
प्रधानसेनापति अशोक राज सिग्देलले पूर्वी पृतना हेडक्वार्टर तथा अन्तर्गतका युनिटहरूको निरीक्षण भ्रमण गरेका छन् । उनले शुक्रबार र शनिबार निरीक्षण भ्रमण गरेका हुन् ।
भ्रमणका क्रममा उनले धनकुटास्थित भीमदल गण, झापास्थित अरिदमन गण, पाँचथरस्थित रणशेर गण र ओखलढुङ्गास्थित दुर्गाबक्स गणको निरीक्षण गरे ।
सो क्रममा प्रधानसेनापति सिग्देलले उक्त पृतना हेडक्वार्टर तथा अन्तर्गतका युनिटहरूको जिम्मेवारी क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिई आवश्यक निर्देशन दिनुको साथै सकलदर्जालाई सम्बोधन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

निरीक्षण भ्रमणका दौरान प्रधानसेनापति सिग्देलले श्री नं. १८ बाहिनी अड्डा तथा अन्तर्गतका फौजहरू सम्मिलित भई उदयपुरस्थित त्रियुगा इलाकामा सञ्चालन भइरहेको सामूहिक तालिमको निरीक्षण गरे ।
प्रधानसेनापति सिग्देलले सामूहिक तालिमको विविध पक्षका बारेमा जानकारी लिनुका साथै सकलदर्जालाई सम्बोधन समेत गरे । हाल नेपाली सेनाका युनिटहरूको आ-आफ्नो जिम्मेवारी इलाकाहरूमा सामूहिक तालिम सञ्चालन भइरहेको छ ।
