१० साउन २०८३, आइतबार

छविलालको बयान– जीबी र रविले मेरो कीर्ते हस्ताक्षरबाट प्रबन्धपत्र संशोधन गराएपछि सहकार्य टुट्यो

पुस २१, २०८१
काठमाडौं
छविलालको बयान– जीबी र रविले मेरो कीर्ते हस्ताक्षरबाट प्रबन्धपत्र संशोधन गराएपछि सहकार्य टुट्यो

संगठित ठगीसम्बन्धी कसुरका प्रतिवादी छविलाल जोशी बन्जाडेले गितेन्द्रबाबु राई (जीबी) र रवि लामिछानेले आफ्नो कीर्ते हस्ताक्षर गरी प्रबन्ध पत्र संशोधन गराएको बयान दिएका छन् ।​

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरी ठगी गरेको मुद्दामा पूर्वप्रहरी नायब महानिरीक्षकसमेत रहेका बन्जाडेले प्रहरी समक्ष उक्त बयान गरेका हुन् ।

'मेरो अनुपस्थितिमा प्रतिवादी गितेन्द्रबाबु राई (जीबी) र रवि लामिछानेले २०७७ कात्तिक ४ गते कम्पनीमा बसेको बैठकमा गरिएको निर्णय माईन्यूट लगायतका कागजातहरूमा मेरो कीर्ते हस्ताक्षर गरी कम्पनीको प्रबन्ध पत्र संशोधन गर्ने र कम्पनीको उद्देश्यमा थप गर्ने निर्णय गरेको कुरा थाहा पाई निजहरूको गलत नियत बुझी उक्त दिनदेखि नै आफू निजहरूसँग बसी कम्पनीमा काम गर्नु हुँदैन भन्ने ठानी मैले निजहरूसँग सहकार्य गर्न छाडेको हुँ,' बन्जाडेले गरेको बयानमा उल्लेख छ ।

गोरखा मिडिया नेटवर्क प्रालि स्थापना भई करिब २३ महिना मै कम्पनी छाडी विदेश गए पनि विधिवत् रूपमा उक्त कम्पनी स्थापना भएको करिब ७ महिनापछि मात्र आफ्नो नाममा भएको शेयर प्रतिवादी गितेन्द्रबाबु राईलाई नै बिक्री गरी कम्पनीको दायित्व र जिम्मेवारीबाट पूर्णरूपमा अलग भएको उनले बयान गरेका छन् ।​​​

बन्जाडे २०७५ असार ३० गते प्रहरी नायब महानिरीक्षकबाट सेवा विवृत भएका हुन् ।

नेपाल प्रहरीमा कार्यरत रहँदा तत्कालीन जिल्ला प्रहरी परिसर टेकु काठमाडौंको प्रमुख भई आफ्नो जिम्मेवारी वहन गर्दा गितेन्द्रबाबु राईसँग चिनजान भएको उनले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्