
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–५ का बौआलाल चौधरीले छोरी दीक्षा चौधरीको नाम एमबीबीएस अध्ययनका लागि निकालिदिन भनेर दिएको घूसका लागि जग्गा बेचेको खुलेको छ ।
उनले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेललाई ३८ लाख ८० हजार रूपैयाँ बुझाउनका लागि जग्गा नै बेचेको खुलेको हो ।
अनिलले रकम लिएको लिखित समेत गरेको पाइएको छ । वरिष्ठ कृषि प्रसार अधिकृतमा कार्यरत चौधरीले विराटनगर(१४ डिग्री क्याम्पस अगाडिको एक कट्ठा जग्गा बिक्री गरेर अनिललाई पैसा दिएको बताएका छन् ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी माघ २ गतेदेखि पार्टी सङ्गठन निर्माण अभियान सुरु गर्ने निर्णय गरेको छ । आजदेखि सुरु भएको दुईदिने केन्द्रीय समितिको पहिलो बैठकले दुई महिनासम्म सो अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले पहिलो दिनको बैठकले विभिन्न पाँच विषयमा छलफल भएको जानकारी दिए ।
बैठकमा पार्टीको अधिवेशन तथा महाधिवेशन सम्पन्न गर्दै सङ्गठन निर्माण चरणलाई निर्धारित समयमा पूरा गर्न राष्ट्रव्यापी सङ्गठन निर्माण अभियान सञ्चालन, केन्द्रीय सदस्यको नेतृत्वमा केन्द्रीय विभाग, प्रदेश समिति, प्रदेश विभागका साथै पार्टीको सम्बन्धित निकायले सिफारिस गरेका विज्ञ सदस्य रहेको जिल्ला समितिअन्तर्गतका पार्टी संरचनालाई सहयोग तथा सहजीकरण गर्न जिल्लाअनुसार कार्यदल निर्माण गर्नेबारे बैठकमा छलफल भएको उनले जानकारी दिए ।
००००
सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा मेघराज पोखरेल विजयी भएका छन् । शनिबार सम्पन्न भएको निर्वाचनबाट निकटतम प्रतिद्वन्द्वी महेश कुमार थापालाई पराजित गर्दै उनी विजयी हुन् ।
००००
जितेन्द्र सी नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएको छ ।
दुबै पार्टीले शनिबार संयुक्त वक्तव्य जारी गर्दै एकता सम्पन्न भएको घोषणा गरेका हुन् ।
००००
शुक्रबारराति निधन भएका नुवाकोटको बेलकोटगढी नगरपालिका–९ निवासी पत्रकार श्यामसुन्दर पुडासैनीको नुवाकोटमा अन्त्येष्टि गरिएको छ ।
काठमाडौँको कपनस्थित कोठामा शुक्रबार राति १० बजे अचेत भएका ३३ वर्षीय पत्रकार पुडासैनीलाई उपचारका लागि चाबहिलस्थित हेल्पिङ ह्यान्डस अस्पतालमा र्पुयाएलगत्तै निधन भएको थियो ।
००००
राप्रपा नेपालको महाधिवेशन आगामी मंसिर १३ देखि १५ गतेसम्म काठमाडौंमा हुने भएको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा यही पुस १९ र २० गते बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
००००
देश दौडाहमा रहेका नेकपा एमालेलेबाट निष्कासित नेता डा भीम रावलले सुनसरीमा विभिन्न पार्टीबाट असन्तुष्ट नेताहरूसँग भेटघाट गरेका छन् ।
अन्तर्राष्ट्रिय आमन्त्रण भरौल भेट्रान गोल्डकपको उद्घाटन गर्न सुनसरी पुगेका नेता रावलले शनिबार साँझ नेकपा एमालेलगायत अन्य पार्टीबाट असन्तुष्टहरूलाई भेटेका हुन् ।
००००
ओखलढुंगाको सुनकोशी गाउँपालिका–३, सिस्नेरीमा एक युवक मृत अवस्थामा फेला परेका छन् । शनिबार दिउँसो २३ वर्षीय देवबहादुर थापा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
उनी काठमाडौंको गौशाला पिंगलास्थानस्थित होटलमा मृत फेला परेकी सुस्मिता खड्कासँगै बसेर फरार भएका व्यक्ति भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
००००
दरबारमार्गस्थित सिटिजन्स बैंकको शाखा कार्यालयको ‘सिस्टम ह्याक’ गरेर तीन करोड रूपैयाँ भन्दा बढी रकम चोरी भएको पाइएको छ ।
एफवान सफ्ट नामको सफ्टवेयर कम्पनीले बैंकमा खाता खोलेको थियो । एफवानले नै सिटिजन्स बैंकको सफ्टवेयर बनाएको थियो । प्रहरीको साइबर ब्यूरोमा उजुरी परेपछि अनुसन्धान गर्दा सफ्टवेयर ह्याक गरेर एफवान सफ्टकै खाताबाट तीन करोड ५१ लाख ५० हजार ३७० रूपैयाँ चोरी भएको तथ्य फेला परेको हो ।
००००
‘ढोग दिया’ शब्दको दुरूपयोग भएकोप्रति देउडा संस्कृति संरक्षण प्रतिष्ठानले आपत्ति जनाएको छ ।
प्रतिष्ठानका अध्यक्ष ध्रुवबहादुर सिंहले सुदूरपश्चिमको मौलिक संस्कार, भाषा–संस्कृतिलाई होच्याउने खालका गीत सङ्गीतप्रति आपत्ति जनाएका हुन् ।