
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा मीनेन्द्र रिजालले राष्ट्रपति र उपराष्ट्रपति भइसकेका व्यक्ति राजनीतिमा आउनु अनिष्टकारी कदम रहेको टिप्पणी गरेका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन सक्रिय राजनीतिमा आउन खोजिरहेको विषय आफूले सुनेको भन्दै उनले यो सर्वथा अनिष्टकारी हुने टिप्पणी गरे ।
नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा डा रिजालले राष्ट्रपति, उपराष्ट्रपति पद साझा भएकाले त्यो पद ग्रहण गरिसकेका व्यक्ति कुनै अमुक पार्टीमा फर्किने कुरा लोकतन्त्रका लागि नसुहाउने बताए ।
‘एउटा ढोकाबाट छिरेर राष्ट्रपति, उपराष्ट्रपति हुने र अर्को ढोकाबाट फेरि राजनीतिमा आउने यो सर्वथा अनिष्टकारी कुरा हो’, कार्यक्रमका प्रमुख अतिथि रहेका पूर्वराष्ट्रपति डा रामवरण यादवतर्फ हेर्दै रिजालले भने, ‘मलाई अरुको पार्टीभित्रको आन्तरिक जीवनमा टिप्पणी गर्नु त छैन । तर, उपराष्ट्रपति भएका व्यक्तिलाई ल्याउन कहीँ पद खडा गरिँदैछ रे । राष्ट्रपति भइसकेका व्यक्तिलाई तपाईं आइदिनुपर्यो भनेर हारगुहार भइरहेको छ रे । यो मेरै पार्टीमा भएपनि म आलोचन गर्थेँ । यो राम्रो भइरहेको छैन ।’
उनले उक्त पदमा पुगेका व्यक्ति पदावधि सकिएपछि पनि साझा बन्नुपर्ने र कुनै राजनीतिक आवद्धता हुनु लोकतान्त्रिक मुलुकका लागि राम्रो नभएको रिजालले बताए ।
‘एउटा कुनै व्यक्ति नहुँदैमा पार्टीहरू ठप्प हुने होइनन् । त्यहाँ हजारौं, लाखौं क्षमतावान व्यक्तिहरू हुन्छन् । राष्ट्रको त्यो तहमा (राष्ट्रपति, उपराष्ट्रपति भएका) पुगेका व्यक्तिहरूलाई सक्रिय राजनीतिमा ल्याउन मरिहत्ते गर्नुको कुनै आवश्यकता छैन’, रिजालले भने ।
उनले डा रामवरण यादवलाई राष्ट्रपति बनाउँदा अहिले राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्ताव गरेको पनि स्मरण गरे । ‘अहिलेका राष्ट्रपतिलाई नेपाली कांग्रेसले त्यतिबेला प्रस्ताव गर्दा म अझै सक्रिय राजनीति गर्छु भनेर जान मान्नु भएन । डा रामवरण राष्ट्रपति बन्नुभयो । एउटा समयको सक्रिय राजनीति गरेर उहाँ (पौडेल) अहिले राष्ट्रपति बन्नु भएको छ’, रिजालले भने ।