
हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका केन्द्रमा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । विद्युत सेवा अवरुद्ध भएसँगै पालिकाको केन्द्रसहित आसपासका क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध हुँदा यहाँका सेवाग्राहीले सास्ती खेप्नुपरेको हो ।
सर्केगाड–५ स्थित कुति गाउँको भदालीमा रहेको टेलिफोन टावरमा खराबी आउँदा टेलिफोन सेवा अवरुद्ध भएको सर्केगाडमा होटेल व्यवसाय गर्दै आएका गेटबहादुर थापाले बताए ।
टावरले काम नगरेपछि जिल्लाभित्र र बाहिर रहेका आफन्तसँग सम्पर्क विच्छेद हुनुका साथै सरकारी काम पनि प्रभावित बनेका स्थानीय छवि थापाले बताए । टेलिफोन सेवा अवरुद्ध हुँदा सर्केगाड–१, ४, ५, ६, ७ र ८ नम्बर वडाका सेवाग्राही सञ्चार सम्पर्कबाट बञ्चित भएका उनले जानकारी दिए ।
अवरुद्ध भएको टेलिफोन टावर मर्मत गरी सञ्चालनमा ल्याउन गाउँपालिका, दूरसञ्चार कार्यालयलगायत सम्बन्धित कार्यालयले चासो नदिँदा सास्ती भएको स्थानीयको गुनासो छ ।