२० असार २०८३, शनिबार
एमाले सचिवालय बैठक

भीम रावल एमालेबाट निष्काशित, विन्दा पाण्डे र उषाकिरण तिमल्सेना ६ महिना निलम्बनमा

पुस १०, २०८१
काठमाडौं
भीम रावल एमालेबाट निष्काशित, विन्दा पाण्डे र उषाकिरण तिमल्सेना ६ महिना निलम्बनमा

नेकपा एमालेले पूर्व उपाध्यक्ष भीम रावललाई पार्टीबाट निष्काशन गरेको छ । बुधबार बसेको सचिवालय बैठकले रावललाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो ।

यस्तै, बैठकले स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । 

उनीहरूले पार्टी अनुशासनविपरीत काम गरेको एमालेको निष्कर्ष छ । एमालेले यसअघि तीनै जनालाई स्पष्टीकरण सोधेको थियो । उनीहरूले बुझाएको स्पष्टीकरण चित्त नबुझेपछि पाण्डे र तिमल्सेनालाई ६ महिनाका लागि जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरिएको ज्ञवालीले बताए । 

नेता रावल पछिल्लो समय पार्टीमा लगभग जिम्मेवारीविहीन थिए । उनी एमालेको १०औं महाधिवेशनमा ओलीसँगै अध्यक्षमा भिडेका थिए । अध्यक्षमा पराजित भएका रावललाई त्यसपछि कुनै जिम्मेवारी दिइएको थिएन । 

रावलले निरन्तर पार्टी हितविपरित गतिविधि गरेपछि साधारण सदस्य समेत नरहनेगरी कारबाही गरिएको उपमहासचिव ज्ञवालीले बताए । 

एमालेले व्यवसायी मीनबहादुर गुरुङबाट जग्गा दानमा लिने निर्णयका विरुद्ध रावल, पाण्डे र तिमल्सेनासहितका नेताहरूले सार्वजनिक रूपमै बोलेका थिए । 

यस प्रकरणमा पाण्डे र तिमल्सेनाले बुझाएको स्पष्टीकरणमा आत्मालोचना समेत नगरेकाले निलम्बन गरिएको ज्ञवाली बताउँछन् । 

पछिल्लो समय रावल एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीमा जाने चर्चा चलिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्