
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
आफ्नो जीवनको ऊर्जाशील समय खर्चिएको पार्टी नेकपा एमालेबाट निकालिएका भीम रावलको अबको कदम के होला भन्ने सर्वत्र चासो छ । अनुशासनविपरीत काम गरेको निष्कर्षसहित एमाले सचिवालय बैठकले पुस १० गते रावललाई पार्टीबाट निकालेको थियो ।
वर्षौं काम गरेको पार्टीबाट एउटै निर्णयले निकालिनुलाई निरकुंशता भन्दै रावलले पहिलो चरणमा आफू निकटका नेता–कार्यकर्तासँग संवाद गर्ने विषयलाई प्राथमिकतामा राखेका छन् । यसबीचमा उनले नेपाली कांग्रेस बीपीका कर्ण मल्ल लगायतलाई पनि भेटेका छन् ।
तत्काल पार्टी खोल्न लागेको भन्ने चर्चालाई भने उनका निकटस्थहरू अस्वीकार गर्छन् ।
रावल स्वयंले पनि यस विषयमा अहिले कुनै टिप्पणी नगर्ने बताए । ‘म अहिले केही बोल्दिनँ,’ रावलले भने, ‘केही दिनपछि आफ्ना कुरा राख्छु ।’
साधारण सदस्य समेत नरहने गरी कारबाहीमा परेका रावलले बुधबार पत्रकार सम्मेलन राखेका छन् । त्यहीँबाट पार्टी घोषणा गर्ने तयारी भएको भनेर हल्ला चले पनि उनका स्वकीय सचिव गोविन्द दुवाल हतारमा निर्णय लिइहाल्ने मनस्थितिमा रावल नरहेको बताउँछन् ।
एमालेबाटै विभाजन भएर बनेको नेकपा एसले प्रस्ताव गरे पनि रावलले उक्त पार्टीमा नजाने बताएका छन् । स्वकीय सचिवालयका अनुसार एमालेले कारबाही गरेपछि उनलाई भेट्न आउने भीड लागेको छ ।
‘कारबाहीपछि उहाँसँग भेट गर्न आउने र साथ दिन्छौं भन्नेको बाक्लो भीड छ । यसैले भावी रणनीति तय गर्न उहाँ आन्तरिक छलफलमा जुट्नुभएको छ,’ दुवालले भने, ‘कसरी अगाडि बढ्ने भनेर एक्लै होइन, सल्लाहमा निर्णय गर्छु भन्नुभएको छ ।’
००००
अवकाश हुन एक साता बाँकी छँदा सशस्त्र प्रहरी बल नेपालका नायब महानिरीक्षक (डीआईजी)हरू पदावधि लम्ब्याउन दौडधूपमा लागेका छन् ।
डीआईजीहरू क्रमशः गणेश ठाडा मगर, कमल गिरी, शम्भु सुवेदी र कुलबहादुर नेम्वाङ पदावधि लम्ब्याउने कसरतमा लागेका हुन् । चारैजना पुस २३ गते अनिवार्य अवकाशमा जाँदै छन् ।
ठाडामगर बागमती प्रदेशको बाहिनीपति, गिरी सशस्त्र प्रहरी बलको प्रशिक्षण प्रमुख, सुवेदी कोशीको बाहिनीपति र नेम्वाङ गण्डकी प्रदेशको बाहिनीपति छन् ।
पछिल्लो साता चारैजना डीआईजीहरू कार्यक्षेत्र छाडेर पदावधि लम्ब्याउन राजनीतिक लबिङमा लागेका छन् । यसको सुईंको पाएपछि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उनीहरूलाई राजनीतिक दौडधूप नगर्न चेतावनी दिएको उच्च स्रोत बताउँछ ।
००००
भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले आफ्नो दोस्रो कार्यकाल शुरू गरेका छन् । उनले सोमबारदेखि नयाँ दिल्लीस्थित दूतावासमा कार्यभार सम्हालेका हुन् । शर्मालाई दूतावासका कर्मचारीहरूले स्वागत गरे ।
००००
चिसोका कारण अस्पतालहरुमा बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्ला दिनहरुमा चिसोका कारण हुने रोगको समस्या लिएर अस्पताल आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको हो ।
मुख्यगरी अस्पतालका मेडिसिन, बालरोग र हाडजोर्नी विभागमा यस्ता बिरामीको सङ्ख्या धेरै छ । अस्पतालहरुमा बिरामीको चाप बढ्दै गएपछि चिकित्सकले चिसोबाट बच्न आग्रह गरेका छन् ।
००००
अखिल क्रान्तिकारीका फ्राक्सन इन्चार्ज हिमाल शर्माले संगठनभित्र ३२ बर्से उमेर हद कायम हुनु कसैको जितहार नभएको बताएका छन् । बरु यसले राजनीति वृत्तमा नयाँ मुद्दा स्थापित गराएको उनको भनाइ छ ।
‘विद्यार्थी आन्दोलनमा यो एउटा ऐतिहासिक परिघटना हो । सङ्गठन भित्र कसैको हारजित होइन । यस घटनाले हाम्रो पार्टी लगायत राजनीतिक वृत्तमा एउटा नयाँ तरङ्ग ल्याएको छ’, उनले सोमबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत बताएका छन् ।
००००
पोखरामा आयोजना गरिएको दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’को उपाधिमा चिनियाँ खेलाडीले वर्चश्व कायम गरेका छन् ।
पोखराको फेवातालमा सोमबार सम्पन्न दुई सय र पाँच सय मिटर दौडको फाइनलमा चीनको डोङग्वान लाओयु क्लबले दोहोरो उपाधि हात पारेको हो । दोहोरो उपाधिसँगै उसले १० हजार डलर पुरस्कार पायो ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रप्रति जनताको भरोसा बढ्दै गएको बताएका छन् ।
झापाको गौरीगञ्जमा माओवादी केन्द्रले ‘तमु ल्होसार’को अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा पार्टीको दोस्रो गाउँ सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
यसैगरी प्रचण्डले शेरा दरबारको जग्गा प्रकरणमा पार्टी नेतृत्वलाई जोडेको भन्दै आपत्ति पनि जनाएका छन् ।