२५ असार २०८३, बिहीबार
सहकारी ठगी प्रकरण

‘सहकारी अपचलनकै पैसाबाट किनेका थिए रविले शेयर, अपराधबाट बच्न श्वेट शेयरको झुटो बयान’

पुस ८, २०८१
काठमाडौं
‘सहकारी अपचलनकै पैसाबाट किनेका थिए रविले शेयर, अपराधबाट बच्न श्वेट शेयरको झुटो बयान’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं प्रतिनिधि सभाका निलम्बित सदस्य रवि लामिछानेले सहकारी संस्थाको रकम अपचलन गरेरै गोरखा मिडिया नेटवर्कको शेयर खरिद गरेको तथ्य प्रहरी अनुसन्धानले फेला पारेको छ ।

लामिछानेले दाबी गर्दै आएजस्तो श्वेट शेयर नभई सहकारीको पैसाले शेयर किनेको पुष्टि भएको प्रहरी प्रतिवेदनमा उल्लेख छ । 

पूर्वगृहमन्त्री समेत रहेका लामिछानेविरुद्ध आइतबार जिल्ला अदालत कास्कीमा दर्ता गरिएको अभियोग पत्रमा लामिछानेले सहकारीको पैसा विभिन्न खातामा राखेर सोही रकमबाट शेयर लिएको उल्लेख छ । 

‘यी प्रतिवादीहरूले सहकारीको रकम विभिन्न खातामा जम्मा गरी/गराई सोही रकमबाट कानूनले नै परिकल्पना नगरेको श्वेट शेयर लिएको देखिन्छ । उक्त तथ्य जीबी ग्रुप अफ कम्पनिज प्राइभेट लिमिटेडबाट बरामद भएको कम्पनी ओभरभ्युबाट पनि पुष्टि हुन्छ,’ अभियोजन पत्रमा भनिएको छ । 

राजनीतिमा आउनुपूर्व लामिछाने गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक थिए ।

मिडिया छाडेपछि पनि उनैको हस्ताक्षरमा चेक काटिएको तथ्य प्रहरीले फेला पारेको छ । गोरखा मिडियाले सञ्चालन गरेको ग्यालेक्सी फोरके टीभी अहिले बन्द छ । 

गोरखा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका लामिछानेले आफूले चेक काटे पनि सो रकम कहाँबाट आएको भन्ने थाहा नभएको दाबी गर्दै आएका थिए ।

आफ्नै हस्ताक्षरमा चल्ने खातामा कहाँबाट पैसा आयो, थाहा छैन भन्नु लामिछानेको बदनियत रहेको अभियोग पत्रमा उल्लेख छ । 

‘आफू समेत खाता सञ्चालक रहेको गोरखा मिडिया नेटवर्कको खातामा के कसरी र कहाँबाट रकम आयो, जानकारी छैन भन्ने विषयले प्रतिवादीको बदनियत देखिन्छ,’ अभियोग पत्रमा उल्लेख गरिएको छ । 

लामिछानेले अपराधबाट बच्नका लागि श्वेट शेयरको कुरा गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

‘निजले बयान गर्दा श्वेट शेयरमार्फत ७५ लाख गोरखा मिडिया नेटवर्कमा जम्मा गरेको भन्ने उल्लेख गरेकोमा त्यस्तो शेयरको कानूनी व्यवस्था नभएको, तलबबापत शेयर दिने सम्बन्धमा कम्पनीको प्रबन्धपत्र नियमावलीमा समेत व्यवस्था नभएबाट यसरी प्राप्त रकमबाट कम्पनीको शेयर धारण गरेको भनी अपराधबाट बच्नका लागि झुटा विवरणको बयान दिएको देखिन्छ,’ अभियोग पत्रमा भनिएको छ । 

गोरखा मिडियामा अपचलन भई आएको रकमबाट सहकारी संस्थामा भएको क्षति र बचत अपचलनको आपराधिक दायित्व प्रतिवादी लामिछानेले लिनुपर्ने अभियोग पत्रमा उल्लेख छ । 

सहकारी ठगीको अनुसन्धानका लागि लामिछाने कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् ।

उनीविरुद्ध प्रहरीले पुस ७ गते जिल्ला अदालत कास्कीमा मुद्दा अभियोजन गरेको छ । सहकारी ठगी र सम्पत्ति शुद्धीकरण समेत गरी लामिछानेविरुद्ध ३१ करोड २६ लाख माग दाबी गरिएको छ । 

उनको नाममा काभ्रेमा रहेको पैत्रिक सम्पत्ति र पत्नी निकिता पौडेलको नाममा काठमाडौंको बूढानीलकण्ठमा रहेको घर समेत जफतको माग दाबी गरिएको छ । 

कास्कीको पोखरामा रहेको सूर्यदर्शन सहकारी संस्थाको बचत अपचलन सम्बन्धमा प्रहरीले एउटा मुद्दा अभियोजन गरेको छ ।

लामिछानेको नाममा २ करोड आएको रुपन्देहीको सुप्रिम सहकारीको सम्बन्धमा प्रहरीले मुद्दा दायरको अन्तिम तयारी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्