१४ असार २०८३, आइतबार

सरकार विरुद्ध सडकमा उत्रने वर्षमानको चेतावनी

पुस १५, २०८१
काठमाडौं
सरकार विरुद्ध सडकमा उत्रने वर्षमानको चेतावनी

 नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान कांग्रेस–एमालेको सरकारले सही काम नगरेमा माओवादी केन्द्र जनताको एजेण्डा बोकेर सडकमा जाने बताएका छन् ।

 वर्तमान सरकार जनताको चाहाना पूरा गर्न भन्दा पनि विचौलिया, भ्रष्टाचारी र सुशासनका बाधकहरुको रुची अनुसार बनेको दावी गरेका उनले राष्ट्रियता र जनतन्त्रका मुद्दालाई नजरअन्दाज गरेमा सरकार विरुद्ध माओवादी सडकमा उत्रने चेतावनी दिए । 

माओवादी केन्द्र पूठान जिल्ला, नौबाहिनी गाउँपालिकाको तेस्रो अधिबेशनमा बोल्दै उनले भने, ‘देउवा बालकोट पुगेर नक्कली भुटानी शरणार्थी काण्डमा ‘जसरी हुन्छ बचाउनुस् प्रधानमन्त्री खानुस भनेर ओलीलाई अफर गरे, बेचन झाहरु पक्राउ परेपछि जसरी हुन्छ हामीलाई बचाउनु प्रधानमन्त्री लिनु भन्ने अफर भयो । बालकोटमा पनि एउटा तरंग भइरहेको थियो । त्यसपछि राताराग गठबन्धन बन्यो । सुशासनको अभियान कमजोर बनाउन, विचौलियाहरुको डिजाइनमा सरकार बनाए ।’
 
पूर्व अर्थमन्त्रीसमेत रहेका उपमहासचिव पुनले सरकार छोड्दा आफूहरुलाई कुनै चिन्ता नभएको र ८४ सालसम्म माओवादी सरकारमा पनि नजाने बताए । 

सुशासनको विपक्षमा गठबन्धन र सरकार बनाएकै कारण उपनिर्वाचनमा जनताले कांग्रेस–एमालेलाई दण्डित गरेको र आगामी चुनावमा यो अझ बढ्ने उनले दावी गरेका छन् । पत्रकार महासंघको चुनावमा देखिएको जनमतले पनि माओवादीप्रति आम जनता तथा बौद्धिक वर्गमा समेत आकर्षण देखिएको उनले विश्लेषण सुनाए ।

आगामी चुनावमा कांग्रेस एमालेसँग नभई जनताको एजेण्डा लिएर जनताकै कित्ताबाट एक्लै चुनाव लड्ने उनको भनाई थियो । वर्तमान उपनिर्वाचन र पत्रकार महासंघको चुनावले माओवादीलाई त्यो सन्देश दिएको र यो माओवादीको नीति र नेतृत्वको सफलता भएको उनले व्याख्या गरे ।

salt training

कमेन्ट गर्नुहोस्