
नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिको बैठकले क्रियाशील सदस्यताको विषय चैत मसान्तभित्रै टुंग्याउने समझदारी गरेको छ ।
महामन्त्री गगन थापाको संयोजकत्वमा शुक्रबार बसेको समितिको बैठकले ७७ वटै जिल्लाको सदस्यता चैतभित्र मसान्तभित्रै टुंग्याउने समझदारी गरेको समिति सदस्य प्रकाश स्नेही रसाइलीले दिए ।
कार्यतालिका बनाएर नवीकरण चैतभित्रै गरिसक्नेसहित तीनवटा निर्णय गरिएको उनले जानकारी दिए ।
‘हामीले शुक्रबारको बैठकबाट तीनवटा निर्णय गरेका छौं । पहिलोमा आगामी चैतभित्रै ७७ वटै जिल्लामा सदस्यता वितरण र नवीकरण गरिसक्ने । यस्तै जिल्लामा जातीय, वर्गीय, लैंगिक र जनसंख्या अनुपातमा सदस्यता वितरण गर्ने कुरा भएको छ,’ स्नेहीले भने, ‘त्यस्तै डोल्पा जिल्लामा रोकिएको सदस्यता नवीकरण खुला गर्ने निर्णय गरेका छौं ।’
तर विवादका कारण नयाँ सदस्यता अझै नखुलाइएको उनले जानकारी दिए ।
महाधिवेशन भएको तीन वर्षसम्म पनि कांग्रेसले एकाध क्षेत्रबाहेक कहीं पनि सदस्यता नवीकरण र वितरणको काम टुंग्याउन सकेको छैन ।
नियमित तालिकाअनुसार आगामी मंसिर मसान्तभित्र १४ औं महाधिवेशन गरिसक्नुपर्ने हुन्छ ।
तर महाधिवेशनको लागि प्रारम्भिक रूपमा गर्नुपर्ने सदस्यताको नवीकरण र वितरणको विषयले कांग्रेसमा सधैं विवाद हुँदै आएको छ । पार्टीभित्र गुटगत आधारमा विवाद हुँदा सदस्यताको विषयले महाधिवेशन नै अन्योलमा पर्दै आएको छ ।