०७ साउन २०८३, बिहीबार

सरकार विकास र समृद्धिका पक्षमा लागिरहेको छ : शंखर पोखरेल

पुस १५, २०८१
दाङ
सरकार विकास र समृद्धिका पक्षमा लागिरहेको छ : शंखर पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक स्थिरतासहित देश विकासका पक्षमा एमाले र नेपाली कांग्रेस जस्ता दुई ठूला राजनीतिक दल मिलेर सरकार गठन भएको बताएका छन् । 

एमाले दाङको प्रचार तथा प्रकाशन विभागले नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी, केन्द्रीय पार्षद्, प्रदेश पार्षद् तथा सदस्यहरूको सम्मानमा सोमबार घोराहीमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले मुलुकमा राजनीतिक स्थिरता, अर्थतन्त्र सुधार र सुशासनका पक्षमा काम गरिरहेको सरकारलाई साथ दिन सबैसँग अनुरोध गरे । 

देशमा अराजकता र बेथिति चाहनेहरूबाट सरकारको भविष्यका बारेमा अनावश्यक टीकाटिप्पणी हुनुलाई बेमौसमी बाजाको संज्ञा दिँदै उनले सरकारको विरोध गर्नुको सट्टा रचनात्मक सहयोग गरी देश र जनताको पक्षमा उभिन सम्बद्ध पक्षको ध्यानाकर्षण गरे । 

‘राजनीतिक अस्थिरताका कारण मुलुकको विकास निर्माण तथा आर्थिक पक्ष प्रभावित भएको छ, यस अवस्थामा अपेक्षा गरिए अनुसारको परिणाम आउन केही समय लाग्छ’, महासचिव पोखरेलले भने, ‘यो सरकार बनेपछि अहिले विकास निर्माणले लय लिन थालेको छ । धैर्य गरौं, अर्थतन्त्रमा सुधारसहित विकास–निर्माणले गति लिनेछ ।’

बैंकको ब्याजदर घटे पनि आर्थिक तरलता बढेको तथा लगानी गर्न व्यवसायी उत्साहित नभएको प्रसंग उल्लेख गर्दै महासचिव पोखरेलले भने, ‘ढुक्कसँग लगानी गर्नुहोस्, व्यवसायी तथा उद्यमीको पक्षमा सहयोग गर्न एमाले र कांग्रेस मिलेर बनेको यो सरकार तयार छ ।’

देश विकास र सुशासनका लागि अब कुन–कुन विषयमा कानून बनाउनुपर्ने हो त्यसको पहिचान गरी प्राथमिकताका साथ बनाइने पोखरेलले बताए । शासकीय सुधारका पक्षमा ६ सदस्यीय कमिटीले काम गरिरहेको पोखरेलले सुनाए ।

‘आवश्यक संयन्त्रको व्यवस्थासहित ऐन, कानून निर्माण गरी आर्थिक अपचलन तथा भ्रष्टाचार अन्त्य र सुशासनका पक्षमा काम गरिरहेको सरकारलाई सहयोग गर्ने दायित्व हामी सबैको हो’, पोखरेलले भने । 

salt training

कमेन्ट गर्नुहोस्