०५ साउन २०८३, मंगलबार

सडकलाई आर्थिक समृद्धिसँग जोडौं : मन्त्री दाहाल

पुस १५, २०८१
काठमाडौं
सडकलाई आर्थिक समृद्धिसँग जोडौं : मन्त्री दाहाल

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक तथा संरचनाहरूलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताएका छन्। 

सडक बोर्ड नेपालको २२औं स्थापना दिवसका अवसरमा सोमबार बोर्डमा आयोजित कार्यक्रममा उनले सडक तथा पूर्वाधारलाई आर्थिक समृद्धिसँग जोड्न आवश्यक रहेको बताएका हुन् ।

अब बन्ने संरचनाहरूले देशको समृद्धि यात्रामा कति महत्त्व राख्छन् भन्ने विषयलाई ध्यान दिन जरुरी रहेको उनको भनाइ छ । 

नेपाल अझै पनि विकास निर्माणकै चरणमा रहेको उल्लेख गर्दै मन्त्री दाहालले अब बन्ने संरचनाहरूलाई दिगो, सुरक्षित र उपयोगी बनाउनेतर्फ ध्यान दिनुपर्ने बताए । जनजीविका, राजस्व संकलन, आर्थिक क्रियाकलाप तथा वृहत् जनसङ्ख्या र भूगोललाई प्रत्यक्ष फाइदा पुर्‍याउने योजनाहरूमा मन्त्रालयले प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री दाहालले अब कुनै पनि संरचना निर्माण गर्दा प्राथमिकता निर्धारण गर्नुपर्ने बताए । 

कार्यक्रममा मन्त्री दाहालले सडक बोर्ड अन्तर्गतका रुग्ण ठेक्काहरूको शीघ्र व्यवस्थापन गर्न निर्देशन दिँदै सडक मर्मतसँगै अनुगमनलाई समेत प्रभावकारी बनाउन आग्रह गरे । 

त्यसअवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले आर्थिक वृद्धिको प्रमुख आधार सडकसमेत भएकाले आर्थिक विकास र वृद्धिलाई सहयोग पुग्नेगरी सडक सञ्जाल विस्तार गर्नुपर्ने बताए । 

पूर्वाधारमा गरिएको लगानीले दीर्घकालीन प्रतिफल दिने भएकाले कुनै पनि पूर्वाधार तथा संरचना निर्माण गर्दा स्थायित्व र गुणस्तरमा पनि ध्यान दिनुपर्नेमा उनले जोड दिए । 

बोर्डका कार्यकारी निर्देशक गणेश केसीले बोर्डलाई स्वायत्त बनाउनेतर्फ सरकारको ध्यान जानुपर्ने बताएका थिए भने कार्यक्रममा बोर्डका पूर्वसदस्यहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोर्डको गत आर्थिक वर्षको प्रतिवेदन सार्वजनिक गरिएको थियो ।    

salt training

कमेन्ट गर्नुहोस्