
भारतका प्रसिद्ध गायक सोनु निगम नेपाल आइपुगेका छन् ।
आज साँझ हुने ‘सोनु निगम लाइभ इन नेपाल’ साङ्गीतिक कार्यक्रमका लागि उनी काठमाडौं आएका हुन् ।
निगमले स्वर दिएको ‘यो जिन्दगीले’, ‘उकाली ओराली गर्दै’, ‘फूलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायत गीत नेपालीमाझ लोकप्रिय छन् ।
यस्तै, हिन्दी भाषामा ‘मेरे ढोलाना सुन’, ‘कल होना हो’, ‘साथिया’, ‘पापा मेरी जान’, ‘अभि मुझ मे कही’लगायत गीत लोकप्रिय छन् ।
बौद्ध तुसालमार्गस्थित ह्यात चौरमा हुने निगमको कन्सर्टमा झण्डै १० हजार दर्शक सहभागी हुने आयोजकको अपेक्षा छ ।
उनले करिब ३ घण्टा आफ्ना हिट गीतमार्फत दर्शकलाई मनोरञ्जन दिने छन् ।
केही दिन अगाडि भिडियो सन्देश पठाउँदै उनले नेपालीसँग पहिलोपटक साक्षात्कार हुने बताएका थिए ।
'मैले नेपाली गीत धेरै गाएँ पनि नेपालमा कन्सर्ट भने गरेको छैन । अहिले नेपालीसँग साक्षात्कार गर्ने अवसर जुटेकोछ, म प्रतीक्षामा छु । नेपाली र भारतीय गीतमार्फत उपस्थित दर्शकलाई मनोरञ्जन दिन कुनै कसर बाँकी राख्ने छैन,' उनले भनेका थिए ।






