२३ असार २०८३, मंगलबार

एनसेल फाउन्डेसनले एनपीएलका चौकावापत २६०० बढी शैक्षिक सामग्रीको वितरण गर्ने

पुस ८, २०८१
काठमाडौं
एनसेल फाउन्डेसनले एनपीएलका चौकावापत २६०० बढी शैक्षिक सामग्रीको वितरण गर्ने

एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरूमा हानिने प्रत्येक चौकावापत चारवटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा अनुरुप २६०० भन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने भएको छ । 

यी सामग्री ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई प्रदान गरिनेछ । शनिबार सम्पन्न एनपीएलमा कुल ६५३ चौका हानिका थिए । यसवापत एनसेल फाउन्डेसनले घोषणा गरे बमोजिक कुल २६१२ वटा शैक्षिक सामग्री विद्यार्थीलाई वितरण गर्ने पक्का भएको छ । 

क्रिकेटदेखि कक्षाकोठासम्मको यस नवीन पहलले विद्यार्थीको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने र शिक्षालाई प्रवर्द्धन गर्दै उज्ज्वल भविष्यका लागि अवसरहरूको ढोका खोल्न मद्दत पुर्‍याउने फाउन्डेसनले विश्वास लिएको छ । विद्यार्थीहरूले प्राप्त गर्ने प्रत्येक शैक्षिक सामग्रीमा आवश्यक शैक्षिक सामग्री; स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायतका स्टेसनरी सामान समावेश हुनेछन् । ‘यसले स्रोतको अभाव घटाउन सहयोग गर्नेछ र विद्यार्थीहरूको पठनपाठनमा योगदान गर्नेछ’, फाउन्डेसनले भनेको छ । 

एनपीएलमा सबैभन्दा बढी चौका जनकपुर बोल्ट्‌सका खेलाडी लाहिरु मिलान्थाले हानेका छन् । उनले कुल ३५ चौका हानेर १४० वटा शैक्षिक सामग्री वितरण सुनिश्चित गरेका छन् । त्यस्तै, दोश्रोमा पोखरा एभेन्जर्सका आन्द्रियस गौसले ३० चौका हानेका थिए, जसबाट १२० शैक्षिक सामग्री र तेश्रोमा लुम्बिनी लायन्सका रोहित कुमार पौडेल २६ चौका वापत १०४ शैक्षिक सामग्रीको वितरण पक्का भएको छ । 

त्यसैगरी, चितवन राइनोज्का रविन्द्र बोपारा र सुदूरपश्चिम रोयल्सका सैंफ जैबले २४/२४ चौका हानेर १९२ शैक्षिक सामग्रीको वितरण सुनिश्चित गरेका थिए । 

‘क्रिकेट खेल र एनसेल फाउन्डेसनको सामाजिक कार्य दुवैका हिसाबले यो एनपीएल एकदमै उत्साहजनक रह्यो । क्रिकेटप्रतिको चाखलाई सामाजिक कार्यसँग जोड्दै शिक्षाको लागि स्रोत आवश्यक रहेका विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गर्न यो पहलकदमी गर्न पाउँदा हामी अत्यन्त खुसी छौ’, एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले भनिन्,  ‘यसको लागि हामी क्रिकेट एशोसिएसन नेपाल (क्यान) तथा प्रत्येक खेलाडीलाई बधाई तथा धन्यवाद दिन चाहन्छौं । शैक्षिक सामग्री वितरणका लागि हामी क्यान, सम्बन्धित टिम अन्य सरोकारवालासँग सहकार्य गर्नेछौं ।’ 

एनपीएलका लागि एनसेलको साझेदारी र प्रत्येक चौकावापत ४ वटा शैक्षिक सामग्रीको वितरण कम्पनीको ‘हामी तपाईंकै लागि’ भन्ने थिम र नेपालमा क्रिकेट र खेलकुदको विकासमा समर्थन गर्ने प्रतिबद्धता अनुरुप रहेको बताएको छ । एनसेल फाउन्डेसनले महत्त्वपूर्ण सामाजिक आवश्यकता पूरा गर्न प्रभावकारी पहलमार्फत समुदायको समृद्धिमा योगदान पुर्‍याउन प्रतिबद्ध रहेको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्