
सूर्यविनायक नगरपालिकाको नगरसभाको १७औँ नगर अधिवेशनले विभिन्न समितिले प्रस्तुत गरेको विभिन्न संशोधित विधेयक पारित गरेको छ ।
नगरप्रमुख वासुदेव थापाको अध्यक्षतामा प्रथम र दोस्रो गरी दुई चरणमा सम्पन्न नगर अधिवेशनले विभिन्न समितिको प्रतिवेदन एवं बजेट कार्यान्वयनको अवस्थाबारे प्रस्तुत प्रतिवेदनमाथि बृहत् छलफल गरी विधेयक पारित गरेको हो ।
नगरसभाका सभाध्यक्ष थापाले निर्णायार्थ प्रस्तुत गर्नुभएको नगरपालिकाको संस्था दर्ता (प्रथम संशोधन) विधेयक २०८१, आर्थिक कार्यविधि नियमित गर्ने विधेयक २०८१, आर्थिक ऐन २०८१ को प्रथम संशोधन विधेयक २०८१ र नगरपालिका तथा अन्तर्गतको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०८१ पारित गरेको हो ।
नगरसभामा नगरप्रमुख एवं सभाअध्यक्ष थापाले चालु आर्थिक वर्ष २०८१÷८२ को ६ महिनाको अवधिमा कूल बजेटको १६ दशमलभ ०१ प्रतिशत बजेट खर्च भएको बताए । उनले नगरपालिकाको चालु आर्थिक वर्षको कुल बजेट रु एक अर्ब ४० करोड ३७ लाख २२ हजार पारित गरेकामा छ महिनामा नगरको कुल बजेटको रु ३५ करोड ८६ लाख ५० हजारमात्र खर्च भएको बताए । नगरपालिकाको चालु खर्चतर्फ रु २३ करोड ४१ लाख ९१ हजार र पुँजीगततर्फ रु १२ करोड ४४ लाख ५९ हजार खर्च भएको उनले बताए ।
नगरप्रमुख थापाले चालु आवको दुई महिना वर्षालगत्तै चाडपर्व सुरु भएकाले अपेक्षाकृत रूपमा बजेट खर्च हुन नसकेको बताउँदै चालु आवको बाँकी छ महिना योजना कार्यान्वयनमा जाने चरणमा रहेको बताए ।