०४ साउन २०८३, सोमबार
सरसर्ती २४ घण्टा

सहकारीमा कालोधन थुप्रिने बाटो बन्द, अखिल क्रान्तिकारीमा उमेर हद विरोधीहरु पराजित

पुस १५, २०८१
काठमाडौं
सहकारीमा कालोधन थुप्रिने बाटो बन्द, अखिल क्रान्तिकारीमा उमेर हद विरोधीहरु पराजित

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
थप एक नेपालीमा मंकीपक्स पुष्टि भएको छ । साउदी अरेबियाबाट आएका ४४ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी गराए ।

गत पुस ५ गते तनहुँका ३६ वर्षीय एक पुरुषमा सङ्क्रमण पुष्टि भएको थियो । उनी पनि साउदी अरेबियाबाटै फर्किएका थिए । यसअघि नेपालमा पहिलो पटक विदेशी नागरिकमा २०८० असार १ गते मङ्किपक्स सङ्क्रमण पुष्टि भएको थियो ।
००००
माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा उमेर हद लगाउनुपर्ने पक्षमा नतिजा आएको छ । ३२ वर्षे उमेर हद लगाउने कि नलगाउने भन्नेबारे निर्णय लिन भएको निर्वाचनमा २१ मतले उमेर हदको पक्षमा नतिजा आएको हो । 

शनिबार निर्वाचन सम्पन्न भएपनि आइतबार सार्वजनिक अन्तिम नतिजा अनुसार उमेर हदको पक्षमा ९०० मत आएकोमा विपक्षमा ८७९ मत मात्रै आयो । यससँगै उमेर हदको विपक्षमा रहेको प्रभावशाली समूह नेतृत्वको रेसबाट आउट भएका छन् ।
००००
काठमाडौँको ताहाचलस्थित राष्ट्रिय किताबखानामा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाई पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार  ३ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो । 

 पेन्सनपट्टा बनाईदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरी निवेदनका आधारमा उनलाई टङ्गालबाट खटिएको अख्तियार टोलीले नियन्त्रणमा लिएको हो ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 

उनको सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ आइसीयुमा उपचार भइरहेको छ। अध्यक्ष प्रचण्ड आइतबार साँझ अस्पताल पुगेर किरणको स्वास्थ्य अवस्थाको जानकारी लिँदै परिवारसित पनि भेट गरेका हुन् ।

 सो क्रममा उपचारमा संलग्न चिकित्सकहरुले उनको छातीमा सङ्क्रमण र दमको समस्या रहेकाले अझै केही समय उपयुक्त वातावरणमा आराम गर्नुपर्ने बताएका थिए।
००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ । 

उनीविरुद्ध १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ बिगो कायम गरी आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अङ्कले घटेको छ ।

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २१.१२ अङ्कले घटेर २६०९.५८ को विन्दुमा बन्द भएको हो ।

आइतबार बजारमा १ करोड १० लाख ९९ हजार २३९ कित्ता शेयरको खरिद बिक्री हुँदा ५ अर्ब ४७ करोड ४८ लाख ६८ हजार रुपैयाँको कारोबार भएको छ । 
००००
राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी अध्यादेश जारी गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,२०८१’ जारी गरेका हुन् ।

नयाँ व्यवस्था अनुसार अब एकभन्दा बढी प्रदेशमा कार्यक्षेत्र रहेका सहकारीलाई ५० लाखसम्म, एक जिल्लाभन्दा बढी कार्यक्षेत्र रहेका सहकारीलाई २५ लाखसम्म र एक जिल्ला मात्र कार्यक्षेत्र रहेका सहकारीलाई १० लाख रुपियाँसम्म बचतको सीमा तोकिएको छ । हाल भइरहेको कारोबारलाई कानुन अनुसार सीमाभित्र ल्याउन दुई वर्षको अवधि तोकिएको छ । 
१० लाख रुपियाँभन्दा बढीको बचतको स्रोत अनिवार्य गरिएको छ । यसअघि बचतमा स्रोत खुलाउनुपर्ने बाध्यता थिएन साथै प्राथमिक पुँजी कोषको १५ प्रतिशतभन्दा बढी रकम प्रवाह गर्न नमिल्ने व्यवस्था गरिएको छ । अध्यादेशले सहकारीमा थुप्रिने कालोधन नियन्त्रण हुने विश्वास गरिएको छ । 
००००
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित तीन जनाको बयान सकिएको छ । 

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले मुद्दा अभियोजन गरेसँगै जिल्ला अदालत कास्कीले प्रतिवादीहरूसँग बयान लिइरहेको हो ।

salt training

कमेन्ट गर्नुहोस्