
चीनले तिब्बतमा यार्लुङ साङ्पो (ब्रह्मपुत्र) नदीमा निर्माण हुने ठूलो जलविद्युत परियोजनालाई स्वीकृत गरेको छ ।
सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार यस परियोजनाअन्तर्गत बनाइने बाँध विश्वकै सबैभन्दा ठूलो हुनेछ ।
हाल, विश्वको सबैभन्दा ठूलो जलविद्युत केन्द्र थ्री गर्जेज बाँध मध्य चीनको हुबेई प्रान्तको याङ्त्जे नदीमा बनेको छ, यसको वार्षिक क्षमता ८८ अर्ब किलोवाट घण्टा छ । ब्रम्हपुत्रको बाँध यो भन्दा पनि ठूलो हुने सिन्ह्वाले जनाएको छ ।
चीनले यो आयोजनाले वातावरणमा असर नपर्ने बताएको छ तर मानवअधिकार समूह र विज्ञहरूले यस विकासको प्रतिकूल नतिजाबारे चिन्ता व्यक्त गरेका छन् ।
चीनको १४औं पञ्चवर्षीय योजना बनाउने क्रममा यस परियोजनाबारे पहिलो पटक छलफल भएको थियो । राष्ट्रपति सी जिनपिङले २०२१ मा तिब्बतको भ्रमणका क्रममा उक्त बाँध बनाउने घोषणा गरेका थिए ।
तिब्बतको ब्रह्मपुत्र नदीमा निर्माण भइरहेको बाँधले वार्षिक ३०० अर्ब किलोवाट घण्टा बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ, जुन थ्री गर्जेजको क्षमताभन्दा तीन गुणा बढी छ । यो तिब्बतको पूर्वी छेउमा निर्माण हुनेछ ।
समाचार एजेन्सी सिन्ह्वाले यो परियोजनाले कार्बन उत्कर्ष, कार्बन तटस्थता र विश्वव्यापी जलवायु परिवर्तनसँग लड्ने चीनको लक्ष्य पूरा गर्न प्रमुख भूमिका खेल्ने जनाएको छ ।
यसले इन्जिनियरिङसँग सम्बन्धित उद्योगहरूलाई प्रोत्साहन दिने र तिब्बतमा रोजगारी सिर्जना गर्नेछ ।
तर, प्रतिवेदनमा निर्माण कहिले शुरू हुन्छ र निर्माणको ठ्याक्कै स्थान भने खुलाइएको छैन ।
२०२० मा चीनको सरकारी स्वामित्वमा रहेको पावर कन्स्ट्रक्सन कर्पोरेसनका तत्कालीन अध्यक्ष यान सियाङले यार्लुङ त्साङ्पोलाई विश्वको सबैभन्दा ठूलो जलविद्युत आयोजना मध्येको एक मानिएको बताए ।
यार्लुङ साङ्पो नदी करिब दुई हजार मिटरको उचाइमा बग्छ भने यो करिब ५० किलोमिटर फैलिएको छ । यो ढलानले जलविद्युत उत्पादनमा मद्दत गर्छ तर यसमा इन्जिनियरिङ चुनौती पनि छन् ।
निर्माण लागतको बारेमा आधिकारिक जानकारी दिइएको छैन तर हङकङस्थित साउथ चाइना मर्निङ पोस्टका अनुसार यस आयोजनामा कुल लगानी १ ट्रिलियन युआन अर्थात् १ सय ३७ अर्ब डलरभन्दा बढी हुनसक्छ ।
यो आयोजनाबाट कति मानिस विस्थापित हुनेछन् र यसले इकोसिस्टममा कस्तो असर पार्छ भन्ने कुरा स्पष्ट गरिएको छैन ।
भारत–बंगलादेशमा कस्तो असर पर्ला ?
ब्रह्मपुत्र (यार्लुङ साङ्पो) नदी तिब्बतको कैलाश पर्वत नजिकैको आङ्सी ग्लेशियरबाट निस्कन्छ र करिब तीन हजार किलोमिटरसम्म फैलिएको छ ।
भारतमा यार्लुङ साङ्पोलाई ब्रह्मपुत्र नदी भनिन्छ र त्यसपछि असम हुँदै बंगलादेश पुग्छ । त्यसपछि यो गंगा नदीमा मिल्छ ।
बंगलादेशको ९० प्रतिशतभन्दा बढी पानी सीमापारबाट आउँछ । सुख्खायाममा ब्रह्मपुत्र नदीले मात्रै ७० प्रतिशत पानी ल्याउँछ । यसबाट स्पष्ट हुन्छ कि ब्रह्मपुत्र बंगलादेशको जीवन रेखा हो ।
मिडिया रिपोर्टहरूका अनुसार यो विशाल परियोजनाले तिब्बतको सबैभन्दा लामो नदी यार्लुङ साङ्पोको प्रवाहलाई डाइभर्ट गर्दै नाम्चा बर्वा पर्वत वरिपरि कम्तीमा चार २० किलोमिटर लामो सुरुङ खन्नुपर्नेछ ।
त्यसैले यो बाँधलाई भारत र बंगलादेशले ठूलो चिन्ताको रूपमा हेरेका छन् ।
तक्षशिला संस्थान, बेंगलुरुका अनुसन्धान कार्यक्रमका प्रोफेसर डा. वाई नित्यानन्दमले भारत र बंगलादेशले यस बाँधबारे गरिरहेको चिन्ताको विषयमा बोल्दै यसलाई चीनको मेकोङ नदीमा बनेको बाँधको उदाहरण दिएका छन् ।
प्रोफेसर नित्यानन्दम भन्छन्, 'चीनले मेकोङ नदीमा बाँध बनाएको छ र हामीले बाँध अगाडिको तल्लो क्षेत्रको अध्ययन गर्यौं । यसबाट हामीलाई थाहा भयो कि चीनले बाँधमा पानी जम्मा गरेको र समयमै छोडेको छैन । यसमा पनि त्यस्तै हुने खतरा छ ।'
भारत र बंगलादेशका उत्तर-पूर्वी राज्यहरू पहिले नै बाढीको चपेटामा परेका छन् । जलवायु परिवर्तनका कारण उनीहरू थप पहिरो, भूकम्प र बाढी जस्ता चुनौतीको सामना गर्न सक्छन् ।
ब्रह्मपुत्र नदीमा बाँध निर्माणले इकोसिस्टमलाई दबाब दिन सक्छ र विनाशकारी घटनाहरू निम्त्याउन सक्ने प्रोफेसर नित्यानन्दमको भनाइ छ ।
भारतले यस विषयमा अहिलेसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन ।
अष्ट्रेलियामा रहेको थिंक ट्याङ्क लोवी इन्स्टिच्युटले प्रकाशित गरेको २०२० को रिपोर्टअनुसार यी नदीमार्फत चीनले भारतको अर्थतन्त्रको नियन्त्रण लिन सक्छ ।
सन् २०२० मा चीनले यो बाँध बनाउने घोषणा गर्दा भारत सरकारको जलविद्युत मन्त्रालयका वरिष्ठ अधिकारी टीएस मेहराले चिनियाँ बाँध परियोजनाहरूको प्रतिकूल प्रभावलाई कम गर्न अरुणाचल प्रदेशमा बाँध निर्माण बढाउनुपर्ने अभिव्यक्ति दिएका थिए ।
चीनपछि भारतले पनि ब्रह्मपुत्र नदीमा बाँध बनायो भने बंगलादेश सबैभन्दा बढी प्रभावित हुनेछ ।