
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. बुद्धिमान श्रेष्ठलाई निजी निवासमै पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् ।
आइतबार कार्यकारी निर्देशकका नियुक्त भएका श्रेष्ठलाई सोमबार देउवाले काठमाडौं बुढानीलकण्ठस्थित निजी निवासमा शपथ गराएका हुन् ।
पार्टीका औपचारिक कार्यक्रम केन्द्रीय कार्यालयमा हुने गरे पनि देउवाले निजी निवासमै श्रेष्ठलाई शपथ गराएका हुन् ।
उपसभापति पूर्णबहादुर खड्का प्रमुख रहेको प्रतिष्ठानले देशभर पार्टी प्रशिक्षण र अनुसन्धानसहितका काम गर्छ ।
यसअघिका कार्यकारी निर्देशक डा. सुरेश आचार्य सूचना आयोगको प्रमुख आयुक्त बनेपछि यो पद रिक्त थियो ।