
तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–५ मा मोराहाङस्थित गौखुरी माविमा कार्यरत एक विद्यालय नर्स र एक विद्यार्थीको खोलामा डुबेर मृत्यु भएको छ ।
विद्यालयमा कार्यरत नर्स विराटनगरकी रविना राजवंशी र कक्षा ७ मा अध्ययनरत १२ वर्षीया छात्रा सुस्मिता भट्टराईको खोरुङा खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमकी प्रहरी नायब उपरीक्षक चिनीमाया तामाङले जानकारी दिइन् । खोलाको बीचमा रहेको ढुंगामा चढेर फोटो/भिडियो खिच्ने क्रममा चिप्लिएर लडेपछि दहमा डुबेर उनीहरूको मृत्यु भएको डीएसपी तामाङले बताइन् ।
रविना गत जेठदेखि विद्यालयमा जागिर खान थालेकी थिइन् । रविना सुस्मिताकै घरमा बस्थिन् । सुस्तिताका बुबा कमल र आमा लक्ष्मी विद्यालय छेउमै होटेल गर्छन् । सुस्मिता उनीहरूकी एक्ली छोरी हुन् ।
गौखुरी माविका प्रधानाध्यापक विष्णु खापुङका अनुसार होटेलमा बैंकका कर्मचारी पनि बस्छन् । गत शनिबार बिदा भएकोले नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल हेर्न उनीहरू तेह्रथुम हाइड्रो पावरको अफिसमा गएका थिए । एनपीएल हेर्न गएका बैंकका कर्मचारीसँगै रविना र सुस्मिता पनि हाइड्रो पावरको अफिस पुगेका थिए ।
‘शनिबार छुट्टी भएकाले होटेलमा बस्ने कर्मचारीहरूले तेह्रथुम हाइड्रो पावरको अफिसमा एनपीएल फाइनल हेर्ने योजना बनाएछन्,’ प्रअ खापुङले भने, ‘मिस रविनासँगै सुस्मिता र अर्की एक जना विद्यार्थी पनि सँगै गएछन् । अरू साथीहरू आइपीएल हेर्न थालेपछि रविनासहित विद्यार्थी भिडियो/फोटा खिच्न भनेर दहतिर गएछन् । त्यही दुखद् दुर्घटना भयो ।’
स्थानीयका अनुसार खोलाबीचमा एउटा ठुलो ढुंगा छ र वरिपरि पानी जमेर दह बनेको छ । दहको दुईतिर पानी कम छ । फोटो/भिडियो बनाउन मानिसहरू त्यहीबाट चढ्ने गरेका छन् । त्यो दहलाई स्थानीयले टुनिदह भन्छन् ।
रविना र सुस्मिता पनि फोटो/भिडियो खिच्न त्यही ढुङ्गामा चढेका थिए । अर्की छात्रालाई भने खोलापारिबाट फोटो/भिडियो खिच्न लगाएका थिए ।
भिडियो बनाउने क्रममा दुवै जना लडेपछि फोटो/भिडियो खिच्ने छात्रा कराएकी थिइन् । स्थानीयका अनुसार सँगै गएका कर्मचारी पुग्दा सुस्मिताको शव देखिएको थिएन । रविनाको भने पानीमा तैरिरहेको थियो ।
शव निकाल्न दहमा पसेका बैंकका एक कर्मचारीसमेत डुब्न थालेपछि स्थानीयले बचाएका थिए । दहमा पसेपछि ती कर्मचारी पौडिन सकेका थिइनन् ।
दहमा पौडिन नसकेका उनलाई स्थानीयले उद्धार गरेको मेन्छ्यायेम गाउँपालिकाका सूचना अधिकारी ईश्वर भट्टराईले बताए । उनी पनि घटनास्थल पुगेका थिए ।
विद्यार्थीको हिजो (आइतबार) अन्त्येष्टि गरिएको छ । नर्स रविनाको शव भने परिवारलाई जिम्मा लगाइएको प्रअ खापुङले बताए ।