
गोरखा, २९ कात्तिक— नयाँ शक्ति पार्टी, नेपालका संयोजक तथा गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले लगाएको आरोपको प्रतिवाद गरेका छन् । 
ओली र प्रचण्डले आज पालुङटारमा आयोजित कार्यक्रममा भट्टराईसँग गोरखाली जनतासँग भोट माग्ने नैतिक अधिकारी पनि नभएको भन्दै कडा आलोचना गरेका थिए ।
सोलगत्तै गोरखा नगरपालिकास्थित रानीटारमा आयोजित चुनावी सभामा बोल्दै भट्टराईले प्रचण्ड र ओलीको आरोपको प्रतिवाद गरेका हुन् ।
उनले आफूलाई आलोचना गर्न प्रचण्ड र ओली हेलिकप्टरमा आएको भन्दै जनताले असली रुपलाई चिनेको बताए ।
‘जनतासँगै हिँड्ने, बस्ने सुखदुःखमा सँगै हुने, विकास निर्माणका काम गर्ने मलाई रोज्ने कि हेलिकप्टर चढेर आएर अरुलाई गाली मात्रै गर्ने लालबादशाहलाई रोज्ने?’, आक्रोश व्यक्त गर्दै भट्टराईले भने, ‘मलाई त कर्कलो भन्नुभएछ अनि बञ्चरो लाउन पर्दैन भन्नुभएछ । अनि उहाँहरु सबै मिलेर मलाई गाली गर्न हेलिकप्टरमा आउनुभएछ । भनेपछि उहाँहरू सबै मिल्दा पनि बञ्चरो पनि हुनुहुँदोरहेनछ ।’
गोरखा २ मा नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ वाम गठबन्धनबाट उम्मेदवार रहेका छन् । त्यहाँ दुई हाइप्रोफाइलको उम्मेदवारी परेपछि दुबैपक्ष आरोप प्रत्यारोपमा उत्रिएका छन् ।