
पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडाका मकरबहादुर तामाङ २०५६ सालमा वैदेशिक रोजगारीमा गए । छोराछोरीको पालन पोषण, हुर्काउन-बढाउन सहज हुने उद्देश्यले उनी साउदीमा अरब गए । साना छोराछोरीलाई छाडेर उनी पैसा कमाउने उद्देश्य बोकेर विदेश पुगेका थिए ।
उनले त्यहाँ ४ वर्षसम्म लेबर काम गरे । ढुङ्गा, इँटा बोक्नेदेखि सिमेन्ट, गिट्टी, बालुवा मोसेर मसला बनाउनेसम्मको काम गरे । ‘ठूला-ठूला घरहरू बनाउन मैले लेबरको काम गरेँ’, मकरबहादुर भन्छन्, ‘पढाइ नभएपछि त्यहाँ गएर गर्ने भनेको दु:खको काम नै रहेछ ।’ ४ वर्षसम्म कष्टकर जीवन बिताएको उनी सम्झिन्छन् ।
विदेश सोचेजस्तो हुने कुरै भएन । अनेक दु:ख गर्नुपर्यो । विदेशमा उनका सपनाहरू फल्न सकेनन् । तर, जब उनी स्वदेश फर्केर खेती किसानीमा लागे, बालीसँगै उनको खुशी पनि लहलह भइरहेका छन् ।
‘मैले साथीहरूलाई त्यतिबेला नै भनेको थिएँ । यहाँ यत्रो दु:ख गर्नु भन्दा नेपालमै फर्केर ढुङ्गामाथि माटो बोक्छु । अनि, पानी ओसारेर भए पनि धान रोप्छु’, उनले भने ।
उनले त्यतिबेला गरेको वाचा भने अहिले पूरा गरिरहेका छन् । २०६० सालदेखि निरन्तर खेती गरिरहेका छन् । दुई वर्ष यता सबै भन्दा बढी धान फलाउने किसानका रूपमा परिचित भइसकेका छन्, उनी । गाउँमै सबैभन्दा बढी १ सय ७४ मुरी धान फलाएर चकित पारेका छन् । अघिल्लो वर्ष उनले १ सय ६८ मुरी धान फलाएका थिए ।
यसरी मुरीका मुरी धान फलाउने मकरबहादुरको नाममा खेत भने जम्मा दुई रोपनी मात्रै छ । आफ्नो जग्गामा ७ मुरी मात्रै धान फल्ने गरेको उनले सुनाए । १६७ मुरी भने कुत अधियाँ गरेर उत्पादन गरेका हुन् । काम गर्ने पनि मकरबहादुर र श्रीमती पिकि माया मात्रै हुन् । उनी ५७ वर्षका भए भने पिकि माया ६१ वर्षकी भइन । आमा धनमाया तामाङ भने ७८ वर्षमा हिँडिरहेकी छन् ।
धान रोप्न ३९ जना हलीसहित बाउसे, रोपाहार, ब्याडे गरी डेढ सय जनशक्ति प्रयोग गरेको उनी सुनाउँछन् । अघिल्लो वर्षभन्दा यसपटक धेरै धान फलाएका उनले आउँदो वर्ष अझ धेरै फलाएर अहिलेको रेकर्ड तोड्ने योजना बनाएका छन् ।
उनका तीनै जना छोरीहरूको विवाह भइसकेको छ भने जेठा छोरा सुजन र माइला छोरा शरद (भीष्म) साउदीमा छन् । कान्छा छोरा सुजन भने दमकमा कक्षा ११ मा पढ्छन् ।
मकरबहादुरले गत वर्ष पनि गाउँपालिकामा सबैभन्दा धेरै धान फलाएका थिए । उनले लाप्सीबुङ, काब्रेती, खलासाइले, करमबोटे र सिस्ने गरी ५ वटा बेँसीमा धान रोप्छन् । ३ मुरी ६ पाथीको बिउ रोपेको उनले बताए ।
सोही वडाका इन्द्र नारायण आङदेम्बेलाई गत वर्ष उनले कुतबापत २४ मुरी बुझाए । यस पटक भने १२ मुरी मात्रै दिएको उनले बताए । बाढीले कुलो बगाएपछि उनले कुत घटाएका हुन् । भीमबहादुर आङदेम्बेको भने ब्याज मराउनी लगाएका हुन । जसबापत उनले ६० हजार दिए ।
दुवै जनाको खेतबाट ३५/४० मुरी धान फल्छ । कालदास चेम्जोङ, कर्णबहादुर चेम्जोङ, पञ्चबहादुर चेम्जोङको खेत भने अधियाँ कमाउँछन् । फलेको आधा दिने प्रथालाई अधियाँ भनिन्छ । तीनै जनाको जग्गामा १ सय मुरी भन्दा बढी नै फल्ने गरेको मकरबहादुरले सुनाए ।

दु:ख नगर्न भनेर छोराहरूले भने पनि उनले मानेका छैनन् । छोराहरूले कमाएर दमकमा घर बनाएका छन् । बाआमालाई उतै बोलाउँछन् । तर, मकरबहादुरको मन गाउँदै अडिएको छ ।
‘तीनवटै छोराले दु:ख नगर्नु अब दमकमै सँगै बस्नुपर्छ भनेर कराउँछन्’, उनले भने, ‘तर, मलाई यहाँ छोड्न मन नै लागेको छैन । साहुको भए पनि आफ्नै देशमा आफैंले पसिना बगाएर खान पाइएको छ । यो भन्दा मज्जा के हुन्छ र होइन !’
पहिला दु:ख गरेर छोराछोरी हुर्काएको उनी स्मरण गर्छन् । ‘अहिले गाउँमै गाडी कुद्छन् । पहिला बिजोक थियो । छोराहरू आएर दमकमै बसौं, उतै जाऊ भन्छन् । तर हामीलाई यहाँ छोड्न मन छैन । बुबाआमा हजुरआमासहित बसौं भनेर जोड गर्छन् । तर, मलाई यहाँ छोड्न नै मन छैन’ उनले भने ।
उनले उब्रेको धान साहुहरूलाई नै बेच्ने गरेका छन् । खेतबारी बाँझिदै गएको देख्दा मकरबहादुरको मन भतभती पोल्छ । धेरै खेती बाँझिएको र ती बाँझा खेत देख्दा आमा रोइरहेको जस्तो लाग्ने उनी सुनाउँछन् ।
गाउँमा युवा नभएकाले खेती बाँझिने गरेको उनको भनाइ छ। गाउँपालिकाले गत वर्षदेखि सबै भन्दा बढी धान फलाउने किसानलाई ५० हजार पुरस्कार घोषणा गरेको थियो । पालिकाले धेरै धान फलाउनेलाई प्रोत्साहन गर्ने गरेको छ । ‘यसपालि पनि त्यति नै दिन्छु भनेर अध्यक्षज्यूले भन्नु भएको छ । तीन वर्ष दिन्छौं भन्नु भएको छ । हौसला मिलेको छ । बाँझिएका खेतहरूमा पनि यस पटकदेखि धान रोप्ने योजना बनाएको छु । खेताला अभाव भएकाले मात्रै हो । पहिला १० मुरीमा पाउने खेत अहिले ५ मुरीमै पाइन्छ’, उनले भने ।
उनले पहिला विदेशमा कमाएको भन्दा बढी त दूध बेचेर नै कमाएको सगर्व सुनाउँछन् । २ वटा भैँसी पालेका छन् । दुई हल गोरु र एक/एक वटा गाई र राँगा पनि पालेका छन् । बाख्रा, सुँगुर पनि पालेको उनी बताउँछन् । गाउँमै डेरी रहेकाले त्यहीँ दूध बेच्ने गरेको तामाङले सुनाए ।
‘भैँसी नथाक्दा साढे ५ लिटर दूध दैनिक बेच्छु’, उनले भने, ‘दूधको क्रिम निकालेर त्यसलाई जोखेर पैसा दिन्छन् ।’ दैनिक ४ सय आम्दानी हुने गरेको उनले बताए । साउदीमा भने मासिक ५ सय रियाल मात्रै पाउने गरेको उनले स्मरण गरे ।
‘त्यहाँको पैसा त्यतिबेला नेपालको १० हजार हुन्थ्यो । वर्षमा ५०/देखि ६० हजारसम्म बचत हुन्थ्यो । विदेशमा दु:ख गर्नु भन्दा यहीँ त्यत्तिको दु:ख गर्दा कमाइ राम्रै हुँदोरहेछ’, उनले भने ।