
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित तीन जनाको बयान सकिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय कास्कीले मुद्दा अभियोजन गरेसँगै जिल्ला अदालत कास्कीले प्रतिवादीहरूसँग बयान लिइरहेको हो ।
न्यायाधीश नितिज राईको इजलासमा धमाधम बयान भइरहेको छ । अदालतमा रविसँगै उनका पार्टनर एवं गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशी बञ्जाडे र नेटवर्ककै अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईकी प्रेमिका भनिएकी लिला पछाईको बयान सकिएको छ ।
सरकारी वकिल कार्यालयकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेका अनुसार आज प्रतिवादीहरू रामबहादुर खनाल, देवकुमार नेपाली, ओमप्रकाश गुरुङ र कृष्णबहादुर गुरुङको बयान अगाडि बढेको छ ।
आइतबार अदालतमा खनालको बयान शुरू भएको छ । कास्की कारागारमा रहेका कुमार रम्तेल र अर्का एक जनाको बयान लिन अदालतले आवश्यक ठान्यो भने मात्रै उनीहरूको बयान हुने जानकारी काफ्लेले दिइन् ।
बयान लिइएकामध्ये छविले रवि र जीबीलाई दोष लगाएका छन् । रविले जीबी र छविलाई दोष लगाएर उम्कन खोजेका छन् । लीलाले आफूलाई जीबीले भने/गराएअनुसारको काम गरेको बयान अदालतमा दिएकी छिन् ।
न्यायाधीश राईले छवि र रविको सम्पत्ति शुद्धीकरणमा धेरै रकम देखिएपछि त्यसको पुस्ट्याइँ गर्न नसके कारबाहीको भागीदार हुनुपर्ने संकेत गरिरहेका छन् ।
रविले बयानमा ‘सीधा कुरा जनतासँग’ नामक टेलिभिजन सोदेखि सांसद र सरकारमा गएका बेला मन्त्री बनेकोसम्म आफूले कमाएको तलब र पैत्रिक सम्पत्ति लेखाजोखा गर्न न्यायाधीश राईसामु माग गरेका थिए ।
न्यायाधिवक्ता काफ्लेका अनुसार यो साताभित्रै नियन्त्रणमा परेका सबै प्रतिवादीको बयान सकाएर थुनछेक बहस शुरू हुनेछ ।
‘शुरूमा मुख्य प्रतिवादीहरू रवि, छवि र लीलाको बयान सकिइसकेकाले अब अन्य प्रतिवादीहरूको बयान छिटो हुन्छ,’ काफ्लेले लोन्कान्तरसँग भनिन्, ‘भोलि बिदा छ, मंगलबार र बुधबार बयान सकेर बिहीबारबाट थुनछेक बहस हुन्छ होला ।’
सूर्यदर्शन सहकारीको रकम गोरखा मिडियामा लगेर अपचलन गरेको आरोप प्रतिवादीहरूलाई लागेको हो ।
गोरखा मिडियामा सूर्यदर्शनसँगै, कालिमाटीको स्वर्णलक्ष्मी, चितवनको सहारा, पर्साको सानोपाइला र रुपन्देहीको सुप्रिम सहकारीको रकम लगेर अपचलन गरेको आरोप प्रतिवादीहरूमाथि छ ।
सरकारी वकिल कार्यालयले ४४ जनालाई प्रतिवादी बनाएको छ, जसमा सम्पत्ति जफततर्फ छविलाल जोशीकै श्रीमती पद्मा बञ्जाडे जोशी, छविका छोरा रोचक जोशी, रामबहादुर पछाईकी श्रीमती राधा पछाई र रविकी श्रीमती निकिता पैडेललाई प्रतिवादी बनाइएको छ ।
प्रतिवादीहरूले १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ ३ पैसा रकम अपचलन गरेको आरोप छ । उनीहरूले आफूहरूले व्यक्तिगत लागनीसमेत नगरी सहकारी संस्थाको रकम अपचलन गरेर संस्थालाई हानी नोक्सानी गराएको देखिन्छ ।
छविले बयानमा गोरखा मिडिया नेटवर्कको बैंक खातामा रकम जुटाउने कार्य जीबीले गर्ने गरेको र बैंकमा मौज्दात रहेको रकम खर्च गर्ने काम रविले गरेको उल्लेख गरेको छन् । रविले छविको बयानलाई स्वीकार्दै आफूले संस्थाको निर्णयानुसार आफूले चेक काटेर भुक्तानी गर्ने गरेको स्वीकार गरेका छन् ।
कास्की जिल्ला अदालतमा थुनछेक बहस भएसँगै रविलाई थुनामा नपठाई धरौटीमा छाडेको अवस्थामा तत्कालै त्यहाँबाट मुद्दा अभियोजनका लागि रुपन्देही अदालतमा पेश गर्ने तयारी प्रहरीको छ ।
सुप्रिम सहकारीबाट रविका नाममा दुई करोड रुपैयाँ गएको देखिन्छ । अहिले रूपन्देही प्रहरीले रवि, छविलगायतविरुद्ध धमाधम सहकारी ठगीमा अनुसन्धानको मिसिल तयार पारिरहेको छ ।
सरकारी वकिल कार्यालय कास्कीका एक सहन्यायाधिवक्ताका अनुसार प्राप्त प्रमाण अनुसार रवि तत्कालै छुट्ने सम्भावना कल्पना समेत गर्न सकिँदैन ।
ती न्यायाधिवक्ताले लोकान्तरसँग भने, ‘प्रहरीले झण्डै तीन महिना लामो अनुसन्धानबाट संकलन गरेको प्रमाणले प्रतिवादीहरूमध्ये रवि, छवि र जीबी (हाल फरार) उम्कने ठाउँ देखिँदैन, अब न्यायालयको कुरा हो ।’