
नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १८५ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८४ रन बनायो ।
पहिलो विकेटको लागि ओपनर ब्याट्सम्यान शेइफ अलि जेइब र विनोद भण्डारीबीच भएको ११७ रनको साझेदारीका कारण सुदूरपश्चिमले विशाल रनको स्कोर खडा गर्यो ।
सुदूरपश्चिम रोयल्सले पहिलो ओभरमा नै बिनाकुनै विकेटको क्षतिमा १७ रन बनाएको थियो । ओपनर ब्याट्सम्यान विनोद भण्डारीले पहिलो ओभरमै जनकपुरका बलर हर्ष थाकेरलाई दुई छक्का प्रहार गरेका थिए ।
पहिलो ओभरमा १७ रन खाएका हर्ष थाकेरले तेस्रो ओभरको खेलमा आफ्नो दोस्रो ओभर भने मेडन दिएर कमब्याक गर्न कोशिश गरेका थिए ।
इंगलिश ब्याट्सम्यान जेइबले थाकेरको दोस्रो ओभरमा भने कुनै पनि रन बनाउन सकेनन् ।
त्यसैगरी ललित राजवंशीले पनि पाँचौं ओभर मेडन गरेर जनकपुरलाई कम ब्याक गराउन सफल भए । राजवंशीको उक्त ओभरमा विनोद भण्डारीले एक रन पनि बनाउन सकेनन् ।
६ ओभरको पावरप्ले सकिँदा रोयल्सले बिनाकुनै विकेटको क्षतिमा ४८ रन बनाएको थियो । जसमा विनोद भण्डारीले २५ रन र सेइफ अलि जेइबले १८ रन बनाएका थिए ।
१० ओभरको खेल सकिँदा बिनाकुनै विकेटको क्षतिमा सुदूरपश्चिमले ९७ रन बनाएको थियो ।
१२ औं ओभरमा जेइबले शानदार अर्धशतक बनाएर आउट भए ।
जनकपुर बोल्ट्सका किशोर महतोको बलमा बेलायती खेलाडी जेइब ६९ रन बनाएर आउट भए ।
८ चौका र २ छक्काको मद्दतले उनले ४३ बलमा ६९ रन बनाए । १२ औं ओभरमै महतोको दुई वटा बलमा जेइबको क्याच छुटेको भए पनि अन्ततः तेस्रो पटकमा ललित राजवंशीले क्याच लिन सफल भएका थिए ।
त्यसको लगत्तै ११७ रनकै स्कोरमा सुदूरपश्चिमका अर्का ओपनर विनोद भण्डारी पनि ४२ रन बनाएर आउट भएका थिए ।
१३ औं ओभरमा ललित राजवंशीले उनलाई क्लिन बोल्ड गरेका थिए । भण्डारीले ३१ बलमा १ चौका र ३ छक्काको मद्दतले ४२ रन बनाएका थिए ।
त्यस पछि १५ ओभरमा आक्रामक देखिएका हरमीत सिंह पनि मोहम्मद मोहशिनका सिकार भए । मोहशिनको बलमा छक्का प्रहार गर्न खोजेका सिंहको बल हेमन्त धामीको हातमा क्याच समातिएको थियो । सिंहले एउटा छक्काको मद्दतले ८ बलमा १४ रन बनाएका थिए ।
त्यस पछि १६ ओभरमा जिम्मी निशमले सुदूरपश्चिमका ब्राण्डन म्याकमुल्लेनलाई पनि क्लिन बोल्ड गरेर पेभेलियन फर्काएका थिए । आक्रामक बन्न खोजेका म्याकमुल्लेनले १ छक्काको मद्दतले १२ बलमा १४ रन बनाएका थिए ।
१९ औं ओभरमा सुदुरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी स्पिनर मोहम्मद मोहसिनका सिकार भएका थिए । छक्का हान्ने प्रयासमा ऐरीले हेमन्त धामीलाई क्याच थमाएका थिए । ७ बलमा ९ रन बनाएर उनी आउट भए ।
सोही ओभरमा मोहसिनले सुदूरपश्चिमका अर्का ब्याट्सम्यान आरिफ शेखलाई पनि पेभेलियन फर्काउन सफल भएका थिए । ३ बलमा १ रन बनाएका आरिफले आफ्नो बल ललित राजवंशीको हातमा थमाएका थिए ।
२० औं ओभरमा न्युजिल्यान्डका स्कट कुगेलिन किशोर महतोको बलमा आउट भएका थिए । १० बलमा १३ रन बनाएका कुगेलिनलाई महतोले क्लिन बोल्ड गरेका थिए ।
२० औं ओभरमै महतोले नरेश बुढाऐरलाई आउट गरेका थिए ।
२ बलमा एउटा छक्काको मद्दतले आठ रन बनाएका उनलाई तेस्रो बलमा महतोले आउट गरेका थिए । ३ बलमा ८ रन बनाएका उनलाई शेर मल्लले क्याच गरेर पेभेलियन फर्काएका थिए ।
२० औं ओभरको अन्तिम बलमा इशान पाण्डेले २ रन पुरा गरेर तेस्रो रन बनाउने क्रममा रन आउट भएका थिए ।
जनकपुरका लागि मोहम्मद मोहशिन र किशोर महतोले सर्वाधिक ३/३ विकेट लिए भने ललित राजवंशी र जिमी निशमले क्रमशः १/१ विकेट लिए ।