१३ असार २०८३, शनिबार
कार्यवाहकको भरमा चलेको नयाँ दल

रविमाथि गम्भीर मुद्दा लागेपछि अब कसरी अघि बढ्छ रास्वपा ?

पुस १०, २०८१
काठमाडौं
रविमाथि गम्भीर मुद्दा लागेपछि अब कसरी अघि बढ्छ रास्वपा ?

टेलिभिजन प्रस्तोताको छविबाट उदाएर एकल ब्रान्डमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चलाउँदै आएका रवि लामिछानेमाथि सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको गम्भीर मुद्दा लागेको छ, जसले पार्टीको भविष्य र नेतृत्व विकास अब कसरी अगाडि बढ्छ भन्ने बहस जन्माएको छ ।

रास्वपा पार्टीको रूपमा स्थापना, प्रभाव र चर्चा बुलेट रेलको गतिमा हुन पुग्यो । स्थापनाको केही महिनाभित्रै २०७९ को चुनावमा लामिछानेले २० सीट जिताएर पार्टीलाई चौथो शक्तिका रूपमा उभ्याए । त्यसयता लामिछाने आफैं एकपछि अर्को विवादको भुमरीमा फस्दै आएका छन् ।

सभापति लामिछानेमाथि नागरिकता प्रकरणमा मुद्दा, सांसद पद खारेजी, सरकारमा जाने र फिर्ता हुने क्रम आदिले निकै उतारचढावको स्थिति ल्यायो । सांसद पद गएपछि उपनिर्वाचनमा लामिछाने झन् ठूलो मतान्तरले जित्न पुगे । बरालिएको रास्वपालाई रविले उपनिर्वाचनबाट ट्रयाकमा ल्याउन खोजे । तर, अड्याउन सकेनन् । निर्वाचनको दुई वर्षसम्म आइपुग्दा रास्वपा गम्भीर उतारचढावले रुमलिएको छ ।

पार्टी खोल्नुअगाडि गोरखा मिडियामा प्रबन्ध निर्देशकका रूपमा रहेका लामिछाने सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दामा तानिएका छन् । संसद्मा निरन्तर आवाज उठेपछि गठन भएको संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेदेखि अहिले मुद्दा खेप्ने स्थितिसम्म लामिछाने पुगेका छन् । कान्छो पार्टीले छोटो समयमा व्यहोरेको यो उतारचढावपूर्ण उत्कर्षको वरिपरि रास्वपाका अरू नेता छैनन् । बरु सभापति लामिछानेकै कारण विवाद र झमेलाको उत्कर्ष रूप रास्वपाले सामना गरिरहेको छ । 

यसअघिभन्दा यसपटक लामिछानेविरुद्ध गम्भीर मुद्दा लागेको छ । गोरखा मिडियाका तत्कालीन प्रबन्धक निर्देशक रविविरुद्ध सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख र सहकारी ठगीमा ३ करोड ३७ लाख बिगो दाबी गर्दै कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ । 

यत्तिमात्रै होइन, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा रविपत्नी निकिता पौडेललाई समेत सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको छ । यसरी लामिछानेलाई सहकारी ठगीमा ४ देखि ६ वर्षसम्म कैद, संगठित अपराधमा थप ५० प्रतिशत सजाय र सम्पत्ति शुद्धीकरणमा २ देखि १५ वर्ष कैद तथा बिगोको दोब्बर जरिवाना लगाउनुपर्ने रायसहित मुद्दा दर्ता भएको छ ।

लामिछाने झमेलामा फसेपछि अन्य नेताको काँधमा पार्टी चलाउनुपर्ने दायित्व आएको छ । जिम्मेवार नेताको अनुपस्थितिमा पार्टी चलाउनुपर्ने र उनी दोषी देखिए रास्वपा हाँक्ने क्षमतासमेत हासिल गर्नुपर्ने चुनौती नेताहरूको काँधमा आएको हो ।

मुद्दा दर्ता भएपछि अहिले थुनछेक बहसको क्रम अगाडि बढेको छ । थुनछेक बहसपछि थुना वा बाहिर बसेर मुद्दा लड्ने भन्ने निर्क्यौल हुनेछ ।

अभियोगअनुसार मुद्दाको छिनोफानोमा दोषी देखिए लामिछानेका लागि सक्रिय राजनीतिको ढोका बन्द हुने सम्भावना समेत छ । रास्वपाका नेताहरूले सम्मानीत अदालतबाट लामिछानेले उन्मुक्ति पाउने आशा मारिसकेका छैनन् । तर, सँगै केही गरी लामिछाने दोषी देखिए आफूहरूले पार्टी चलाउनुपर्ने र त्यसका लागि तयार हुनुपर्ने मानसिकतामा समेत नेताहरू देखिन्छन् ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झा सरकारले गलत रवैया देखाए पनि अदालतले सभापतिलाई न्याय दिने विश्वासमा आफूहरू रहेको बताए । ‘आफ्नो मान्छेलाई जोगाउने, अरूलाई धम्क्याउने रवैयामा सरकार लागेको छ । यसमा पार्टीहरूकै नयाँ पुस्ताले साथ दिएका छन् भन्ने हाम्रो बुझाइ छ । तर, पनि अदालतबाट हाम्रो सभापतिले न्याय पाउनुहुन्छ भन्ने आश छ,’ झाले लोकान्तरसँग भने, ‘हिजो पनि सभापतिसँग एक घण्टा कुरा गरें । उहाँ कुनै गल्ती र कमजोरी नभएकोमा ढुक्क हुनुहुन्छ ।’

सम्पत्ति शुद्धीकरणको मुद्दामा सभापतिले अकाउन्टमा आएको पैसाको स्रोत देखाउने बताएको झाले दाबी गरे । ‘कहाँबाट रकम आएको हो, स्रोत छ भन्नुभएको छ । तर मुद्दालाई प्रभावित पार्न नेपाल प्रहरीले आफ्नो सुविधाको सूचना बाहिर चुहाएर बदमासी गर्‍यो भन्ने उहाँको गुनासो छ’ उनले भने ।  

पार्टी सभापतिमाथि मुद्दा अगाडि बढ्दा पनि रास्वपा स्तब्ध भएर नबसेको झाले बताए । 

‘सभापतिमाथि मुद्दा दर्ता हुँदा झापामा कार्यक्रममा थियौं । अरू क्रिसमस मनाएर बस्दा पार्टी कञ्चनपुरमा क्रियाशील भइरहेको छ । मधेशमा जिल्ला भेला गरिरहेको छ,’ झाले भने, ‘अहिले पनि सामान्य हिसाबले पार्टी चलेको छ, पार्टीका नेता स्तब्ध भएर कुनामा बसेका छैनन् ।’ 

पार्टीले कार्यवाहक सभापति पाएकाले केहीदिनमै आगामी कार्ययोजना बनाउने झाले बताए । ‘पार्टीमा कार्यवाहक सभापति आउनुभएको छ । कसरी अगाडि बढ्ने भनेर एक्सन प्लान बनाउन केन्द्रीय समिति बैठकको तयारी गर्दैछौं,’ झाले भने, ‘स्तब्ध भएर कोही बसेका छैनन्, सबैले आ–आफ्नो काम गरेका छन् ।’ 

यद्यपि पार्टी स्थापना गरेका प्रमुख नेतामाथि मुद्दा लाग्नु सामान्य नभएको उनी बताउँछन् । 

‘राजनीतिकरूपमा सबैकुरा सामान्य छ भन्दै गर्दा पार्टी स्थापना गर्नुभएको नेतालाई मुद्दा लागेको छ । यो स्थिति चुनौतीपूर्ण पनि हो,’ झाले भने, ‘सभापतिले रास्वपाको चुनाव चिह्न घण्टी मतपत्रमा परिसक्यो भन्नुभएको थियो । रास्वपा पार्टी बनिसक्यो भनिसक्नुभएको थियो । यसैले चुनौती छ र यसलाई चिर्न सक्ने नेता रास्वपामा हुनुहुन्छ ।’

उनले थपे, ‘पार्टी स्थापना दिवसका दिन असार ७ गते सभापतिले यिनीहरूले हिलो छ्याप्छन्, सजिलै मार्दैनन्, जस्तोसुकै दुःख दिन सक्छन्, यो हदसम्मका लागि मानसिक रूपमा तयार हुनुपर्छ भन्नुभएको थियो,’ झाले भने, ‘हरेक चुनौती सामना गर्छौं, तर अदालतले कस्तो निर्णय गर्ला भन्ने कुराको आकलन सत्तापक्षले रास्वपाप्रति गरेको व्यवहारको आधारमा गरिएको छ, यो विडम्बनापूर्ण छ ।’ 

null

पार्टीमा आफ्नो लागि स्पेश खोज्दै नेताहरू

लामिछाने झमेलामा फसेपछि अन्य नेताको काँधमा पार्टी चलाउनुपर्ने दायित्व आएको छ । जिम्मेवार नेताको अनुपस्थितिमा पार्टी चलाउनुपर्ने र उनी दोषी देखिए रास्वपा हाँक्ने क्षमतासमेत हासिल गर्नुपर्ने चुनौती नेताहरूको काँधमा आएको हो । यसपटक मुद्दाको प्रकृति नै जटिल भएकाले लामिछानेले पार्टी उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । 

राजनीतिक विश्लेषक कृष्ण पोखरेल रविको व्यक्तित्वमा रास्वपा बनेकाले यसलाई संस्थागत रूपले अगाडि बढाउनुपर्ने चुनौती अन्य नेतामा आएको बताउँछन् । 

‘रास्वपा रवि लामिछानेको व्यक्तित्वमा बनेको पार्टी हो । उनीमाथि लागेको पछिल्लो मुद्दाले पार्टी संस्थागत रूपले अगाडि बढ्नुपर्ने र त्यसैअनुसार बन्नुपर्ने चुनौतीमा पुगेको छ । संकटले कुनै पनि संगठन र संस्थालाई अझै राम्रो भएर अगाडि बढ्न अवसर दिन्छ,’ पोखरेलले भने, ‘रास्वपाका अन्य नेताले रविविना पनि चल्नुपर्छ भन्ने परिकल्पना गरेर सही ढंगले ट्याकल गरे स्थिति सहज हुन्छ । अन्यथा कठिन पनि हुन सक्छ । यसैले रास्वपाका अन्य दाबेदार नेताहरू परीक्षाको घडीमा छन् ।’

उप–सभापति डा. स्वर्णिम वाग्लेसँगको रस्साकस्सीबीच अर्यालले यसपटक कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् । तर, यो विवादरहित नभएको बताइन्छ ।

पार्टीको संस्थापक नेता भएको आधारमा वाग्लेभन्दा चार दिनले कान्छो भए पनि अर्यालले कार्यवाहकको जिम्मेवारी पाएका हुन् । तर, चतुर मानिने वाग्ले पक्षले अर्याललाई नरुचाएको चर्चा हुने गरेको छ । उनीहरूबीच पार्टीमा को हावी हुने भन्ने प्रतिस्पर्धा शुरू भइसकेको दाबी नेताहरू गर्छन् । 

‘रास्वपा रवि लामिछानेको व्यक्तित्वमा बनेको पार्टी हो । उनीमाथि लागेको पछिल्लो मुद्दाले पार्टी संस्थागत रूपले अगाडि बढ्नुपर्ने र त्यसैअनुसार बन्नुपर्ने चुनौतीमा पुगेको छ । संकटले कुनै पनि संगठन र संस्थालाई अझै राम्रो भएर अगाडि बढ्न अवसर दिन्छ,’ राजनीतिक विश्लेषक पोखरेलले लोकान्तरसँग भने ।

यस्तो प्रतिस्पर्धा सभापतिमा मात्रै सीमित छैन, महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाललाई गत असारको तेस्रो साता कारवाही गरियो । सन्तुलन मिलाउन रास्वपाले कवीन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र मनिष झालाई कार्यवाहक प्रवक्ता बनायो ।

ढकाल कारवाहीमा परेको लामो समय भइसक्दा पनि दाबेदारका ताँतीले गर्दा रवि निर्णयमा पुग्न सकेनन् । अर्थात्, कार्यवाहककै भूमिका दिएर महत्त्वपूर्ण पद चलाउँदै आएका छन् । गुटगतरूपमा समेत दाबेदारी बढ्दा रवि प्रस्ट जिम्मेवारी दिएर अगाडि नबढेको नेताहरू बताउँछन् । 

रास्वपामा महामन्त्रीका लागि बुर्लाकोटी, झा र विपिनकुमार आचार्य मुख्य दाबेदार रहेको नेताहरू बताउँछन् । पछिल्लो मुद्दा लागेपछि संसद् सचिवालयले चितवन– २ बाट जितेका संसदीय दलका नेता लामिछानेको सांसद पद निलम्बनमा राखेको छ । यसैले संसदीय दलको कार्यवाहक नेता समेत चयन गर्नुपर्ने दबाब छ । यसका लागि समेत नेताको लर्को लागेको छ । 

यो पदका लागि विभिन्न ५ नेताको दाबेदारी रहेको बताइन्छ, जसमा कार्यवाहक सभापति अर्याल, उपसभापति वाग्ले, दलका उपनेता विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ र डा. चन्दा कार्कीले दाबेदारी देखाएको भन्दै समाचारहरू आएका छन् । यसैले लामिछानेको विश्वास आर्जन गर्नेगरी अर्याल र वाग्ले दुवैले आ–आफ्ना गुटलाई बलियो बनाउने नीति लिएका छन् । आफ्नो प्रभाव बलियो बनाउने र रविविना पनि पार्टीभित्र नेतृत्वका लागि अभ्यास गर्दै जानेसम्मको तयारीमा दुवै पक्ष लागेको नेताहरू बताउँछन् ।

तर, कार्यवाहक प्रवक्ता झाले राजनीतिमा लागेपछि नेता बन्न खोज्नु र योग्यता प्रस्तुत गर्नु स्वाभाविक भएको बताए । ‘प्रवक्ता भएपछि म सक्षम छु भनेर अपेक्षा राख्ने, दाबेदारी राख्ने कुरा स्वभाविक हो । कार्यकर्ताले नेता बन्छु र नेताले कार्यकारी पदमा पुग्छु, पार्टीमा योगदान गर्छु भन्न पाउँछ,’ झाले भने, ‘हाम्रो पार्टीको विधानले प्रमुख पदमा दुई कार्यकालभन्दा धेरै रहन नपाउने प्रावधान राखेको छ । यसैले निश्चित समयपछि नेतृत्वमा पुग्छु भनेर उपसभापतिद्वयले अपेक्षा राख्नु स्वाभाविक हो ।’

सभापतिको सिफारिश वा उमेरमा ज्येष्ठ उपसभापतिमध्येबाटै अर्याल कार्यवाहक बनेको पनि झाले बताए ।

‘उपसभापति दुईजना रहँदा कार्यवाहकमा सभापतिले आफ्नो सिफारिस वा उमेर हदमध्ये पहिलोलाई रोज्ने विकल्पमा अर्याललाई रोज्नुभएको हो,’ झाले भने, ‘यसलाई सचिवालयले सहजै स्वीकार्‍यो । संसदीय दलको नेतामा पनि अपेक्षा स्वाभाविक हुँदै गर्दा विवाद छ भनेर मिडियाले गलत आशयले लेखे । काम गर्छु, मौका देऊ भनेर विकल्प दिनु राम्रो हो, विवाद होइन ।’

झाले आगामी केन्द्रीय समितिको बैठकबाटै कार्यवाहकबारे पनि निर्णय लिने जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्