
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शेरा दरबारको जग्गा प्रकरणमा पार्टी नेतृत्वलाई जोडेको भन्दै आपत्ति जनाएका छन् ।
झापाको गौरीगञ्ज गाउँपालिकामा आयोजित खबरदारीसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले १२/१५ वर्षअघि पार्टी छाडेका व्यक्तिसँग जोडेको भन्दै आपत्ति जनाएका हुन् ।
‘हाम्रो सुशासनको आन्दोलन तुहाउने षड्यन्त्र स्वरूप १२/१५ वर्षअघि पार्टी छाडेका व्यक्तिसँग जोडेर शेरा दरबारको जग्गामा पार्टी नेतृत्वलाई जोड्न थालिएको छ, शेरा दरबारको जग्गा सार्वजनिक हो भने तत्काल सरकारको मातहतमा ल्याऊ, हाम्रो पूर्ण साथ रहने छ, अन्यथा यसरी प्रायोजित प्रचार गर्नुको कुनै अर्थ हुने छैन,’ उनले भने ।
भ्रष्टाचारविरोधी अभियान आफ्नो अभीष्ट रहेको उनले बताए । ‘प्रधानमन्त्री हुँदा मैले अनुसन्धान अधिकारीहरूलाई भनेको थिएँ, भ्रष्टाचारीलाई खोज्दै जाँदा कतै प्रचण्ड आयो भने पनि नछाड्नू । अहिले पनि भन्न चाहन्छु, यदि भ्रष्टाचारका मुद्दामा हाम्रा पार्टीका नेताहरू जोडिन्छन् भने छाडिने छैन,’ उनले भने ।