
रसुवाघाट–पाँचधारे सडकको रसुवाघाटदेखि सिम्पानीसम्मको १५ किलोमिटर सडकमा कालोपत्रको काम सुरु गरिएको छ ।
कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको रु ४६ करोड ७६ लाखको लागतमा सडक कालोपत्र थालिएको हो ।
खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चेस्थित रसुवाघाटबाट सिम्पानी–रोक्सिङभञ्ज्याङ हुँदै भोजपुरको पाँचधारे जोड्ने सडकमा सुरु गरिएको कालोपत्रको काम कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईले शिलान्यास गरे । मन्त्री राईले सम्झौताको समयभित्र रसुवाघाट–पाँचधार सडकको १५ किलोमिटर सडक कालोपत्र गरिसक्न निर्माण कम्पनीलाई निर्देशन दिए । ।
लामो समयदेखि कच्ची अवस्थामा सञ्चालन हुँदै आएको उक्त सडकको रसुवाबाट सिम्पानीसम्मको १५ किलोमिटर सडक कालोपत्र हुनेछ । कालोपत्र थालिएको सडकको दुवैतर्फ एक मिटर सोल्जर तथा एक मिटर दश सेन्टीमिटरको नाली रहने पूर्वाधार विकास कार्यालय उदयपुरले जनाएको छ । याक्थुम्हाङ÷रेग्मी÷चुरिया जेभी निर्माण कम्पनीले उक्त सडक कालोपत्रको जिम्मा लिएको हो ।