२६ असार २०८३, शुक्रबार

विशेषमा महत र ढकालको बयान शुरु, चूडामणि शर्मा हाजिर हुनै आएनन्

कात्तिक ३०, २०७४
विशेषमा महत र ढकालको बयान शुरु, चूडामणि शर्मा हाजिर हुनै आएनन्

काठमाडौं, ३० कात्तिक– कर फर्छ्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालमाथि विशेष अदालतमा बयान शुरु भएको छ । महत र ढकालले हिँजो विशेष अदालतले आफूहरुलाई म्याद जारी गरेकाले बयानका लागि उपस्थित भएको निवेदन दिएर अदालतमा उपस्थित भएका थिए ।

बुधवार समय अपुग भएका कारणले उनीहरुको बयान हुन सकेको थिएन । बयान पछि अदालतले थुनछेक बहस गर्नेछ । बहसपछि अदालतले दिने आदेशको आधारमा मुद्दा अगाडि बढ्ने विशेषका प्रवक्ता नगेन्द्र पोख्रेलले बताए ।

महत र ढकालका लागि असोज २३ गते अदालतले म्याद जारी  गरेको थियो । आयोगका सदस्य सचिव चूडामणि शर्माका नाममा विशेषले कात्तिक ६ गते म्याद जारी गरेको छ । उनी चाहिँ अहिलेसम्म अदालतमा उपस्थित भएका छैनन् ।

शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समाएपछि महत र ढकाल फरार थिए । फरार भएपछि अख्तियारले ७ दिन भित्र उपस्थित हुन भन्दै महत र ढकालका नाममा पत्रिकामा सूचना प्रकाशन गरेको थियो । उक्त सूचना पछि पनि उनीहरु अख्तियारमा हाजिर भएनन् ।

अख्तियारले शर्मा सहित महत र ढकाल तीनै जनालाई विपक्षि बनाएर १० अर्व दुई करोड रुपैयाँ  विगो दावी  गर्दै विशेषमा भ्रटाचारको मुद्दा दायर गरेको थियो । अख्तियारले महत र ढकाललाई फरार अभियुक्तको रुपमा मुद्दा चलाएको थियो ।

शर्मालाई पक्राउ गरेपछि अख्तियारले तीन साता लामो अनुसन्धान गरेर तीन अर्व धरौटी मागेको थियो । शर्माले उक्त धरौटी तिरेनन् । बरु शर्माकी पत्नीले आफ्ना पतिलाई गैर कानूनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा रिट हालेकी थिइन् । 

उक्त रिटमा सुनुवाई गर्दै सर्वोच्चले शर्मालाई अख्तियारको कस्टडीबाट बाहिर निकाल्यो । मुद्दा चाहिँ विशेषकै कार्यक्षेमात्र पर्ने भन्दै थप आदेश दिन आवश्यक ठानेन ।
 
अख्तियारले महत र ढकाल फरार भएको भन्दै मुद्दा दायर गरेपछि विशेषले उनीहरुको नाममा म्याद जारी गरेको थियो । उनीहरुले विशेषले दिएको म्याद बुझेका थिएनन् । विशेषले म्याद नबुझेपछि उनीहरुको ठेगानामा म्याद तामेली गरेर बसेको थियो ।

अब बयान पछि  विशेषले महत र ढकालसँग धरौटी माग्ने कानूनी अभ्यास छ । धरौटी तिरेर बाहिर बसेर मुद्दामा सामेल हुने वा कस्टडीभित्रै बसेर मुद्दा लड्ने भन्ने कुरा महत र ढकाल स्वयंले निर्णय गर्नेछन् । उनीहरुलाई अहिले डिल्लीबजार स्थित सदरखोर कारागारमा राखिएको छ ।

विशेषले धरौटी मागेमा ठूलो रकम माग्ने सम्भावना हुन्छ ।

‘अब बयान सकिएपछि अदालतबाट आवश्यक निर्णय हुन्छ, त्यसपछि मुद्दा अघि बढ्छ,’ विशेष अदालतका प्रवक्ता पोख्रेलले भने, ‘शर्माको नाममा पनि म्याद जारी भएको हो तर उनी अझै आएका छैनन् ।’ शर्माको पनि विशेषमा अझै बयान नभएको पोख्रेलले बताए ।

ब्यानको समयमा सर्वोच्चले आदेश जारी गरेपछि उनी उतैबाट गएका थिए । म्याद जारी भएपछि मुद्दाको फैसला हुने अघिल्लो दिनसम्म पनि अभियुक्तले अदालतमा हाजिर भएर बयान दिन पाउने कानूनी व्यवस्था रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्