२४ असार २०८३, बुधबार

अनुगमनको विषयलाई लिएर ग्रामथानमा विवाद, बहुमत र अल्पमतको खेल चर्किँदै !

पुस १६, २०८१
विराटनगर
अनुगमनको विषयलाई लिएर ग्रामथानमा विवाद, बहुमत र अल्पमतको खेल चर्किँदै !
पत्रकार सम्मेलनमा ग्रामथान गाउँपालिका अध्यक्ष नमोनारायण माझी ।

मोरङको ग्रामथान गाउँपालिकामा खोला उत्खनन्‌को विषयलाई लिएर विवाद देखिएको छ । नहरको माटो अवैध उत्खनन् गरिएको विषयमा देखिएको विवाद उग्र बन्दै गएको हो  । उत्खनन् भएको स्थान ग्रामथान १ र २ को सिमाना क्षेत्र हो ।

अध्यक्ष नमोनारायण माझी काठमाडौं गएका बेला उपाध्यक्ष गुणावती देवी थारु र प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेलले त्यसको अनुगमन गरेका थिए । 

‘सुनसरी-मोरङ नहरको शाखा नहर तथा कुलोहरूमा अवैध उत्खनन् भएको गुनासो आएपछि अनुगमन गरेका थियौं’, प्रमुख प्रशासकीय अधिकृत पौडेलले भने ‘अनुगमन गरेर आएपछि उत्खनन् रोक्न झोराहाट प्रहरीलाई पत्र लेखेका हौं ।’ 

पत्र लेखेपछि अध्यक्ष माझीले प्रहरीलाई किन पत्र लखिएको भन्दै स्पष्टीकरण सोधेका थिए । त्यसपछि विवाद सतहमा आएको हो । प्रमुख प्रशासकीय अधिकृत पौडेलले पुस ८ गते प्रहरीलाई पत्र लेखेका थिए । सोही पत्रको विषयलाई लिएर अध्यक्ष माझीले पौडेललाई पुस ११ गते स्पष्टीकरण सोधेका थिए । 

स्पष्टीकरण सोधिएको विषयमा सामाजिक सञ्जालमा अध्यक्षको विरोध भएपछि उनले पत्रकार सम्मेलन गरेर आफ्नो धारणा समेत र्साजनिक गरेका छन् । 

मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरेर अध्यक्ष माझीले आफूसँग सरसल्लाह नगरी अनुगमन गरिएको बताए । 

‘त्यहाँ नहरको व्यवस्थापनको समिति पनि छ । त्यो समितिलाई पनि थाहा छैन । म त्यहाँको कार्यकारी प्रमुख हो । उत्खनन् रोक्न पत्राचार गर्दा मलाई सोधिएको छैन’, उनले भने । 

उनले उत्खनन् भने नरोकिने बताए । अनुमगन गर्ने अधिकार उपप्रमुखको हुन्छ । उक्त नहर भने सुनसरी-मोरङ सिचाइ आयोजनाले हेर्छ । उसले उत्खनन् गर्न अनुमति दिएको/नदिएको बारेमा समेत पालिकालाई जानकारी छैन । 

अनुगमन गर्न जाँदा स्काभेटर नै  प्रयोग गरेर माटो उत्खनन् गरी अन्यत्र लागेको देखेपछि रोक्न पत्र पठाएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।  उत्खनन् गर्न अनुमति दिएको/नदिएको भन्ने बारेमा भने जानकारी नभएको उनले बताए । 

गाउँपालिका उपाध्यक्ष थारुले पनि अनुगमनमा जाँदा जथाभावी उत्खनन् देखेपछि रोक्न पत्राचार गरिएको दाबी गरिन् । 

नमोनारायण गत मंसिर १६ गतेको उपनिर्वाचनमा माओवादी केन्द्रको तर्फबाट निर्वाचित भएका हुन् । गाउँ कार्यपालिकामा माओवादीसँग बहुमत नभएपछि पेल्ने योजनामा उपाध्यक्षसहितका बहुमत जनप्रतिनिधि लागेपछि विवाद उत्पन्न भएको स्रोतको दाबी छ । 

कार्यपालिकामा माओवादीबाट अध्यक्ष माझी र ५ नम्बर वडा अध्यक्ष भेषनारायण चौधरी मात्रै छन् । उपाध्यक्ष थारू एमालेकी हुन । कार्यपालिकामा बहुमत पनि एमाले-कांग्रेसकै छ । बहुमत नभएपछि अध्यक्ष माझी कार्यपालिका बैठक लाइभ गर्ने तयारीमा छन् । पुस २२ गते तय भएको कार्यपालिका बैठक लाइभ गर्ने उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्