
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ कर्थली घर भई काठमाडौं नयाँबानेश्वर बस्ने ३५ वर्षीय रमेश खड्का र नुवाकोट विदुर नगरपालिका-३ घर भई काठमाडौं कलंकी बस्ने ३६ वर्षीया पुन्यवती जोशी रहेका छन् ।
पक्राउ परेकामध्ये रमेशले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ र पुन्यवतीले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख १७ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएका प्रहरीले जनाएको छ ।
रकम लिएपछि उनीहरू सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रमेशलाई काठमाडौं महानगरपालिका-९ बाट र पुन्यवतीलाई काठमाडौं कलंकीबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।