
काठमाडौँ, २९ कात्तिक- नीजगढ, पालुङटार, लुम्बीनी, धनकुटा, मिर्चैया, चन्द्रपुर काभ्रे उपत्यका, भरतपुर वालिङ, तुलसीपुर जस्ता स्थानमा स्मार्टसिटी निर्माणको काम अघि बढाइने भएको छ ।
बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहरी विकास मन्त्री दिलनाथ गिरीले सो कुराको जानकारी दिएका हुन् |
चक्रपथ निर्माणको चर्चा चलेको १० वर्षअछि मन्त्रालयले ७२ किलोमिटर लामो चक्रपथ निर्माणको प्रक्रिया पनि अघि बढाएको जनाएको छ । ७२ किलोमिटर बाहिरी चक्रपथमध्ये ६.६ किलोमिटर दूरीको सतुंगल–चोभारको डिपीआर नीतिगत प्रक्रियामा गएको गिरीले जानकारी दिए ।
बाहिरी चक्रपथ उपत्यकाका तीनै जिल्ला जोड्ने सरकारको महत्वकांक्षी परियोजना हो । यो चक्रपथ निर्माण गर्न सरकारले चालू आर्थिक वर्षमा १० करोड बजेट निनियोजन गरेको छ ।
मन्त्री गिरीले यो परियोजनालाई आफूले निकै महत्वका साथ अघि बढाउन लागेको बताउँदै चक्रपथको सडक ५० मिटरको हुने जानकारी दिए ।
यस्तै मन्त्रायलले विराटनगर–इटहरी–धरान, बुटवल–भैरहवा, कपिलबस्तु–लुम्बीनी, पोखरा–दमौली– वीरगञ्ज–सीमरा–पथलैया, हेटौडा–भरतपुर–बर्दघाट, नेपालगञ्ज–कोहलपुर तथा धनगढी गोदावरी जस्ता स्थानमा मेगासिटी निर्माणका लागि अध्ययन सुरु गरेको पनि मन्त्री गिरीले जानकारी दिए ।
यसैगरी ९० वटा नगरपालिकामा शहरी योजना निर्माण गर्ने, शहरी क्षेत्र पुनरुत्थान कार्यक्रम, पुराना बस्ती पुनरुत्थान जस्ता कार्यक्रम पनि मन्त्रालयले अघि सारेको छ ।
यस्तै हाल १८ जिल्लामा एक शहर एक पहिचान पूर्वाधार विकास कार्यक्रम, तराईका १८ नगरपालिकामा पूर्वाधार विकास कार्यक्रम पनि सञ्चालनमा रहेको मन्त्रालयले जनाएको छ ।