
भक्तपुरको मध्यपुरथिमी नगरपालिका–२ सानोठिमीमा स्कुटर दुर्घटना हुँदा श्रीमान्को मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छिन् ।
दुर्घटनामा सानोठिमी धुञ्चेपाखा बस्ने ३१ वर्षीय स्कुटर चालक निश्चल प्रकाशराज भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
सानोठिमीबाट मगरगाउँतर्फ जाँदै गरेको बा प्र ०२–०२८ प ६६१० नम्बरको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।
दुर्घटनामा घाइते भएकी स्कुटरमा पछाडि सवार २८ वर्षीया पूजा श्रेष्ठको नर्भिक अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।
मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको र सवारीसाधन प्रहरी प्रभाग सानोठिमी भक्तपुरको नियन्त्रणमा राखेर घटनाबारे अनुसन्धान शुरू गरेको उनले जानकारी दिए ।