
शिक्षामन्त्री विद्या भट्टराई मंगलबार एक्कासि कक्षाकोठामा आइपुगेपछि ललितपुरको इमाडोलस्थित न्यू मिलेनियम स्कूलका विद्यार्थी चकित बने ।
बिहान १० बजे स्कूलमा पुगेकी मन्त्री भट्टराई विद्यार्थीहरूसँग प्रत्यक्ष कुराकानी गर्न शिक्षकसँगको समन्वयमा कक्षाकोठामा छिरेकी थिइन् ।
मन्त्री आउन लागेको बारे स्कूल व्यवस्थापनलाई जानकारी भए पनि कक्षाकोठामै पुगेर विद्यार्थीसँग कुरा गर्ने कार्यक्रम तय भएको थिएन । तर, पाठ्यक्रममा सुधारका लागि काम भइरहेका बेला विद्यार्थीहरूसँगै भेटेर उनीहरूका गुनासा र सुझाव सुन्नु महत्त्वपूर्ण पनि थियो ।
मन्त्री भट्टराईले विद्यार्थीका प्रश्नहरूको जवाफ दिइन् र सुझाव पनि लिइन् । करिब २ घण्टा त्यहाँ बसेकी भट्टराईले विद्यार्थीहरूसँगै क्यान्टिनमा खाना खाइन् । मंगलबार पुग्ने भनेर तय भएका ४ (२ सामुदायिक र २ संस्थागत)मध्ये यो पहिलो स्कूल थियो ।
त्यहाँबाट मन्त्रीको गाडी सिधै जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयतर्फ मोडियो । विद्यार्थी, शिक्षक लगायतसँग प्रत्यक्ष भेटेर उनीहरूका गुनासा सुन्ने र नीतिगत तथा पाठ्यक्रममा सुधारका लागि सुझाव लिने उनको उद्देश्य थियो ।
अपांगता भएका बालबालिका लक्षित उक्त विद्यालयमा अन्य विद्यार्थीहरू पनि पढ्छन् । विद्यार्थीहरूले विपन्न तथा छात्राहरूका लागि छात्रवृत्ति र होस्टेलको व्यवस्थाबारे जिज्ञासा राखे ।

'हामीले पढेर काम गर्न सक्छौं कि सक्दैनौं भन्ने उहाँहरूको जिज्ञासा थियो,' अपांगता भएका विद्यार्थीहरूले राखेको चासोबारे उल्लेख गर्दै मन्त्री भट्टराईले भनिन्, 'विपन्नताका कारण पढ्न गाह्रो भएकाले होस्टेलको सुविधाबारे पनि उहाँहरूले कुरा गर्नुभएको थियो ।'
छात्रवृत्तिबारे सोधिएको प्रश्नको जवाफमा मन्त्री भट्टराईले त्यसलाई बढाउन सकिन्छ कि भन्ने विषयमा सरकारले विचार गरिरहेको बताइन् ।
'अहिले धेरै अधिकार स्थानीय तहलाई छ । तपाईंहरूले भन्नुभएजस्तो छात्रवृत्ति बढाउन र लक्षित वर्गसम्म पुर्याउन कसरी सकिन्छ भन्ने विषयमा छलफल गरिरहेका छौं,' मन्त्री भट्टराईले भनिन् ।
अब विद्यार्थीको रोजाइअनुसार शिक्षक पठाउनुपर्छ भन्ने हिसाबले पनि काम भइरहेको उनको भनाइ थियो ।
'विद्यार्थीको रोजाइअनुसारको शिक्षक पठाउनुपर्छ भन्ने हिसाबले पनि सरकारले काम गरिरहेको छ,' उनले भनिन्, 'संगीत शिक्षक पनि चाहिन्छ, स्पोर्ट्स शिक्षक पनि चाहिन्छ, स्वास्थ्य शिक्षक चाहिन्छ । शिक्षालाई त्यो मोडलबाट अगाडि बढाउनु पर्छ ।'
दरबन्दी पुनरवलकोनका लागि प्रयास भइरहेको भन्दै मन्त्री भट्टराईले दिन्दिनै पढ्ने मात्र भन्दा पनि ज्ञान प्रदान गर्नुपर्छ भन्ने हिसाबले छलफल भइरहेको बताइन् । उनले आवश्यकता म्यापिङ गरेर स्थानीय सरकारमार्फत माग गर्न शिक्षक तथा विद्यालय व्यवस्थापनलाई सुझाव दिइन् ।
त्यहाँ चिया खाएर बाहिरिएकी मन्त्री भट्टराई हात्तीगौंडास्थित इम्पेरियल वर्ल्ड स्कूल पुगिन् । उक्त विद्यालयका विद्यार्थीले हाम्रो शिक्षा 'प्राक्टिकल' भएन भन्ने गुनासो पोखे । 'प्लसटु'पछि विदेश जानैपर्ने बाध्यताबारे पनि विद्यार्थीहरूको जिज्ञासा थियो ।

एक छात्राले हाम्रो शिक्षा 'मेमोरी बेस'मा मात्र रहेको गुनासो गरिन् ।
'हाम्रो करिकूलम मेमोरी बेसमा छ । अहिले नयाँ प्रविधि र कति सुविधा आइसक्यो । कुनै कुरा घोक्नै पर्छ भन्ने छैन । तर, हामीले रटेकोरट्यै गर्नुपर्छ । हाम्रो शिक्षालाई मेमोरी भन्दा एप्लिकेसन बेसमा गर्न मिल्दैन?'
जवाफमा मन्त्री भट्टराईले पाठ्यक्रममा समयानुकूल परिमार्जनको काम भइरहेको बताइन् । विद्यार्थीहरूको विदेश पलायन रोक्न स्कूललाई युनिभर्सिटी र इन्डस्ट्रीसँग जोड्ने हिसाबले काम गरिरहेको उनको भनाइ थियो ।
'स्कूल र युनिभर्सिटीलाई कसरी लिंक गर्ने भन्ने विषयमा काम गरिरहेका छौं । हामीसँग १४ वटा विश्व विद्यालय छन्, तर तिनलाई स्कूलसँग कनेक्सन गर्न सकेका छैनौं । स्कूललाई युनिभर्सिटी र इन्डस्ट्रीसँग लिंक गर्नुपर्छ,' मन्त्री भट्टराईले भनिन् ।
विद्यार्थीहरूको अर्को गुनासो सम्बोधनका क्रममा उनले अहिलेको 'कोर्स' केही 'हेभी' भएकाले त्यसलाई घटाउने प्रयास भइरहेको जानकारी दिइन् ।

मंगलबार मन्त्रिपरिषद् बैठक पनि बसेकाले पूर्वनिर्धारित शेड्युलअनुसार चौथो स्कूलमा भने जान नभ्याएको उनले जानकारी दिइन् ।
'२ वटा संस्थागत र २ वटा सामुदायिक स्कूलमा पुग्ने कार्यक्रम थियो, तर मन्त्रिपरिषद् बैठक पनि परेकाले चौथो स्कूलमा पुग्न भ्याइनँ, अर्को दिन पुग्नेछु,' मन्त्री भट्टराईले लोकान्तरसँग भनिन् ।
प्राध्यापनकै पृष्ठभूमिबाट राजनीतिमा आएकी भट्टराई शिक्षा प्रणाली सुधारका लागि सक्दो प्रयास गरिरहेको बताउँछिन् । त्यही शिलशिलामा विद्यालयमै पुगेर शिक्षक तथा विद्यार्थीहरूसँग सुझाव लिएको उनको भनाइ छ ।