
सरकारले साना तथा मझौला कम्पनीलाई पुँजी बजारमा ल्याउने बाटो खुलाइदिएको छ ।
शुक्रबारको मन्त्रिपरिषद् बैठकले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१ बनाउन नेपाल धितोपत्र बोर्डलाई स्वीकृति दिने निर्णय गरेको हो ।
कम चुक्ता पुँजी भएका साना तथा मझौला कम्पनीहरूले पनि धितोपत्र निष्कासन गर्न पाउनेगरी धितोपत्र बोर्डले नियमावलीको मस्यौदा तयार गरेको थियो ।
बोर्डले २०८० चैत १६ गते सार्वजनिक गरेको मस्यौदा २०८१ जेठ ६ गते अर्थ मन्त्रालयमा पठाएको थियो भने अर्थ मन्त्रालयले मस्यौदालाई मन्त्रिपरिषद्मा पठाएको थियो । जुन शुक्रबार मन्त्रिपरिषद्ले स्वीकृत दिइसकेको छ ।
मस्यौदा स्वीकृति भएसँगै पुँजी बजारमा आउन नसकेका साना तथा मझौला संस्थाहरूका लागि नयाँ बाटो खुलेको छ । यसले साना तथा कम चुक्ता पुँजी भएकाहरूले पनि पुँजी बढाउन शेयर निष्कासन गर्न पाउनेछन् ।
अर्थात् स-साना कम्पनीले पनि आईपीओमार्फत सर्वसाधारणसँग रहेको पुँजी परिचालित गर्न पाउनेछन् ।