२३ असार २०८३, मंगलबार

२३ वर्षयता अमेरिकी जनसंख्यामा सबैभन्दा ठूलो वृद्धि, २०२४ मा थपिए २८ लाख आप्रवासी

पुस ९, २०८१
काठमाडौं
२३ वर्षयता अमेरिकी जनसंख्यामा सबैभन्दा ठूलो वृद्धि, २०२४ मा थपिए २८ लाख आप्रवासी

सन् २०२४ को अन्त्यमा संयुक्त राज्य अमेरिकाको जनसंख्या ३४ करोड भन्दा माथि पुगेको छ । यो वर्ष विगत २३ वर्षकै उच्च जनसंख्या वृद्धिदर हुने वर्ष बनेको त्यहाँको जनगणना विभागले जनाएको छ ।

जनसंख्या वृद्धिको मुख्य कारण आप्रवासन हो । यस वर्ष अमेरिकाको जनसंख्या वृद्धिदर जम्मा १ प्रतिशत छ । उक्त वृद्धिदरमा ८४ प्रतिशत योगदान आप्रवासीले दिएका छन् ।

अर्थात् अमेरिकाको जनसंख्यामा १०० वृद्धि हुँदा तीमध्ये ८४ जना आप्रवासी हुन्छन् भने जम्मा १६ जना जन्म र मृत्युको फरकको आधारमा तय हुन्छ । 

कोभिड महामारीको समयमा अमेरिकाको जनसंख्या वृद्धिदर जम्मा शून्य दशमलव २ प्रतिशत थियो । 
यस वर्ष अमेरिकामा लगभग २८ लाख आप्रवासी थपिएका छन् । नयाँ गणनाविधिका अनुसार यसमा विविध मानवीय कारणबाट थपिएका आप्रवासी पनि सामेल छन् ।

यस वर्षको कुल जनसंख्या वृद्धिमा अन्तर्राष्ट्रिय आप्रवासीको योगदान ८४ प्रतिशत छ । सन् २०२३ र २०२४ बीच अमेरिकामा ३३ लाख जनसंख्या वृद्धि भएको थियो ।

सन् २०२३ र २०२४ बीच जन्म र मृत्युको बीचको अन्तर लगभग ५ लाख १९ हजार छ । सन् २०२१ मा कोभिड महामारीको समयमा यो संख्या जम्मा १ लाख ४६ हजार थियो । 

आप्रवासीका कारण खासगरी १६ राज्यहरूमा मात्रै जनसंख्या वृद्धि भएको छ । ती राज्यमा मानिसको पलायन र मृत्युका कारण जनसंख्या घट्दो दरमा थियो । 

ब्रूकिन्स इन्स्टिच्युटका जनसांख्यिक विज्ञ विलियम फ्रेको भनाइ छ, ‘आप्रवासनको प्रभावले ती राज्यहरूमा जनसंख्या वृद्धि गर्न ठूलो योगदान पुर्‍याएको छ । अन्यथा ती राज्यमा जनसंख्याको तीव्र गिरावट हुने थियो ।’

२०२४ मा सबैभन्दा सबैभन्दा धेरै जनसंख्या वृद्धि अमेरिकाको दक्षिणी क्षेत्रमा देखिएको छ । ती राज्यमा १८ लाख थपिएका छन् । टेक्सस र फ्लोरिडा राज्यमा सबैभन्दा बढी जनसंख्या वृद्धि भएको छ ।

यो वर्ष क्यालिफोर्निया र न्यूयोर्क जस्ता तटीय शहरी राज्यमा पनि आप्रवासनका कारण जनसंख्या वृद्धि भएको अमेरिकी जनगणना विभागले जनाएको छ । ​

यसबाहेक, ‘सनबेल्ट’ क्षेत्रको ठूलो विस्तारको कारण अमेरिकाको जनसंख्या केन्द्र दक्षिणतर्फ सर्न थालेको छ, जुन यस दशकको मध्यतिर आएको ठूलो परिवर्तन हो ।

यद्यपि, अमेरिकामा बच्चाको संख्या भने निरन्तर घटेको छ । सन् २०२३ मा ७ करोड ३३ लाख बच्चाबच्ची भएकोमा एक वर्षमै त्यो संख्या घटेर ७ करोड ३१ लाखमा झरेको छ । यसले अमेरिकाको बच्चाबच्चीको संख्यामा निरन्तर ओरालो लागिरहेको तथ्यलाई संकेत गर्छ ।

अमेरिकाले सन् २०२१ पछि ५८ लाख भन्दा बढी मानिसलाई आप्रवासीका रूपमा स्वागत गरेको छ । अमेरिकामा नेपाली आप्रवासीहरूको संख्या हाल २ लाख १९ हजार ५०३ रहेको छ । सन् २०२३ को ओपन डोर्स प्रतिवेदनले अमेरिकामा १६ हजार ७४२ नेपाली विद्यार्थीहरू अध्ययन गरिरहेको जनाएको छ भने यो अमेरिकामा अध्ययन गर्ने कूल विदेशी विद्यार्थीको १ दशमलव ५ प्रतिशत हो । 

ओपन डोर्सका अनुसार टेक्ससमा २८ हजार ६८३, न्यूयोर्कमा २३ हजार ७७७, ओहायोमा २१ हजार ५६७ र क्यालिफोर्नियामा १९ हजार ६७७ नेपालीहरू बसोबास गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्