२७ जेठ २०८३, बुधबार

इन्डो नेपाल रनिङशिल्ड भलिबलमा आर्मी र मणिमुकुन्दको विजयी शुरूआत

पुस १८, २०८१
बुटवल
इन्डो नेपाल रनिङशिल्ड भलिबलमा आर्मी र मणिमुकुन्दको विजयी शुरूआत

बुटवलमा जारी मदन भण्डारी गोल्डकप  इन्डो नेपाल रनिङशिल्ड भलिबल च्याम्पियनसिपमा बिहीबार त्रिभुवन आर्मी र मणिमुकुन्द क्लबले जीत हात पारेका छन् । तेस्रो खेल भने शीतलहरका कारण स्थगित भएको छ ।

बुटवलको रामनगर खेल मैदानमा भएको प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा आर्मीले भारतीय गुजरात स्टेट भलिबल एशोसिएसनलाई  ३-१ सेटमा पराजित गर्‍यो । आर्मीले खेलको पहिलो सेट १५-२५ ले  हारेपनि त्यसपछि लयमा फर्किँदा जीत निकालेको हो ।

दोस्रो सेट २९–२७ ले जित्दै आर्मी खेलमा फर्कियो । तेस्रो र चौथो सेट २५–२१ र २५–२२ ले जित्दै आर्मी पहिलो जीत हात पार्न सफल भयो । 

नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका धनपति कुँवर, सरन सामारी, धनबहादुर भट्ट, दुर्गा महतो, दुर्गा बहादुर खड्कासहित आर्मी मैदान उत्रेको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा एक समय २३–१९ अंककासाथ जीत नजिक पुगेको स्थितिमा लगातार अंक गुमाउन पुग्दा खेल खेल २९–२७ सम्म पुगेको थियो ।

मदन भण्डारी स्पोटर्स एकेडेमीले आयोजना गरेको भलिबल भ्याम्पियनसिपमा दोस्रो खेल रुपन्देहीको मणिमुकुन्द भलिबल क्लबले ३-० को सोझो सेटमा जितेको छ । पहिलो सेटमा मणिमुकुन्द क्लबले २५-२१  ले  जीत हात पार्‍यो । दोस्रो सेटमा २५-१५ हुदै मणिमुकुन्द पुन: अगाडि बढ्यो। र, तेस्रोमा २५-२१ सेट ल्याएपछि मणिमुकन्द विजयी बन्न पुग्यो ।

बिहीबारको शसस्त्र प्रहरी र गल्कोटबीचको खेल भने शीतलहरका कारण स्थगित भयो । खेलमा चौथो सेटको प्रतिस्पर्धा हुँदै गर्दा शीतलहरका कारण स्थगित भएको हो । सम्पन्न भएका सेटहरूमा  २ सेट गल्कोटले र १ सेट सशस्त्र प्रहरीले जितेका थिए । स्थगित भएको खेल प्राविधिक र आयोजक टिम बसेर तय गरिनेछ ।

मदन भण्डारी स्पोटर्स एकेडेमीले आफ्नो १६औं स्थापना दिवसको अवसर पारेर मदन भण्डारी गोल्डकप रनिङशिल्ड इन्डो नेपाल पुरुष भलिबल प्रतियोगिता गरेको हो । च्याम्पियनसिपमा प्रथम पुरस्कार ७ लाख, द्वितीय पुरस्कार ३ लाख ५० हजार, तृतीय पुरस्कार १ लाख ७५ हजार, शान्त्वना पुरस्कार १ लाख, उत्कृष्ट खेलाडीका लागि २५ हजार र विधागत पुरस्कार १० हजार रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्