोडेललाई एक महिना ग्राउन्ड गर्न बाध्य बनायो ।

त्यस्तै सेप्टेम्बरदेखि नोभेम्बरसम्म ५३ दिन लामो मजदुर हड्तालले बोइङको ७३७ म्याक्स उत्पादनमा ठूलो असर पारेको थियो ।​

पेगासससँग हालको १२० विमान रहेकोमा जम्मा ९ मात्र बोइङ कम्पनीका विमान छन् । बाँकी सबै युरोपेली प्रतिस्पर्धी एयरबसका ए३२० र ए३२१ मोडेल हुन् । पेगाससले बोइङसँग गरेको सम्झौतापछि एयरबसको विश्वसनीयता कम भएको चर्चा हुन थालेको छ ।

पहिलो ७३७ म्याक्स-१० विमान २०२८ मा डेलिभर गरिने सम्झौतामा उल्लेख छ । पेगाससकी सीईओ गुलिज ओजतर्कको भनाइ छ, 'हामी आगामी वर्षमा बजारको अवस्था र फ्लीटको आवश्यकतालाई आधार मान्दै बाँकी १ सय विमान अर्डरलाई पक्का गर्ने सम्भावना देख्दैछौं ।'​

टर्किए सरकारले वार्षिक १० करोड पर्यटक भित्र्याउने र १०० अर्ब डलरभन्दा बढी राजस्व उत्पन्न गर्ने महत्वाकांक्षी लक्ष्य राखेको छ । यसैबीच पेगाससको विमान खरिद निर्णयले देशको उड्डयन र पर्यटन क्षेत्रलाई थप बल दिने अपेक्षा गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्