०२ साउन २०८३, शनिबार
१३ वर्षपछि निर्देशिका संशोधन गरिँदै

खानेकुरा प्याकिङ गर्दा ‘फुड ग्रेड’ प्लास्टिक अनिवार्य, रिसाइकल गरेर गारबेज ब्याग मात्रै बनाउन पाइने

पुस १०, २०८१
काठमाडौं
खानेकुरा प्याकिङ गर्दा ‘फुड ग्रेड’ प्लास्टिक अनिवार्य, रिसाइकल गरेर गारबेज ब्याग मात्रै बनाउन पाइने

करिब १३ वर्षपछि ‘प्लास्टिक झोला (नियमन तथा नियन्त्रण) निर्देशिका २०६८ संशोधन हुने भएको छ । वन तथा वातावरण मन्त्रालयले २०६८ मा बनेको निर्देशिकालाई पहिलो पटक संशोधन गर्न लागेको हो । संशोधित निर्देशिकामा रिसाइकल गरिने प्लास्टिकलाई गारबेज ब्याग अर्थात् फोहोर फाल्न प्रयोग गर्ने झोला मात्रै बनाउन मिल्ने व्यवस्था गर्न लागिएको छ ।

मन्त्रालय स्रोतका अनुसार होटेल तथा रेस्टुरेन्टलगायत स्थानमा खानेकुरा प्याकिङमा ‘फुड ग्रेड’को प्लास्टिक मात्रै प्रयोग गर्नुपर्ने व्यवस्था निर्देशिकामा गरिने छ । अर्थात् मानव शरीरका लागि हानिकारक हुने प्लास्टिकको झोलामा अब खानेकुरा प्याकिङ गर्न पाइने छैन । अहिले खाद्यान्न, पानी तथा औषधिजन्य वस्तु प्रयोगको लागि खाद्य स्तरको भर्जिन प्लास्टिक ग्रयानुल्स मात्रै प्रयोग गर्नुपर्ने व्यवस्था छ । यसका साथै अन्य अखाद्य पदार्थ ओसारपसारको लागि भर्जिन प्लास्टिक ग्रायानुल्स प्रयोग गर्नुपर्ने व्यवस्था छ ।

मन्त्रालयले प्लास्टिक झोला प्रयोग घटाउने नीति अख्तियार गर्न लागेको छ । जुन एक दशकभन्दा लामो समयदेखि उल्लेख गरिँदै आएको छ । तर, प्लास्टिक झोलाको प्रयोग भने बढी नै रहेको सरोकारवाला बताउँछन् ।

प्लास्टिक झोला प्रतिबन्धसम्बन्धी कार्य योजना २०७८ मा आएपछि ‘प्लास्टिक झोला (नियमन तथा नियन्त्रण) निर्देशिका २०६८ लाई संशोधन गर्नुपर्ने विषय उठेको थियो ।

प्लास्टिक झोलाको प्रयोग अत्यधिक बढ्दै गएको देखिन्छ । प्लास्टिकबाट वातावरण तथा मानव स्वास्थ्यमा हुने असरलाई मध्यनजर गर्दै सरकारले समय समयमा प्लास्टिक प्रतिबन्ध लगाउने निर्णय गर्दै आएको छ ।

null

प्लास्टिक झोला (नियमन तथा नियन्त्रण) निर्देशिका, २०६८ लागु भएसँगै पातलो प्लास्टिकको झोला प्रयोग नियन्त्रण गर्ने विषय उठेको थियो । तर, निर्देशिकाको पूर्ण कार्यान्वयन हुन सकेन ।

करिब ४ २०७२ वैशाख १ गते सरकारले पातलो प्लास्टिक झोलाको प्रयोगलाई थप कडाइ गर्ने भन्दै काठमाडौं उपत्यकाभित्र २० इन्च चौडाइ र ३५ इन्च लम्बाईभन्दा सानो र ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको उत्पादन, भण्डारण, बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध गर्ने निर्णय गरेको थियो ।

तर, त्यसको ११ दिनपछि विनाशकारी भूकम्प गयो । भूकम्पका कारण उक्त व्यवस्था कार्यान्वयन हुन सकेन । त्यस्तै २०७५ फागुनमा वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षणका लागि सार्वजनिक गरेको सय बुँदे प्राथमिकतामा प्लास्टिक झोला नियन्त्रण गर्ने कुरा उल्लेख थियो ।

प्लास्टिक झोलाको आयात, भण्डारण, बिक्री वितरण तथा प्रयोग गर्न नपाउने व्यवस्था जस्ताको तस्तै राख्न खोजिएको छ । निर्देशिका संशोधन अन्तिम चरणमा रहेको मन्त्रालय स्रोतले जनाएको छ । ‘मन्त्रालयबाट लगभग संशोधनको काम सम्पन्न भइरहेको छ’, स्रोतले भन्यो, ‘अब कानुन मन्त्रालयमा पठाउने तयारी छ ।’

प्लास्टिक प्रयोगमा नियन्त्रण र नियमनभन्दा पनि प्रतिबन्ध नै लगाउनुपर्ने कायापलटका संस्थापक तथा जलवायु अभियन्ता दिवाकर उप्रेती बताउँछन् । सरकारले बारम्बार कानुन मात्रै बनाउने गरेको तर, कार्यान्वयन नै नहुने उनको भनाइ छ ।

‘सरकारले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रतिबन्ध लगाएको छ । तर, बजारमा प्लास्टिक पाइरहेको हुन्छ । मापदण्ड र ऐन कानुन मात्रै बनाउने गरेको छ, तिनको कार्यान्वयन अवस्था शून्यजस्तै छ’, उनले भने, ‘हामीसँग भएका ऐन कानुन नै पूर्ण रूपमा कार्यान्वयन गर्ने हो हामी कहाँबाट कहाँ पुग्छौं । तर, निर्देशिका बनेको एक दशकभन्दा बढी समय हुँदा पनि अवस्था उस्तै छ । झन् वातावरण प्रदूषण बढिरहेको छ ।’ 

शहरी क्षेत्र हुँदै गाउँ गाउँमा प्लाष्टिकको प्रयोग बढ्दै गएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्