
पछिल्ला दिनमा चिसो बढेपछि तराई-मधेशको जनजीवन प्रभावित बनेको छ । जलेश्वर नगरपालिका–८ का ८० वर्षीय बहादुर महराले केही दिनदेखि चिसो बढेको बताए ।
शीतलहर र बाक्लो कुहिरोका कारण चौपाया, पशुपक्षी तथा बालीनालीलाई असर पुर्याएको उनले बताए । जलेश्वर–४ का किसान अनिल साहले शीतलहरले दैनिकीमा समस्या परेको गुनासो गरे । चिसोकै कारण अहिले सदरमुकाम जलेश्वरसहित जिल्लाका सहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ ।
जिल्लाको विभिन्न बजारमा बाक्लो कपडा बिक्री बढेको छ भने चिसोकै कारण जिल्लाको हाटबजारमा मानिसको उपस्थिति न्यून भएको छ । चिसो बढेपछि चियाको व्यापार बढेको जलेश्वर–२ का चिया व्यापारी सुरेश साहले बताए ।
चिसोकै कारण स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा विभिन्न किसिमका बिरामीको सङ्ख्यामा वृद्धि भएको चिकित्सक बताउँछन् । लगातार बढ्दै गएको चिसोले बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिला बढी प्रभावित हुने डा रवीन्द्र साहले जानकारी दिए ।