
नेपाल पत्रकार महासंघले सुनसरीका पत्रकार गोपाल दाहालमाथि आएका धम्कीको स्थलगत अध्ययन गर्न मिडिया मिसन खटाएको छ ।
नेपाल पत्रकार महासंघको २७औं महाधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनबाट निर्वाचित केन्द्रीय समितिको मंगलबार बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।
महासंघका केन्द्रीय सदस्य कमल रिमालको संयोजकत्वमा पाँच सदस्यीय टोली खटाएको हो । मिडिया मिसन टोलीमा महासंघका अर्का केन्द्रीय सदस्य शंकर खरेल, वरिष्ठ पत्रकार हर्ष सुब्बा, महासंघ कोशी प्रदेश समितिका अध्यक्ष भरतबहादुर खड्का र महासंघ सुनसरी शाखाका अध्यक्ष सन्तोष काफ्ले सदस्य रहेका महासचिव रामप्रसाद दाहालले बताए ।
समाचारको विषयलाई लिएर पत्रकार गोपाल दाहालमाथि ज्यान लिनेसम्मको धम्की आइरहेको सन्दर्भमा स्थलगत अध्ययन गरी सात दिनभित्र प्रतिवेदन केन्द्रीय समितिमा पेस गर्नेगरी मिसन खटाइएको महासचिव दाहालले बताए ।
धरानका मेयर हर्क साम्पाङको विषयमा लेखेको एउटा खोजमुलक समाचारका आधारमा पत्रकार दाहालमाथि विभिन्न समूहले धम्की दिइरहेको बताइएको छ ।
महासंघको बैठकले केन्द्र, प्रदेश र स्थानीय तहबाट निर्माण हुँदै गरेका सञ्चारसम्बन्धी कानूनलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुको साथै खबरदारी गर्ने निर्णय पनि गरेको छ।