१३ असार २०८३, शनिबार

सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै काठमाडौं महानगर

पुस २०, २०८१
काठमाडौं
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाको शिक्षा विभागले जाडो बिदाका समयमा सामुदायिक विद्यालयका शिक्षकहरूलाई क्षमता विकाससम्बन्धी तालिममा सहभागी हुन आह्वान गरेको छ । 

‘टिचर कलेज कार्यक्रम’अन्तर्गत सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरूलाई क्षमता विकाससम्बन्धी तालिम दिन लागिएको हो । 

तालिका माध्यमबाट क्षमता विकास गराएर शिक्षकले प्राप्त गरेको योग्यतालाई विश्वविद्यालयबाट प्रमाणीकरण गराउने योजनाअन्तर्गत तालिम सञ्चालन गर्न लागिएको कामपाको शहरी योजना आयोगका सदस्य एवं इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए । 

सामुदायिक विद्यालयको नतिजा सुधार गर्न शिक्षकको क्षमता विकासमा लगानी गर्नुपर्ने भएकाले तालिम सञ्चालन गर्न लागिएको उनले बताए । 

झाका अनुसार शैक्षिक क्रियाकलापमा असर नहुने गरी बिदाको समय उपयोग गर्न लागिएको हो । शिक्षकको क्षमता विकास गराएर शैक्षिक क्रियाकलापलाई सिर्जनात्मक, एकीकृत सीप र व्यवहारमा आधारित बनाउने लक्ष्य राखिएको बताउँदै यसको नतिजा विद्यार्थीहरूको शैक्षिक प्रमाणपत्र र व्यावहारिक सीपमा प्राप्त हुने उनले विश्वास व्यक्त गरे । 

यसअन्तर्गत पुस २१ र २२ गते कक्षा १० का गणित, विज्ञान, सामाजिक, नेपाली, अङ्ग्रेजी, अर्थशास्त्र विषयका शिक्षकहरूलाई तालिम दिइने योजना आयोगका सदस्य झाले जानकारी दिए । उनका अनुसार पुस २३ देखि माघ ७ गतेसम्म कक्षा १० का इच्छुक विद्यार्थीका लागि गणित, सामाजिक, विज्ञान, अर्थशास्त्रलगायत विषयमा सिकाइ कक्षा सञ्चालन हुनेछन् ।

एसईई लक्षित सिकाइमा अवस्थाअनुसार विद्यार्थीको वर्गीकरण गरिनेछ । सिकाइ सहयोग, प्रविधिमार्फत सिकाइ, शिक्षण प्रबन्ध प्रणालीको उपयोग, समूहगत सिकाइ, परियोजना कार्यमा आधारित सिकाइ कक्षाका ढाँचा हुने कामपाको शहरी योजना आयोगले जनाएको छ । पुस २३ देखि २८ गतेसम्म प्रारम्भिक बाल विकास शिक्षाका सहजकर्ताहरूको तालिम हुनेछ । 

यही पुस २४ देखि माघ ४ गतेसम्म पुस्तकरहित शुक्रबारका सिर्जनात्मक सिकाइ र शिक्षामा सीप कार्यक्रमसँग सम्बन्धित सम्पर्क (फोकल) शिक्षकहरूका तालिम हुनेछन् । पाठ्यक्रममा सहभागितामूलक प्रतिबिम्बन, सञ्चालन मार्गदर्शन प्रतिबिम्बन, प्राविधिक क्षमता अभिवृद्धि तालिमका विधि हुने योजना आयोगका इञ्जिनियर झाले बताए । 

आगामी माघ ५ देखि ७ गतेसम्म शिक्षकका लागि मनोसामाजिक परामर्श र ‘क्यारियर गाइड म्यापिङ’ तालिम हुनेछ । माघ २ देखि ७ गतेसम्म कक्षा १ देखि ३ सम्मका शिक्षकहरूका लागि एकीकृत पाठ्यक्रम तथा निर्माणात्मक मूल्यांकन सम्बन्धी तालिम हुनेछन् । 

रचनात्मक विद्यालय विकास कार्यक्रमको खेलकुद प्रशिक्षण कार्यक्रम भने पुस २४ देखि माघ ८ गतेसम्म हुनेछ । सामुदायिक विद्यालयमा यही पुस १८ गते शुरू भएको बिदा माघ ८ गतेसम्म रहनेछ । यस अवधिलाई शैक्षिक सत्र २०८१ को कार्ययोजना अनुसार पढाइमा असर नहुने गरी खेलकुदका कार्यक्रम पनि हुने कामपाको शहरी योजना आयोगले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्