
नुवाकोटस्थित शेरादरबार जग्गा प्रकरणमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम किन जोडियो ? यस सम्बन्धमा पार्टी प्रवक्ता अग्नि सापकोटाले खण्डन गर्दै हिँड्नुपरेको छ । पूर्व स्वकीय सचिव विकेश श्रेष्ठलाई अध्यक्ष प्रचण्डसँग जोडेर उक्त जग्गा प्रकरण बाहिरिएपछि माओवादी नेताहरूले यसको खण्डन गरिरहेका छन् ।
स्वयं प्रचण्डले पनि सोमवार झापा पुगेर १२/१५ वर्ष अघि पार्टी छाडेका व्यक्तिलाई जोडेर पार्टी नेतृत्वलाई आक्षेप लगाउन थालिएको बताएका थिए ।
यसका मुख्य पात्र विकेश यतिखेर पार्टीको कुनै जिम्मेवारीमा नरहेको भनेर प्रचण्डलाई चोख्याउने प्रयास भइरहेको छ । यो प्रकरणमा ‘हेडक्वार्टर’ अर्थात् प्रचण्डको नाम किन जोडियो ? नालीबेली खोतल्दा धेरै पात्रहरू जोडिन्छन् ।
माओवादी अध्यक्ष प्रचण्ड कानूनीरूपमा उक्त जग्गा प्रकरणमा कहीँ कतै जोडिँदैनन् । तर, जग्गा खरिद गर्न प्रचण्ड निवासबाट विकेशले कसरी पैसा लिएका थिए भन्ने बेलीविस्तार लामै छ । शेरादरबारको जग्गा खरिद गर्न प्रचण्ड परिवारबाट नगदै गएको स्रोतको दाबी छ ।
प्रचण्ड परिवारसँग विकेशको झाङ्गिएको पारिवारिक सम्बन्ध, स्वकीय सचिव, पार्टी कार्यालय सचिव रहेकै बेला शेरादरबार जग्गा खरिद प्रकरण शुरू भएको देखिन्छ । शेरादरबारको जग्गा प्राप्तिपछि एकाएक प्रचण्डसँग सम्पर्कविहीन भएका विकेश १२ वर्षदेखि पार्टीबाट अलग भएको पनि साँचो हो । उनी प्रचण्ड नेतृत्वको माओवादीमा छैनन् ।
मकवानपुरमा जन्मिएर कैलालीको टीकापुरमा घरबास गरेका विकेश सोझा कार्यकर्ताभित्रै पर्थे ।

विकेश त्यस्तो करोडौं पर्ने शेरादरबारको जग्गा किन्न सक्ने हैसियतका व्यक्ति हैनन् । निकटस्थहरूका अनुसार उनी ऐलानी जग्गा खोज्दै मकवानपुरबाट टीकापुर पुगेका थिए । तत्कालीन ‘मोटो मशाल’मा सेक्टर काण्डलगत्तै ‘कमरेड नेतृत्व तपाईंले लिनुपर्छ’ भनेर पत्र लेखेपछि विकेश प्रचण्ड परिवारसँग नजिकिएका थिए । सम्बन्ध यतिसम्म झाङ्गियो कि प्रचण्डपत्नी सीताले विकेशको विवाहसमेत गराइदिएकी थिइन् ।
चितवनमा प्रचण्डपत्नी सीता दाहालको नजिककी एक शिक्षिका श्रीमानसँग सम्बन्धविच्छेद गरेर बसेकी थिइन् । माओवादीले सशस्त्र संघर्षको तयारी गर्दै थियो । त्यहीबेला जन्मथलो मकवानपुर भएका विकेश पार्टी कामको शिलशिलामा कैलालीबाट चितवन आइपुगे ।
त्यही मौकामा सीता दाहालले विकेश र ती शिक्षिकाबीच विवाह गरिदिइन् । त्यसपछि विकेश प्रचण्ड परिवारसँग अझै नजिक भए । प्रचण्ड परिवारसँगको निकटतालाई विकेशले युद्धकालभर र शान्ति प्रक्रियामा आएपछि कायम राखे । सोही कारण उनी प्रचण्डको स्वकीय सचिव बनेका थिए ।
प्रचण्डको सचिवालयमा सेन्ट्रो कार चढ्ने शायद पहिलो व्यक्ति विकेश नै थिए । विकेश उक्त कार कसरी चढे भन्ने विषयमा पार्टीपंक्ति र प्रचण्ड परिवारमा छलफल चलेको थियो । सेन्ट्रो कारबारे चासो राख्दै सीता दाहालले विकेशलाई भनेकी थिइन्– ‘भतिज (प्रकाश दाहाल)ले कार चढ्ने रहर गर्यो, के गर्ने ?’ सीताको प्रश्नपछि विकेशले उक्त कार प्रकाशलाई नै जिम्मा लगाए । प्रकाशले सोही कार चलाउन सिकेर पहिलोपटक प्रयोगमा ल्याएका थिए । त्यो कार कसरी आयो भन्ने भएपछि विकेशलाई अध्यक्ष प्रचण्डको स्वकीय सचिवालयबाट हटाएर पार्टी कार्यालय पेरिसडाँडामा सारियो ।

सीता दाहालले विकेशलाई अति विश्वास र माया गर्थिन् । ‘यिनी (विकेश–प्रकाश)हरूले अब के गरी खालान् भनेर चिन्ता गरिराख्थिन् । त्यही मौका (२०६८/०६९)मा पार्टी कार्यालयमा विकेशको सम्पर्क अखिल नेपाल राष्ट्रिय उद्योग संघका केन्द्रीय अध्यक्ष तथा पार्टीको उद्योग वाणिज्य विभागका प्रमुख केबी रोकासँग भयो । बागलुङका रोका नेकपा (मसाल)बाट विभाजित भई बनेको नेकपा (एकीकृत) हुँदै माओवादीमा समाहित भएका थिए ।
नेपाल र भारतमा उद्योग र व्यापारका लागि लामै अनुभव भएका तथा ठक्कर खाएका केबी रोकाले शेरादरबारको परियोजना सम्बन्धमा विकेशलाई सुनाए । रोकालाई शेरादरबारको परियोजना जग्गा व्यवसायी गणेश खाइजुले सुनाएका थिए । फार्म हाउस भएकाले एउटा कृषि विज्ञ आवश्यक पर्यो । त्यसपछि त्यसमा जोडिए कृषि विज्ञ रमेश शाह ।
रमेश तिनै व्यक्ति हुन्, जो डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला पुरस्कृत भएका थिए । रोका, खाइजु र शाहलाई बोकेर विकेश सीता दाहाललाई भेट्न पुगे । परियोजनासम्बन्धी सबै बेलीविस्तार लगाएपछि सीता ‘कन्भिन्स’ भइन् । पैसा सीता दाहालले जोहो गर्ने सहमति भयो । उनले ५ पटकसम्म खुरुखुरु झोलामा राखेर पैसा दिएको निकटस्थ स्रोतहरू बताउँछन् । पैसाको तजबिजीसहित सबै जिम्मेवारी विकेशले नै पाए ।

५ पटकमा गरी झोलामै राखेर प्रचण्ड निवासबाट विकेशलाई पैसा दिइएको थियो । शेरादरबार सहितको अन्नपूर्ण फार्मिङलाई कूल ८ करोड ५० लाख रुपैयाँमा खरिद गर्ने सम्झौता भयो । बाँकी पैसाले दरबारको जग्गा सट्टाभर्नाका लागि नजिकै ४० रोपनी जग्गा खरिद गरियो ।
सो जग्गा विकेशको नाममा मात्र कसरी गयो भन्ने कथा पनि निकै रोचक छ । विकेश, रोका, शाह, खाइजुबीच छलफल हुँदा ‘सिधै हेडक्वार्टर जोडिएको छ, हामी कमरेडेली काम गरौं, आन्तरिक शेयर बाँडफाँड गरौं, कानूनीरूपमा विकेशजी रहनुहुन्छ’ भन्ने सहमति भयो ।
आन्तरिकरूपमा विकेश, रोका, शाह, खाइजु र ललितपुरका विष्णु थापाले १०/१० प्रतिशतका दरले शेयर राख्ने सहमति भयो । बाँकी ५० प्रतिशत शेयरमध्ये ३५ प्रतिशत अजयकुमार सूर्यवंशीको नाममा र बाँकी १५ प्रतिशत पुराना शेयरधनी ध्रुवलाल श्रेष्ठको नाममा राखियो ।
पछि बुझ्दै जाँदा सिन्धुलीका सूर्यवंशी विकेशको भान्जा पर्ने रहेछन् । काठमाडौंको न्युरोडमा टल्किने पत्थरको सानो पसल गरेर बसेका सूर्यवंशी एक मारवाडीको पत्थर कारखानामा कालिगडका रूपमा कार्यरत थिए । विकेशले सूर्यवंशीको ३५ प्रतिशत शेयर देखाएर प्रचण्ड परिवारबाट लिएको पैसा उनैको खाताबाट घुमाए ।

संयोग के छ, भने सूर्यवंशीको त्यो सानो पसल कमर्सियल बैंकका एक उच्च अधिकारीको न्यूरोडस्थित घरमा छ ।
जग्गा देखाउने खाइजु, परियोजनाको योजनाकार रोका, फार्मिङको सबै खाका बनाउने कृषि विज्ञ शाह, पैसा प्रचण्ड निवास र पैसाको परिचालन तथा कानूनी हैसियत विकेश र उनको भान्जाको हातमा पुग्यो ।
यो समूह २ वर्षसम्म शेरादरबारमा बस्यो । त्यही बेला हो, सीता दाहाल शेरादरबारमा ३ पटकसम्म पुगेको । प्रचण्ड निवासबाट नुवाकोट पार्टी कमिटीसँग समन्वय गरी काम गर्न भनिएको थियो ।
रोका नुवाकोट पार्टीका साथीहरूसँग समन्वय गर्ने भनेर हितबहादुर तामाङ, विमला सुवेदीलगायतलाई भेट्न नुवाकोट जिल्ला पार्टी कार्यालयमा पनि पुगेका थिए । तर, विकेशले पर्दैन भनेपछि कुनै समन्वय भएन । हितबहादुरलगायत नुवाकोटको सिंगो पार्टीपंक्ति परियोजनाको खिलाफमा थियो ।
नेपाल ट्रस्टको नाममा आउनुपर्ने जग्गा पहिल्यै फार्मिङको नाममा थियो । जग्गा कम्पनीको नाममा कसरी राख्ने भनेर प्रचण्डले त्यतिबेलाका भूमिसुधार सचिव मोहन सापकोटालाई समन्वय गर्न भनेका थिए ।
सापकोटा र रोकाको पहिल्यैदेखि हिमचिम रहेकाले कम्पनी रजिस्ट्रार कार्यालयबाट सहजै नामसारी गराइएको थियो ।
फार्मिङ शुरू भएपछि पहिलो वर्ष विकेशले हरियो मकै प्रचण्ड निवास लाजिम्पाट पुर्याएका थिए । अनि प्रकाश दाहालले पोलेको हरियो मकैको फोटो फेसबूकको वालमा राख्दै– ‘बफ म:म बहिष्कारपछि आजको खाजा मकै उपलब्ध गराउनुहुने विकेश श्रेष्ठ काकालाई धेरै–धेरै धन्यवाद !’ लेखेका थिए ।
सहमतिअनुसार काम गर्ने भनी फार्मिङका नाममा एउटा स्कोर्पियो खरिद गरियो । उक्त गाडी व्यवसायी गणेश खाइजुले चलाउँथे । विकेशले एकदिन रोकासँग गोप्यरूपमा भेटेर ‘गणेशलाई २ महिना बिदामा पठाऔं, ड्राइभर मैले व्यवस्था गरिसकें,’ भने । त्यसपछि खाइजुलाई बिदा गरियो ।
त्यसको एक महिनापछि विकेशले फेरि रोकालाई भने ‘तपाईं पहुँच भएको मान्छे, अरुण खोलामा हामीले २ मेगावाट विद्युत् निकाल्ने गरी ५ करोड रुपैयाँ जति लगानी गरेका छौं, त्यो प्रोजेक्ट तपाईंले ह्यान्डिल गर्नुस् !’ हाइड्रो देखाएर रोकालाई पनि विकेशले शेरा दरबारबाट आउट गरे ।
कानूनी रूपमा शेरादरबार परियोजना सबै विकेशको नाममा गयो । त्यो चाल पाएपछि प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री भएकै बेला विकेशलाई पटक–पटक बोलाएका थिए– परियोजनासम्बन्धी कुरा गर्न । तर, विकेश सम्पर्कमा आएनन् ।
उनी पार्टी सम्पर्कबाट विस्तारै टाढा हुँदै गए । प्रचण्ड प्रधानमन्त्री हुँदा प्रशासकीय प्रमुख बनेका नारायण दाहाल (हाल राष्ट्रिय सभा अध्यक्ष)ले विकेशलाई धेरैपटक सम्पर्क गरे, तर उनी आएनन् । २०७४ को चुनावकै मुखमा प्रकाश दाहालको निधनपछि सीता बिरामी पर्न थालिन् । त्यसपछि शेरादरबारको जग्गामा प्रचण्ड परिवारको लगानी ‘बालुवामा पानीसरह’ भयो ।
सीता दाहाल बिरामी भएकै बेला गंगा दाहालहरूले प्रचण्डनिकटका पूर्व विद्यार्थी नेता रामचन्द्र (आरसी) अधिकारीलाई विकेशसँग सम्पर्क गर्न लगाए । विकेशले आरसीलाई पनि बाल दिएनन् ।
बरु रोकालगायतले विप्लव माओवादी रसुवाका इन्चार्ज रजमान तामाङलाई गुहारे– ‘शेरादरबारको जग्गामा विकेशले बदमासी गरे’ भनेर ।
रजमानकै नेतृत्वमा विप्लव माओवादीले झण्डा गाडेर ‘कब्जा गरेको’ प्रचार गर्यो । त्यसको कुनै कानूनी आधार हुने कुरा भएन । बरु रजमान अहिले प्रचण्ड नेतृत्वकै माओवादीमा फर्किएका छन् ।
यतिखेर माओवादीले शेरादरबार जग्गा प्रकरणका मुख्य पात्र विकेशले पहिल्यै माओवादी छाडेको भनेर चोखो बन्न मिल्दैन ।
२०७६ वैशाख २६ गते प्रचण्ड–सीताको वैवाहिक वर्षगाँठको ५० औं वार्षिकोत्सव कार्यक्रममा विकेश दम्पती गएर शुभकामना दिएका थिए ।
विकेशका छोरा मनोबलको विवाहमा प्रचण्ड प्रधानमन्त्री रहेको समयमा २०८० जेठ १ गते दौरासुरुवाल लगाएरै सहभागी भएका थिए ।

यसबाट पनि विकेशसँग सम्पर्क नरहेको भन्ने प्रचण्डको दाबी खण्डन हुन्छ ।
माओवादीकै आड भरोसामा विकेशले करोडौं लगानी गरेका हुन् । करोडौंको जग्गा खरिद गर्ने हैसियतका मान्छे विकेश होइनन् । ऐलानी जग्गा खोज्दै मकवानपुरबाट कैलाली पुगेका एक प्रकारका ‘सुकुम्बासी’ हुन् ।
शेरादरबार जग्गासहित फार्मिङका लागि प्रचण्ड परिवारबाटै झोलामा बोकेर पैसा लैजानेहरू जीवितै छन् ।
यो १२ वर्षबीचमा विकेश र उनका भान्जा अजयकुमार सूर्यवंशीको खातामा भएको कारोबारको स्रोत खोजेमा पनि यो सबै कुरा प्रस्ट हुनेछ, अनि प्रचण्ड परिवारले पनि न्याय पाउने छ ।
भिडियोमा हेर्नुस्, शेरादरबार प्रकरणको खास रहस्य :