
परम्परागत र मौलिक खानाका उत्पादकहरुलाई व्यवसायिकता, गुणस्तर र स्वच्छता सम्बन्धी तालिम प्रदान गर्न महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, कृषि तथा पशुपन्छी विभागलाई निर्देशन दिएकी छन् । आज महानगरपालिकाका खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका विज्ञ सल्लाहकार जीवनप्रभा लामा, कार्यक्रमका सल्लाहकार सन्तोष गिरी र विभागका प्रमुख नुरनिधि न्यौपानेसँग अनुगमन प्रणाली अद्यावधिक गर्ने, आधारभूत खाद्य जाँचका लागि महानगरपालिका आफैँले प्रयोगशाला निर्माण गर्ने, खाद्य सुरक्षाका लागि दिइने तालिमको प्रक्रिया र पाठ््यक्रम तर्जुमा गर्नेलगायत विषयमा कुरा गर्दै उनले मौलिक खानाको व्यवसायिक प्रवर्धनका लागि तालिम दिनु पर्ने बताएकी हुन् ।
छलफलमा विज्ञ सल्लाहकार लामा र सल्लाहकार गिरीले, स्वचालित प्रणालीबाट गुणस्तर नियमन र व्यवसायिक प्रवर्धनमा नतिजा हासिल गर्न सकिने धारणा राखे ।
विभागका प्रमुख न्यौपानेका अनुसार खाद्य पदार्थको गुणस्तर मापन सम्बन्धी आधारभूत पक्ष हेर्ने क्षमता भएको प्रयोगशाला निर्माण सम्पन्नताको चरणमा पुगेको बताए ।
महानगरपालिकाले स्वच्छ खाद्य सेवाका लागि व्यवसायीहरुलाई क्षमता विकास तालिम प्रदान गरिरहेको छ । चालु आर्थिक वर्षको सुरुमा साना तथा मध्यम भोजनालयका ३ सय जना सञ्चालकलाई तालिम दिएर पहिलो संस्करणको तालिम समापन गरेको थियो । दोस्रो संस्करणमा दशैँ लक्षित खानेकुरामध्ये मासुजन्य खाद्य बस्तुका उत्पादक तथा विक्रेता ३२१ जना व्यवसायीलाई तालिम प्रदान गरियो । दशैँ लगत्तै आउने तिहारमा धेरै खपत हुने मिठाईजन्य खाद्यबस्तुको स्वच्छताका लागि तेस्रो संस्करणमा तालिम दिइएको थियो । यसका लागि २११ जनालाई बोलाइएकोमा १६२ जना सहभागी भएका थिए ।