०९ असार २०८३, मंगलबार

तीन सडक एकसाथ स्तरोन्नति

पुस १९, २०८१
बाग्लुङ
तीन सडक एकसाथ स्तरोन्नति

बागलुङ नगरपालिकाभित्रका तीनवटा सडक स्तरोन्नति भैरहेका छन् । स्तरोन्नति भइरहेका तीन सडकको भौतिक प्रगति ६ महिनामा २५ प्रतिशत पुगेको छ । 

विश्व बैंकको अनुदानमा सडकको स्तरोन्नति भइरहेको हो । असारबाट काम थालिएको सडकमा अहिले सयौँ उपकरण र श्रमिक परिचालन गरिएको छ । 

बागलुङ नगरपालिका–७ को मूलपानीबाट तितौरेसम्मको ८.६ किलोमिटर, वडा नम्बर ४ स्थित ओडारचौरबाट ढोडेनीसम्म २ दशमलव २ किलोमिटर र वडा नम्बर १ रामरेखास्थित गणेशथान घुम्तीबाट नीरयघाटको १ दशमलव ५ किमी सडक एकसाथ कालोपत्रका लागि स्तरोन्नति भइरहेको छ । 

तीनवटै सडक एकसाथ कालोपत्र भएमा नगरका स्थानीयलाई आवतजावतमा सहज हुनेछ । सडक हालसम्मकै नमूना हुनेगरी स्तरोन्नतिसहित कालोपत्र गर्न विश्व बैंकले बागलुङ नगरपालिकासहित देशभरका १७ स्थानीय सरकारलाई अनुदान उपलब्ध गराएको छ । 

निर्माण व्यवसायीका अनुसार अबको चार महिनामा पूर्वाधारतर्फको काम सकेर कालोपत्रको तयारी गर्ने निर्माण व्यवसायीतर्फका इञ्जिनियर मनोज शर्माले जानकारी दिए । शर्माका अनुसार एक वर्षको ठेक्का सम्झौता रहेको उक्त सडक आगमी असार मसान्तभित्र कालोपत्र सक्नुपर्ने छ । 

'झण्डै आधा अर्बको ठेक्का एक वर्षमा सक्नुपर्ने निकै चुनौतीपूर्ण काम हो, हामीले जनशक्ति र उपकरण थप गर्दै कामलाई तीव्रता दिएका छौँ, छ महिनामै २५ प्रतिशत काम सम्पन्न गरेका छौँ, अबको चार महिनामा पूर्वाधारको काम सक्ने लक्ष्य छ, पूर्वाधार सकिए दुई महिनामा सडक पूरै कालोपत्र गर्न सकिन्छ,' इञ्जिनियर शर्माले भने, 'सडक अहिलेसम्मकै स्तरीय र नमूना हुनेछ, सडक निर्माण अत्यन्तै नमूना भएकाले लागत बढी भएको हो ।'

सडक निर्माणका लागि चाहिने कच्चा सामग्री ढुङ्गा, गिट्टी र बालुवाको आयात बढाएर निर्माणलाई थप तीव्रता दिने निर्माण व्यवसायीको भनाइ छ । 

स्तरोन्नतिसँगै सडक कालोपत्रका लागि निर्माण व्यवसायी आशिष फेवासँग २०८१ जेठ २३ गते एक वर्षमा सम्पन्न गर्नेगरी ४९ करोड २२ लाखमा ठेक्का सम्झौता भएको थियो । तीनवटै सडकको लम्बाइ जम्मा १३ किमी छ । 

विसं २०७७ मा विश्व बैंक र बागलुङ नगरपालिकाबीच अनुदान सम्झौता भए पनि गत जेठमा मात्र ठेक्का सम्झौता भएको थियो । विश्व बैंकको अनुदान सहयोगमा नगरपालिकाभित्रका तीन सडक नमूना बनाइने बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए ।

नगरपालिका र विश्व बैंकको सम्झौता अनुसार ५८ करोड रकम अनुदानमार्फत पूर्वाधार र सामाजिक विकासमा खर्च गर्ने उल्लेख गरिएको भए पनि ठेक्का सम्झौतामा जादा ४९ करोड २२ लाख पुगेको थियो । 
नगरपालिकाभित्र निर्माण हुने तीन ठूला सडकले विकासको मोडेल पस्कने अपेक्षा गरिएको छ । सडक प्रविधिमैत्री हुनेछ । रासस

salt training

कमेन्ट गर्नुहोस्