
जापानको उत्तरी इवाते क्षेत्रको एक फार्ममा बर्डफ्लूको प्रकोप फैलिएपछि जापानका अधिकारीहरूले आइतबारदेखि करिब ५० हजार कुखुरा नष्ट गर्न शुरू गरेका छन् ।
जापानमा बर्डफ्लूको यो १९ औं प्रकोप भएको कृषि मन्त्रालयले जनाएको छ ।
पछिल्लो फार्ममा कुखुराको मृत्यु दर बढ्दै गएको र आइतबार गरिएको परीक्षणमा फार्मका कुखुरामा बर्डफ्लूको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसले गर्दा त्यहाँ ५० हजार कुखुरालाई नष्ट गरिएको क्षेत्रीय प्रशासनले जनाएको छ ।
इवातेले तीन किलोमिटर (१.८६ माइल)को परिधिभित्र रहेका अन्य दुई फार्ममा राखिएका १७ हजार पक्षीको आवागमनमा पनि प्रतिबन्ध लगाएको छ ।
सङ्क्रमित फार्मको १० किलोमिटरभित्र राखिएका करिब ३८ लाख चरा तत्कालका लागि उक्त क्षेत्रबाट बाहिर जानबाट रोकिने छ ।
बिहीबार इवातेको अर्को फार्म र मध्य आईची क्षेत्रको एक फार्ममा बर्डफ्लू भाइरसको सङ्क्रमण देखिएको थियो र यसले ती फार्ममा क्रमशः एक लाख २० हजार र एक लाख लाख ४७ हजार पक्षीलाई नष्ट गर्नुपरेको छ ।
डिसेम्बर २९ मा पूर्वी इबाराकीको एक फार्ममा प्रकोप पुष्टि भएको थियो, जसका कारण त्यहाँ १० लाख ८० हजार पक्षीलाई नष्ट गरिएको थियो ।