
नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विगत लामो समयदेखि विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
व्यावसायिक क्रियाकलापहरू सञ्चालन गर्दा कम्पनीले सदैव सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता व्यक्त गर्दै आएको छ ।
कम्पनीले विगतका आर्थिक वर्षहरूदेखि नै सामाजिक उत्तरदायित्वका पुराना कार्यक्रमहरूलाई निरन्तरता दिनुका साथै थप नयाँ कार्यक्रमसमेत गर्दै आएको छ । यस्ता छन् मुख्य कार्यहरू
हरियाली संरक्षण तथा वृक्षारोपण : नेपाल टेलिकमले काठमाडौंको माइतीघरदेखि तीनकुनेसम्मको सडक खण्डमा हरियाली संरक्षण तथा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै आएको थियो । यस अन्तर्गत मौसमी फूलका बिरुवाहरू रोप्ने, रुखहरू तथा दुबो रोप्ने, गोडमेल गर्ने र काँटछाँट गर्ने लगायतका सुन्दरता अभिवृद्धि गर्ने क्रियाकलापहरू सञ्चालन गरिएका थिए ।
विद्यालयमा विभिन्न भौतिक तथा शैक्षिक सामग्री वितरण: नेपाल टेलिकमले निरन्तर रुपमा नेपालभरिका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरूमा फर्निचर, कम्प्युटर, झोला, ट्रयाकसुट लगायतका विभिन्न भौतिक तथा शैक्षिक सामग्रीहरू उपलब्ध गराएको छ ।
साथै देशभरका २० जिल्लाका १/१ सरकारी र सामुदायिक विद्यालयमा महिला स्वास्थ्यमा सहयोग पुग्ने गरी महिला स्वास्थ्य सामग्री Sanitary Pad Vending Machine (With Sanitary Pads) उपलब्ध गराइएको छ ।
वातावरण सरसफाइ : धार्मिक मठ मन्दिर, पुरातात्विक एवं पर्यटकीय स्थल, बसपार्क, सार्वजनिक पार्क तथा बगैंचा लगायतका महत्वपूर्ण सार्वजनिक स्थलहरूमा आवश्यकता बमोजिम डस्टवीन वितरण गरिएको छ ।
वृद्धाश्रम, बाल आश्रम लगायतका संरक्षण स्थलमा सहयोग : सातवटै प्रदेशका वृद्धाश्रम, बाल आश्रम, फरक क्षमता भएका व्यक्तिहरूलाई संरक्षण गर्ने संस्था तथा सामुदायिक केन्द्रहरूमा भोजन एवं न्यानो कपडा र ब्ल्याङ्केट सहयोग गरिएको छ ।
अस्पतालमा बेड कम चेयर वितरण : नेपाल टेलिकमले नेपालको सबैभन्दा पुरानो अस्पताल वीर अस्पताल लगायत अन्य सरकारी तथा सामुदायिक अस्पतालमा आउने बिरामीका कुरुवाहरूले आराम गर्न सहज होस् भन्ने उद्देश्यले बेड कम चेयर उपलब्ध गराएको छ ।
विद्यालयमा इन्टरनेट सेवा : नेपाल टेलिकमले विद्यालयहरूमा पठनपाठन कार्य सहज होस् र विद्यार्थीले इन्टरनेटको सहज प्रयोग गर्न सकून् भन्ने उद्देश्यले FTTH सेवा पुगेका देशभरका विभिन्न १०० वटा सरकारी तथा सामुदायिक विद्यालयहरूमा ५० MBPS गतिको FTTH इन्टरनेट १ वर्षसम्मका लागि निःशुल्क उपलब्ध गराएको छ ।
त्यसैगरी FTTH सेवा नपुगेका ७ वटै प्रदेशका विभिन्न ५० वटा सरकारी तथा सामुदायिक विद्यालयहरूमा १ वर्षसम्मका लागि Namaste Wi-Fi (WBB) राउटर सहितको 4G इन्टरनेट प्याकेज निःशुल्क उपलब्ध गराएको छ ।
एसईई तयारी गरिरहेका विद्यार्थीलाई सहयोग : नेपाल टेलिकमले आउँदै गरेको एसईई परीक्षा तयारी गरिरहेका विद्यार्थीहरूलाई अनलाइन माध्यमबाट नि:शुल्क रूपमा पढ्न पाउने व्यवस्था मिलाएको छ ।
यसका साथै सामाजिक उत्तरदायित्व अन्तर्गतका अन्य कार्यक्रमहरू तपसिल बमोजिम छन्:
-फरक क्षमता भएका व्यक्तिहरूलाई छुट्टै प्याकेज सहितको नि:शुल्क प्रिपेड सिमकार्ड वितरण
-नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण लगायतका संस्थाहरूको सिफारिसमा विभिन्न पर्व, अवसर तथा विपत्तिको समयमा नि:शूल्क कलर रिङ्गटोनको प्रसारण कार्य
-गणतन्त्र दिवस, संविधान दिवस लगायतका पर्व, अभियान, सम्मेलन तथा प्राकृतिक विपद्का समयमा सूचना तथा अन्य जानकारी मूलक सन्देशहरू नि:शुल्क Bulk SMS मार्फत प्रवाह
-गत वर्षको जाजरकोट भूकम्पबाट प्रभावित जनसमुदायको लागि ब्ल्याङ्केट, टेन्ट लगायतका राहत सामग्री उपलब्ध गराइएको
-गत असोजको पहिरो तथा डुबान पीडितहरूलाई राहत वितरण कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग ।