
दर्शनको अर्थ हुन्छ हेर्नु । जीवनलाई हेर्नु, जगत्लाई हेर्नु र यिनै जीवन र जगत्को विशेषता बुझेर व्यवहारिक प्रयोगमा ल्याउनु तर, हालसम्मका प्रायः सबै दर्शन सैद्धान्तिकरूपमा मात्र सीमित रहेका देखिन्छन् । यद्यपि भौतिक दर्शनलाई व्यवहारिक प्रयोगको रूप दिन नखोजिएको होइन । अहिले पनि खासगरी भौतिकवादी पण्डितहरू यसको दावा गरिरहेका छन् तर, वास्तविकता के हो भने भौतिक दर्शन पनि हाल सैद्धान्तिक ज्ञानमै सीमित देखिन्छन् ।
चाहे माक्र्सवाद होस् चाहे लेनिनवाद, चाहे माओवाद होस् चाहे बौद्ध, जैन, चार्वाक तथा हेनरी, हेगल आदि अन्य अर्वाचीन दर्शन नै किन नहुन् सबै सैद्धान्तिक ज्ञानमै सीमित छन् ।
ज्ञानको क्षेत्र असीम छ । तिनलाई मूलतः सैद्धान्तिक ज्ञान र व्यावहारिक ज्ञानगरी दुई भागमा वर्गीकरण गर्न सकिन्छ । सैद्धान्तिक ज्ञानले केवल जानकारीसम्म दिन सक्छ । व्यावहारिक ज्ञान प्रयोगात्मक हुन्छ, जसले जीवन र जगत्लाई बुझाउन सहयोग पुर्याउँछ तर, विडम्बना हाल त्यसैको अभाव छ ।
दर्शनको क्षेत्रमा पौरस्त्य दर्शन सर्वाधिक पुरानो दर्शन हो, जसले हालसम्म चारवटा चरण पार गरिसकेको छ । यिनमा पहिलो चरणमा वैदिक दर्शन पर्दछन्, जसलाई दर्शनको पहिलो युग मानिन्छ । यस युगमा संहिता, ब्राह्मण, आरण्यक र उपनिषद् दर्शन प्रतिपादन भएका थिए, जुन विशुद्ध सैद्धान्तिक दर्शनमा सीमित रहेका छन् । यद्यपि ब्राह्मण ग्रन्थहरू क्रियात्मक ग्रन्थ हुन्, जसले प्रयोगात्मक ज्ञान दिन खोजेको छ तर, त्यो पनि हाल आएर केवल कर्मकाण्डमै सीमित हुन पुगेको छ ।
त्यसपछि दर्शनको दोस्रो युग शुरू भएको पाइन्छ । यतिबेला वेदको विरुद्धमा दर्शनहरू सूत्रपात भएका थिए । यिनमा चार्वाक, बौद्ध र जैन दर्शन पर्छन्, जसलाई नास्तिक दर्शन भनिन्छ । वेदको विरुद्धमा खडा भएको दर्शन भएकाले यसलाई नास्तिक दर्शन भनिएको हो । यी पनि हाल आएर केवल कोरा सिद्धान्तमै आधारित हुन पुगेको देखिन्छ । न चार्वाक दर्शन पूर्णतः प्रयोगमा आएको छ न जैन र बौद्ध दर्शनकै विशेषतालाई पूर्णतरूपमा परिपालन गरिएको पाइन्छ ।
बुद्धपछि दर्शनको क्षेत्रमा तेस्रो युग शुरू भएको पाइन्छ । यो अवैदिक दर्शनको विरोधमा खडा भएको दर्शन हो, जसलाई ईश्वरवादी दर्शन वा आस्तिक दर्शन भनिन्छ । यसको संयुक्त नाम षड्दर्शन हो, जसमा न्याय, वैशेषिक, साङ्ख्य, योग, मीमांसा र वेदान्त पर्छन् । यिनीहरू दुईदुई वटाको समूहमा विभक्त छन्, जसमा साङ्ख्य र योगको एउटा समूह रहेको छ । न्याय र वैशेषिकको अर्को समूह र मीमांसा र वेदान्तको तेस्रो समूह रहेको छ । यीमध्ये योगदर्शनको केही व्यावहारिक प्रयोग पाइए पनि अन्य दर्शन केवल सिद्धान्तमै सीमित रहेको अवस्था छ ।
इश्लामको आसपासमा अर्को दर्शन सूत्रपात भएको छ, जसलाई दर्शनको चौथो युगमा लिने गरिएको छ । यसको शुरूआतत आद्य शङ्कराचार्यले गरेका हुन् । उनले प्रस्थानत्रयीको अवधारणा ल्याए । यसमा उपनिषद्, गीता र ब्रह्मसूत्र पर्छन् । उनले यसको भाष्य लेखेर अद्वैत वेदान्तको जग खडा गरे ।
उनी ज्ञानमार्गी हुन् । ज्ञान मार्गको वकालत गरेका छन् । उनको दर्शन अद्वैत वेदान्तको नामले परिचित छ । यसै युगमा शाङ्कर मतको विरोधमा भक्तिधारा अगाडि आयो, जुन विष्णुभक्तिमा आधारित छ । यसलाई वैष्णव दर्शन भनिन्छ । यसको शुरुवात दक्षिण भारतीय दार्शनिक रामानुजाचार्यले गरेका थिए ।
वैष्णव दर्शनमा पनि धेरै भेद छन् । यिनमा विशेषगरी विशिष्टाद्वैत, द्वैत, द्व्रैताद्वैत, शुद्धाद्वैत, अनित्यद्वैताद्वैत अर्थात् अनित्यभेदाभेद आदि रहेका छन् ।
यिनीहरूका आचार्यमा क्रमशः रामानुजाचार्य, स्वामी आनन्द तीर्थ अर्थात् मध्वाचार्य, निम्बार्काचार्य, बल्लभाचार्य र चैतन्य महाप्रभु पर्छन् । यिनीहरू पनि विशुद्ध सैद्धान्तिक ज्ञानमै सीमित देखिन्छन् ।
यद्यपि भक्तिदर्शनले क्रियाद्वारा उपदेश दिनुपर्ने हो । यसको सङ्केत व्यासजीले भागवतको पञ्चमस्कन्धमा गरेका छन्, जहाँ हाल आएर जैनहरूले आदि तीर्थङ्कर मान्ने गरेका ऋषभ र उनको छोरा भरतको चर्चा भएको छ ।
ऋषभ ज्ञानी परमहंस थिए भरत भक्तिदर्शनका परमाचार्य थिए । ऋषभले ज्ञानद्वारा उपदेश दिएका थिए भरतले क्रियाद्वारा उपदेश दिएका थिए तर हाल आएर त्यसको पनि व्यावहारिक प्रयोग पाइन्न । फलतः सबै दर्शन केवल सैद्धान्तिक ज्ञानमा सीमित हुन पुगेको छ, जसले गर्दा संसारमा कोही पनि सुखी र आनन्दित हुन सकेका छैनन् । जीवन र जगत्को विशेषता बोध गरेपछि सुखी र आनन्दित हुनुपर्ने हो तर, त्यस्तो किन हुन सकेको छैन ? प्रश्न गम्भीर छ तर उत्तर त्यति गम्भीर छैन । किनकि दार्शनिक ज्ञानलाई पूर्णतः क्रियात्मकरूप दिन नसक्नु नै यसको मूल कारण हो ।