
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
मधेश प्रदेशको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरले विभिन्न स्वास्थ्य उपकरण खरिदका लागि आह्वान गरेको टेन्डरमा अनियमितता भएको पाइएको छ ।
केन्द्रका निर्देशक डा राजीवकुमार झा र बायोमेडिकल इन्जिनियर बन्दना मिश्रको मिलेमतोमा अनियमितता गरेको पाइएको हो । एउटा खास आपूर्तिकर्ताले मात्र ठेक्का पाउने गरी पूर्वशर्त तोकेर मिलेमतोमा स्पेसिफिकेसन तयार गरेको पाइएको छ ।
००००
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्किने भन्दा पनि सामाजिक परिवर्तनको नायक बन्न सुझाव दिएका छन् ।
शीतल निवासबाट बाहिर निस्केको व्यक्ति कुनै दलको भन्दा पनि साझा बन्नुपर्ने उनको राय थियो ।
शुक्रबार काठमाडौंमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पुस्तक विमोचन समारोहमा महामन्त्री शर्माले पूर्वराष्ट्रपति सामाजिक रूपान्तरणको प्रेरक बन्नुपर्ने बताएका हुन् । कार्यक्रममा भण्डारी प्रमुख अतिथिको रूपमा उपस्थित थिइन् ।
००००
नेकपा माओवादी केन्द्रले संसद्को अधिवेशन समयमा नडाक्नुले सरकारको बदनियत देखिएको बताएका छन् । शुक्रबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार बदनियतमा लागे माओवादीले दबाब बढाउने चेतावनी दिए ।
००००
नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिको बैठकले क्रियाशील सदस्यताको विषय चैत मसान्तभित्रै टुंग्याउने समझदारी गरेको छ ।
महामन्त्री गगन थापाको संयोजकत्वमा शुक्रबार बसेको समितिको बैठकले ७७ वटै जिल्लाको सदस्यता चैतभित्र मसान्तभित्रै टुंग्याउने समझदारी गरेको समिति सदस्य प्रकाश स्नेही रसाइलीले दिए ।
००००
प्रधानमन्त्री केपी शर्मा ओली दुई ठूला दलको शक्तिशाली सरकारका कमजोरी केलाउँदै गठबन्धन सरकारलाई नतिजामुखी बनाउने प्रयासमा लागेका छन् ।
सरकारका काम कारबाहीका विषयमा चौतर्फी प्रश्न र पार्टीभित्रै घेराबन्दीको संकेत पाएपछि ओलीले सरकारलाई नतिजामुखी बनाउँदै पार्टीमा थप व्यावहारिक बन्ने संकेत गरेका हुन् ।
००००
गत साताको अन्तिम कारोबार दिन २६३०.७२ को बिन्दुमा बन्द भएको नेप्से परिसूचक यस साता २५८६.२४ बिन्दुमा बन्द भएको छ ।
यस साता नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ४४.४८ अंकले घटेको छ ।
००००
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा ५९ लाख ५५ हजार चार सय ७६ मेट्रिकटन धानबाली उत्पादन हुने प्रारम्भिक अनुमान गरेको छ ।
गत आवको तुलनामा चार दशमलव ०४ प्रतिशतले बढी उत्पादन हुने मन्त्रालयका प्रवक्ता डा मतिना जोशी वैद्यले जानकारी दिइन् ।
००००
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूूरो (सिआइबी)ले पछिल्लो समयमा विभिन्न प्रलोभनमा पारेर अनलाइन ठगी बढेको भन्दै ठगीबाट बच्न विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।
सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले हालैमात्र पोखरामा रू ५७ लाख, चितवनमा रू १६ लाख, नेपाल सरकारका कर्मचारीहरूको रू पाँच लाख ५० हजार, विभिन्न कम्पनी तथा सर्वसाधारणको करोडौँ रकम ठगी भएको र उक्त विषयमा अनुसन्धान भइरहेको जानकारी दिँदै त्यस्ता लोभमा नफस्न अनुरोध गरेका छन् ।
००००
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले ६ अर्ब ८० करोड अतिरिक्त सहायता रकम प्रदान गर्ने भएको छ ।
अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गत २०८० साल भदौदेखि कार्यान्वयन भएको ९२ अर्ब बराबरको आयोजनाका निम्ति उक्त रकम प्रदान गर्ने निर्णय भएको एमसीसी सञ्चालक समितिले जनाएको छ ।
००००
नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र नेपाली बजारमा माग बढेसँगै शुक्रबार सुन प्रतितोला रू दुई हजार बढेको हो ।
बिहीबार प्रतितोला एक लाख ५१ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य शुक्रबार एक लाख ५३ हजार पाँच सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
००००
गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने जोडिएको पर्साको सानोपाइला र चितवनको सहारा चितवन सहकारी ठगी प्रकरणमा प्रहरीले धमाधम अनुसन्धान प्रतिवेदन तयार गरिरहेको छ ।
सानोपाइलामा ८ सय बचतकर्ताले जम्मा गरेको झण्डै १ अर्ब ३५ करोड रुपैयाँ अपचलन भएको छ । त्यस्तै, सहारा चितवनका ४ सय ४६ बचतकर्ताले दिएको उजुरीअनुसार झण्डै ३७ करोड रुपैयाँ अपचलन भएको छ ।
सानोपाइला र सहारामा पनि रविविरुद्ध मुद्दा चल्ने बताइएको छ । यसअघि लामिछानेविरुद्ध कास्की अदालतमा मुद्दा दायर भइसकेको छ भने स्वर्णलक्ष्मीमा पनि मुद्दा दायरका लागि प्रतिवेदन पेस भइसकेको छ ।