३० जेठ २०८३, शनिबार

‘बोबाङ गाउँ’ अब विकट छैन

पुस १५, २०८१
बाग्लुङ
‘बोबाङ गाउँ’ अब विकट छैन

जिल्ला सदरमुकाम बागलुङ बजारदेखि झन्डै १०५ किलोमिटर पश्चिममा पर्छ ‘बोबाङ गाउँ’। नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनको प्रवेशद्वारका रूपमा रहेको बोबाङ गाउँ एक दशक अगाडिसम्म निकै विकट मानिन्थ्यो । तर, पछिल्लो समय विकासले गति लिन थालेपछि गाउँको मुहार फेरिएको छ । बाक्लो जनजाति र दलित समुदायको बस्ती रहेको बोबाङ गाउँमा स्थानीय सरकार स्थापनापछि स्वास्थ्य, शिक्षासहितको विकास पनि क्रमिक रूपमा भएको छ ।

ढोरपाटन नगरपालिका–८ र ९ मा पर्ने बोबाङ गाउँ विसं २०६६ मा सडकले जोडिएको थियो । त्यसभन्दा अगाडिसम्म अधिकांश नागरिकले घोडा, खच्चडमा सामान ढुवानी गरेर प्रयोग गर्ने गर्थे । गाउँमा सडक पुगेको थिएन । जसले गर्दा स्थानीयको जनजीवन कष्टकर नै थियो । घुम्ती बसाइँ गर्ने यहाँका स्थानीय बर्खामा ढोरपाटन र हिउँदमा बोबाङमा बस्ने गर्छन् ।

कृषि र पशुपालनबाट जीविकोपार्जन गर्दै आएका उनीहरूको जीवनशैली अहिले बदलिएको छ । १५ वर्ष अगाडि बोबाङ गाउँमा सडक पुगे पनि लामो समयसम्म यातायात सञ्चालन हुन सकेको थिएन । पछिल्लो समय कच्ची सडक भए पनि दैनिक यातायात सञ्चालन हुने गर्छन् । 

सडकले गाउँसँगै हजारौँ नागरिकको जीवनशैली बदली दिएको स्थानीय ७६ वर्षीय तमबहादुर कायतले बताउनुभयो । आफूले बोबाङ गाउँ यसरी परिवर्तन होला भन्ने कल्पना नगरेको उनको भनाइ छ । कायतले सडकले गाउँमा ठूलो परिवर्तन लिएको बताए । 

'हामी त गाईभैँसी र खेतीपाती गरेर जीवन धान्यौँ, अहिलेजस्तो सडक थिएन, गाडी चल्दैनथे, नुन, तेल र चामल ल्याउन बुटवल पुग्नुपर्थ्यो, बुटवल पुग्न १२ दिन लाग्थ्यो, अहिले घरमै सबैथोक आउँछ, उति बेला पढ्ने चलन थिएन, अहिले त गाउँमा हाई स्कुल बनेको छ, बसै बालबालिकाले पढ्न पाएका छन्, हामीहरू त न पढ्न पायौँ, न बिमार लाग्दा उपचार पायौं,' उनले भने । 

स्थानीय कुलबहादुर सुनारले सडकले बोबाङ गाउँलाई बजारसँग सिधा जोड्दा विकासले गति लिएको बताए । पहिले गाउँमा कोही बिरामी हुँदा डोकोमा बोकेर दिनभर लगाएर अस्पताल पुर्‍याएको स्मरण गर्दै अहिले टोलमै स्वास्थ्य संस्था सञ्चालनमा आएको उनको भनाइ छ । ढोरपाटन जाँदाआउँदा घोडामा चढ्नुपर्ने बाध्यता हटेको भन्दै अहिले दैनिक गाडी चल्दा आलु, स्याउ, सिमी र अन्य उत्पादन बजारमा पुर्‍याउन सहज भएको सुनार बताए । 

राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको बीचमा पर्ने बोबाङ गाउँमा पछिल्लो समय धमाधम पक्की घर भवनसमेत बन्दै गएका छन् । जिल्लाको सुदूरपश्चिम मानिने यस गाउँमा सडक आएपछि नागरिकको जीवनस्तरसमेत फेरिएको ढोरपाटन नगरपालिका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले बताए । अब यहाँका नागरिकलाई आयआर्जनसँग जोड्ने खालको कार्यक्रम ल्याउने र आत्मनिभर बनाउनतर्फ लाग्ने कायतले बताए । पहिले विकट भनेर कर्मचारीसमेत आउन नमान्ने ठाउँमा अहिले धेरैको रोजाइमा पर्ने गरेको उनको भनाइ छ । रासस

salt training

कमेन्ट गर्नुहोस्