
गृहमन्त्री रमेश लेखकले जलवायु परिवर्तनले प्राकृतिक प्रकोपलाई अझ पेचिलो बनाउँदै गएको बताएका छन् ।
काठमाडौंङ्गा बिहीबारदेखि शुरू भएको तेश्रो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण सम्मेलनको उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले विपद् जोखिम न्यूनीकरण आजको आवश्कता भएकोमा जोड दिए ।
‘मुलुक भौगोलिक, प्राकृतिक र सामाजिक दृष्ट्रिकोणले विविधतायुक्त देश हो, यहाँको भू–भाग, जलवायु र वातावरणीय संरचनाले गर्दा हाम्रो देशमा प्राकृतिक र मानव सिर्जित विपदको सम्भावना धेरै छ’, उनले भने, ‘विपद् जोखिम न्यूनीकरणका लागि निर्माण भइसकेका संरचनालाई बलियो बनाउन जरुरी छ ।’
संघदेखि स्थानीय तहका वडास्तरसम्म विपद् जोखिम न्यूनीकरण सम्बन्धी संरचनालाई बलियो बनाउन आवश्यक रहेको उनको भनाइ छ ।
मुलुक विपद् जोखिमको पनि उच्च जोखिममा रहेको भन्दै गृहमन्त्री लेखकले सबै मिलेर विपद् जोखिम न्यूनीकरणका लागि पहल गर्नुपर्नेमा जोड समेत दिए ।
‘देशभरका बहु–क्षेत्रीय र बहु–आयामिक साझेदारहरूलाई एकै ठाउँमा ल्याएर विपद्का चुनौतीहरूको विश्लेषण र समाधानका रणनीति तयार गर्ने यो सम्मेलन आफैंमा महत्त्वपूर्ण रहनेमा विश्वस्त छु’, गृहमन्त्री लेखकले भने, ‘नेपाल प्राकृतिक र मानवीय कारणले सिर्जित विपद् जोखिमका लागि संसारकै उच्च संवेदनशील मुलुकहरूमध्ये एक हो । हिमाल, पहाड, र तराई जस्ता विविध भूगोलले भरिएको छ, जसले हामीलाई प्राकृतिक सम्पदामा धनी बनाए पनि जोखिमको दृष्टिकोणले निकै संवेदनशील बनाएको इतिहास छ ।’
प्राकृतिक प्रकोपको पूर्वानुमान गर्न सकिने प्रविधि र सूचना प्रणालीलाई सुदृढ गर्दै विपद्बाट हुने क्षति न्यून गर्न सकिने उनको भनाइ छ । नेपालले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि नीति निर्माण र संरचनात्मक सुधारहरूमा उल्लेखनीय प्रगति गरेको जानकारी दिए ।