११ साउन २०८३, सोमबार
नेपाल प्रिमियर लिग

जनकपुरले जित्यो एनपीएलको उपाधि, सुदूरपश्चिम स्तब्ध

पुस ६, २०८१
काठमाडौं
जनकपुरले जित्यो एनपीएलको उपाधि, सुदूरपश्चिम स्तब्ध

नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जनकपुर बोल्ट्सले जितेको छ  ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि हात पारेको हो ।  

टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ९ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको थियो । १ सय ८५ रनको विजयी लक्ष्य पच्छ्याएको जनकपुरले १९ दशमलव २ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । 

जनकपुरको जीतमा लाहिरु मिलान्थाले शानदार अर्धशतकको योगदान गरे । ओपनर ब्याट्सम्यान मिलान्थाले अर्धशतकसहित ८७ रनको आक्रामक पारी खेले ।​ उनले ४९ बलमा ८७ रन बनाए । 

९ चौका र ४ छक्काको मद्दतमा ८७ रन बनाएका मालान्था कुगेलिनको बलमा आउट भए ।​​ कुगेलिनको बलमा उनी आफैले क्याच लिएर मिलान्थालाई पेभेलियन फर्काए ।​​​

मिलान्थाले ६५ रनको  स्कोरमा जीवनदान पाएका थिए । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको बलमा मिलान्थाको क्याच ऐरी आफैले छोडेका थिए ।​​​

मिलान्था र कप्तान आशिफ शेखले जनकपुरका लागि इनिङको आक्रामक शुरूआत दिए । उनीहरूबीच पहिलो विकेटका लागि ७३ रनको साझेदारी भएको थियो । जीतका लागि त्यही साझेदारी बलियो जग बन्यो ।​

सातौं ओभरको अन्तिम बलमा आशिफ शेख १८ बलमा  ३३ रन बनाएर आउट भए । उनलाई सुदूरपश्चिमका शेइफ अलि जेइबले आउट गरे ।

छक्का हान्ने क्रममा हावामा उडेको बललाई ब्रान्डन म्याकमुल्लेनले क्याच गरेका थिए ।​

आशिफको ठाउँमा आएका मोहम्मद महसिन लगत्तै आउट भए । इशान पाण्डेले उनलाई क्लिन बोल्ड गरेका थिए । मोहसिनले एउटा छक्का प्रहार गरेर ८ बलमा ९ रन बनाएका थिए ।

त्यस पछि आएका जनकपुरका अर्का ब्याटर हर्ष थाकेरले मिलान्थासँगको साझेदारीलाई अगाडी बढाएका थिए । थाकेर २३ बलमा २९ रन बनाएर अविजित रहे । जनकपुरलाई जीत सम्म पुर्याउन थाकेरको योगदान पनि महत्वपूर्ण थियो । थाकेरले २ वटा छक्का प्रहार गरेका थिए । 

यस अघिको खेलमा आक्रामक पालि खेलेका जिमी निशम भने फाइनल खेलमा चलन सकेनन् ।

७ बलमा ४ रन बनाएका निशमलाई सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले क्लिन बोल्ड गरेका थिए ।

जीतका लागि अन्तिम रन भने मयान यादवको  ब्याटबाट आएको थियो । उनी ३ बलमा २ रन बनाएर नट आउट रहे ।

सुदूरपश्चिमका लागि कुगेलिन, ऐरी, इशान पाण्डे र म्याकमुलनले क्रमशः १/१ विकेट लिए । 

त्यसअघि टस जितेर पहिलो ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्सले ९ विकेट गुमाएर १८४ रन बनाएको थियो ।

पहिलो विकेटको लागि ओपनर ब्याट्सम्यान शेइफ अलि जेइब र विनोद भण्डारीबीच भएको ११७ रनको साझेदारीका कारण सुदूरपश्चिमले विशाल रनको स्कोर खडा गर्‍यो ।

सुदूरपश्चिम रोयल्सले पहिलो ओभरमा नै बिनाकुनै विकेटको क्षतिमा १७ रन बनाएको थियो । ओपनर ब्याट्सम्यान विनोद भण्डारीले पहिलो ओभरमै जनकपुरका बलर हर्ष थाकेरलाई दुई छक्का प्रहार गरेका थिए ।

पहिलो ओभरमा १७ रन खाएका हर्ष थाकेरले तेस्रो ओभरको खेलमा आफ्नो दोस्रो ओभर भने मेडन दिएर कमब्याक गर्न कोशिश गरेका थिए ।

इंगलिश ब्याट्सम्यान जेइबले थाकेरको दोस्रो ओभरमा भने कुनै पनि रन बनाउन सकेनन् । त्यसैगरी ललित राजवंशीले पनि पाँचौं ओभर मेडन गरेर जनकपुरलाई कम ब्याक गराउन सफल भए । राजवंशीको उक्त ओभरमा विनोद भण्डारीले एक रन पनि बनाउन सकेनन् ।

६ ओभरको पावरप्ले सकिँदा रोयल्सले बिनाकुनै विकेटको क्षतिमा ४८ रन बनाएको थियो । जसमा विनोद भण्डारीले २५ रन र सेइफ अलि जेइबले १८ रन बनाएका थिए ।

१० ओभरको खेल सकिँदा बिनाकुनै विकेटको क्षतिमा सुदूरपश्चिमले ९७ रन बनाएको थियो । १२ औं ओभरमा जेइबले शानदार अर्धशतक बनाएर आउट भए । जनकपुर बोल्ट्सका किशोर महतोको बलमा बेलायती खेलाडी जेइब ६९ रन बनाएर आउट भए ।

८ चौका र २ छक्काको मद्दतले उनले ४३ बलमा ६९ रन बनाए । १२ औं ओभरमै महतोको दुई वटा बलमा जेइबको क्याच छुटेको भए पनि अन्ततः तेस्रो पटकमा ललित राजवंशीले क्याच लिन सफल भएका थिए ।

त्यसको लगत्तै ११७ रनकै स्कोरमा सुदूरपश्चिमका अर्का ओपनर विनोद भण्डारी पनि ४२ रन बनाएर आउट भएका थिए । १३ औं ओभरमा ललित राजवंशीले उनलाई क्लिन बोल्ड गरेका थिए । भण्डारीले ३१ बलमा १ चौका र ३ छक्काको मद्दतले ४२ रन बनाएका थिए ।

त्यसपछि १५ ओभरमा आक्रामक देखिएका हरमीत सिंह पनि मोहम्मद मोहशिनका सिकार भए । मोहशिनको बलमा छक्का प्रहार गर्न खोजेका सिंहको बल हेमन्त धामीको हातमा क्याच समातिएको थियो । सिंहले एउटा छक्काको मद्दतले ८ बलमा १४ रन बनाएका थिए । त्यस पछि १६ ओभरमा जिम्मी निशमले सुदूरपश्चिमका ब्राण्डन म्याकमुल्लेनलाई पनि क्लिन बोल्ड गरेर पेभेलियन फर्काएका थिए ।

आक्रामक बन्न खोजेका म्याकमुल्लेनले १ छक्काको मद्दतले १२ बलमा १४ रन बनाएका थिए । १९ औं ओभरमा सुदुरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी स्पिनर मोहम्मद मोहसिनका सिकार भएका थिए । छक्का हान्ने प्रयासमा ऐरीले हेमन्त धामीलाई क्याच थमाएका थिए ।

७ बलमा ९ रन बनाएर उनी आउट भए । सोही ओभरमा मोहसिनले सुदूरपश्चिमका अर्का ब्याट्सम्यान आरिफ शेखलाई पनि पेभेलियन फर्काउन सफल भएका थिए । ३ बलमा १ रन बनाएका आरिफले आफ्नो बल ललित राजवंशीको हातमा थमाएका थिए ।

२० औं ओभरमा न्युजिल्यान्डका स्कट कुगेलिन किशोर महतोको बलमा आउट भएका थिए । १० बलमा १३ रन बनाएका कुगेलिनलाई महतोले क्लिन बोल्ड गरेका थिए । २० औं ओभरमै महतोले नरेश बुढाऐरलाई आउट गरेका थिए । २ बलमा एउटा छक्काको मद्दतले आठ रन बनाएका उनलाई तेस्रो बलमा महतोले आउट गरेका थिए ।

३ बलमा ८ रन बनाएका उनलाई शेर मल्लले क्याच गरेर पेभेलियन फर्काएका थिए । २० औं ओभरको अन्तिम बलमा इशान पाण्डेले २ रन पुरा गरेर तेस्रो रन बनाउने क्रममा रन आउट भएका थिए । जनकपुरका लागि मोहम्मद मोहशिन र किशोर महतोले सर्वाधिक ३/३ विकेट लिए भने ललित राजवंशी र जिमी निशमले क्रमशः १/१ विकेट लिए ।

salt training

कमेन्ट गर्नुहोस्